खरसाङ, (निसं): खरसाङ्मा 77 औँ गणतन्त्र दिवस समारोह सम्पन्न भयो। खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आयोजित गणतन्त्र दिवस समारोहमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादवको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरिएको थियो। यस अवसरमा उनले परेडको सलामी लिएकी थिए। यस अवसरमा विभिन्न संघ-संस्थाहरुले परेड प्रस्तुत गरेका थिए। कार्यक्रममा कलाकारहरुले देशभक्ति गीतहरु प्रस्तुत गरेका थिए भने सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। गणतन्त्र दिवसको अवसरमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादवले आफ्नो सम्बोधन राखेकी थिइन्। यस गणतन्त्र दिवस समारोहमा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिका प्रशासनिक बोर्डका चेयरम्यान ब्रिगेन गुरुङ, पूर्व सांसद शान्ता छेत्री, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरझा अनिस शाह, नेवार विकास बोर्डका चेयरम्यान सुनिल प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।
प्रभात फेरीः गणतन्त्र दिवसको बिहान खरसाङ्मा यो प्रभात फेरी निकालियो। अधिक बिहान निकालिएको उक्त प्रभात फेरीमा सहभागीहरूले खरसाङ शहरको विभिन्न स्थानमा घुम्दै भजन-कीर्तन गरेको थिए भने देशभक्तिका नाराहरू लगाएका थिए। प्रभात फेरि आयोजक पंकज गुप्तले बताए अनुसार, प्रत्येक वर्ष गणतन्त्र दिवसको बिहान खरसाङ्का नागरिकहरू भेला भएर प्रभात फेरीम भाग लिने खरसाङ्मा धेरै पुरानो चलन हो। प्रभात फेरी सामान्यतया अधिक बिहानको समयमा (बिहान 4 बजे पछि) निकालिने जुलुस हो, जसमा भजन-कीर्तन गाइन्छ अनि देशभक्तिको नारा लगाइन्छ। स्वतन्त्रता आन्दोलनकालमा देशको विभिन्न ठाउँमा ब्रिटिश शासन विरुद्ध जोश भर्न प्रभात फेरी निकालिन्थ्यो। त्यही परम्परालाई पैलाउँदै खरसाङ्मा पनि प्रभात निकालिने गरिएको थियो। यो परम्परालाई वर्तमानमा सम्पन्न यथावत राख्दै 77 औँ गणतन्त्र दिवसको बिहान पनि निकालिएको हो। तथापि विगत दुई वर्ष यता आधिकारिक प्रभात फेरी ननिकालिएको पंकज गुप्ताले बताए। पंकज गुप्ता भने, पोहोर साल गणतन्त्र दिवसको अवसरमा शहर परिक्रमालाई नै प्रभात फेरीको रूप दिइएको थियो। यस वर्ष मैले बजार वरपरका नागरिकहरूलाई प्रभात फेरीको परम्परालाई निरन्तरता दिनु बोलाएको थिएँ तर केही व्यक्तिहरू अनि नानीहरू मात्र उपस्थित रहे। के खरसाङ्मा प्रभात फेरीको परम्पराको मृत्यु भएको हो? गणतन्त्र दिवसमा आयोजन हुने प्रभात फेरीको परम्परा धार्मिक नभएर देश भक्तिको परम्परा हो। खरसाङले यो परम्परालाई जीवित राख्नु नै पर्छ।
मानव अधिकारः खरसाङ्मा भारतीय मानवाधिकार एशोसिएसनले 77 औँ गणतन्त्र दिवस पान गऱ्यो। खरसाङ्को डब्लुबीएनभीएफ मैदानमा 77 औँ गणतन्त्र दिवसको कार्यक्रममा सहभागिता जनाएर गणतन्त्र दिवस पालन गरेको हो भनी जानकारी दिइएको छ। खरसाङ महकुमा शासक प्रिया यादवको मुख्य आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा मानवाधिकार एशोसिएसनका पंकज गुप्ता, राजकुमार सिंह, सन्दीप प्रसाद, सरोज चौहान, सरवर आलम, ज्योति कुमार मुखिया अनि अन्यको उपस्थिति रहेको थियो भनी ज्योति कुमार मुखियाले जानकारी दिएका छन्।
सुवेदार बस्तीः खरसाङ्को सुवेदार बस्ती ग्राम सुधार समितिले 77 औँ गणतन्त्र दिवस पालन गऱ्यो। गणतन्त्र दिवसको अवसरमा समितिका अध्यक्ष सञ्जय छेत्रीले राष्ट्रिय झण्डा उत्तोलन गरेका थिए भने उपस्थि सबैले राष्ट्रिय गीत गाएका थिए। कार्यक्रमलाई मनोज छेत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा बोल्दै सञ्जय छेत्रीले भारतको संविधान लागु गरिएको 26 जनवरी 1950 हो भनी बताउदै यस दिनलाई हामीले कहिल्यै भुल्नु हुँदैन। हामीले संविधानमा सही गर्ने गोर्खा प्रतिनिधि अड़िबहादुर गुरुङलाई पनि भुल्नु हुँदैन। अड़िबहादुर गरुङ्को पनि हामीले प्रचार प्रसार गर्नु आश्यक छ। तिनले भारतभर छरिएर बसेका गोर्खाहरूको प्रतिनिधित्व गर्दै संविधानमा गोर्खाहरूको पक्षबाट हस्ताक्षर गरेका थिए। कार्यक्रममा अन्यान्यले पनि वक्तव्य राखेका थिए।
इण्डियन नेशनल कंग्रेस: केही सदस्यहरूको उपस्थिति रहे तापनि पनि खरसाङ्मा कांग्रेस पार्टीद्वारा गणतन्त्र दिवस उत्साह पूर्वक पार्टी कार्यालयमा पालन गरियो । इण्डियन नेशनल कांग्रेस पार्टी देशमा नै एउटा सबै भन्दा पुरानो राजनीतिक दल हो भने कुनै समय देशको विभिन्न ठाउँमा अन्य राजनीतिक दलहरू संगै कांग्रेस पार्टीको नेतृत्वमा पनि भव्य रुपमा गणतन्त्र दिवस पालन गर्ने गरिन्थ्यो। खरसाङ्मा पनि कांग्रेसी नेतृत्वहरूको अगुवाईमा गणतन्त्र दिवसको अवसरमा देशभक्ति कार्यक्रमको साथमा गणतन्त्र दिवस पालन हुने गर्थ्यो। उक्त देशभक्तिको परम्परालाई अझै पनि शिरोपर राख्दै प्रति वर्ष झैं यस वर्ष पनि कांग्रेस पार्टीद्वारा खरसाङ्को राम मन्दिर नजिक रहेको पार्टी कार्यालयमा सम्मान सहित राष्ट्रिय झण्डा उत्तोलन गर्दै, बाल-बालिकामा मिठाई वितरण गरेर हर्ष-उल्लासको साथमा गणतन्त्र दिवस पालन गरियो। राष्ट्रिय-गीतको साथमा राष्ट्रिय ध्वज उत्तोलन वरिष्ठ कांग्रेस नेता अनि दार्जीलिङ जिल्ला कांग्रेस पार्टीका कार्यवाहक अध्यक्ष सरोज खत्रीको नेतृत्वमा सम्पन्न भएको थियो। गणतन्त्र दिवसको अवसरमा वक्तव्य राख्दै सरोज खत्रीले जनाए अनुसार, देशको अन्य स्थानहरू झैं खरसाङ्मा पनि कांग्रेस पार्टीद्वारा गणतन्त्र दिवस मनाइएको हो। 26 जनवरीदेखि नै भारत देशमा गणतन्त्र स्थापित भएको एवं सविधान लागू भएकोले यसलाई कहिले पनि बिर्सन हुँदैन। तिनले थप भने, देश स्वतन्त्र भएपछि संविधान सभा स्थापित भयो, यस अवधि उक्त संविधान सभाका सदस्यमा दार्जीलिङबाट एकजना गोर्खा प्रतिनिधि अड़िबहादुर गुरुङ पनि थिए अनि तिनले पनि देशको संविधानमा हस्ताक्षर गरेका छन्। सरोज खत्रीले गणतन्त्र दिवसको अवसरमा सबै देशवासी अनि पहाड़वासीलाई कांग्रेस पार्टीको पक्षबाट शुभकामना व्यक्त दिए। कार्यक्रममा राष्ट्र पिता माहात्मा गान्धीको तस्वीर अघि दियो बालेर साथै माल्यार्पण गरेर गान्धीजीलाई गणतन्त्र दिवसको अवसरमा स्मरण गरियो । कार्यक्रममा बजारको स्थानीय बाांग्रेसीहरूको उपस्थिति थियो।
आसाम राइफल्स: आसाम राइफल्स भूतपूर्व सैनिक सङ्घले खरसाङस्थित सङ्घको कार्यालयमा सोमवार गणतन्त्र दिवस पालन गर्य़ो। यस अवसरमा सङ्घका सदस्य अनि प्रतिनिधिहरूले बिहान भेला भएर कार्यालयमा राष्ट्रिय ध्वज उत्तोलन गरे औ राष्ट्रिय गीत गाए। यस अवसरमा बोल्दै अवकाशप्राप्त नायब सुवेदार तथा सङ्घका सभापति बिरू राईले आज सम्पूर्ण देशभरि नै भव्य एवम् सभ्य कार्यक्रमहरू गरेर गणतन्त्र दिवस पालन गरिरहेको जनाए। तिनले आसाम भूतपूर्व सैनिक सङ्घ, खरसाङ शाखाले पनि विगत धेरै वर्षदेखि यसरी गणतन्त्र दिवसको कार्यक्रम गर्दै आइरहेको जनाउँदै यस वर्ष पनि उति भव्य रूपमा गर्न नसकिए तापनि तर देशप्रति सम्मान गर्दै, देश स्वतन्त्रताको निम्ति आफ्नो बलिदान दिने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै यो कार्यक्रम गरिएको जनाए। राईले आसाम राइफल्सको इतिहास र यसको कार्यप्रणाली तथा देश रक्षाको निम्ति यस राइफल्सले गरेको त्याग र उत्सर्गको बारेमा पनि जानकारी गराए।












