गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खर्साङ ब्राञ्च कमिटी अन्तर्गत लङ्भ्यु–पंखाबारी–अम्बोटे समष्टिको दुधिया शाखा कमिटी गठन गरिएको छ। साथै विभिन्न राजनीतिक दल परित्याग गरी ५० घरपरिवार गोरामुमोमा आबद्ध भएको जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका छन्।
फुलमान रुचालको अध्यक्षतामा सम्पन्न संगठनात्मक तथा समर्थन सभाको सञ्चालन समष्टि अध्यक्ष बिरेन्द्र छेत्रीले गरेका थिए। कार्यक्रममा खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सुकुना–तराई गोरामुमो संयोजक नितिन छेत्री, गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) केन्द्रीय समिति उपाध्यक्ष कमला राई, गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो) खर्साङ ब्राञ्च अध्यक्ष रुपेश छेत्री, प्रचार–प्रसार सचिव भुपेन गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री तथा गोरानासं, एचपीडब्ल्यु र गोरामुमोका विभिन्न तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा थेबा तामाङको नेतृत्वमा विभिन्न राजनीतिक दलबाट आएका ५० घरपरिवारलाई खादा ओढाएर पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो। नवप्रवेशी सदस्यहरूले गोरामुमोको नीति, सिद्धान्त र गोर्खा जातिको अधिकारको आन्दोलनप्रति विश्वास व्यक्त गर्दै पार्टीमा आबद्ध भएको बताएका थिए।
यसै अवसरमा दुधिया शाखालाई थप सशक्त र सक्रिय बनाउने उद्देश्यका साथ नयाँ शाखा कमिटी सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित कमिटीको अध्यक्षमा टीका तामाङ, उपाध्यक्षमा शेखर स्याङ्बो, सचिवमा संगम थापा, सहसचिवमा बी.बी. विश्वकर्मा, कोषाध्यक्षमा अरुण थापा तथा आशिष छेत्री चयन भएका छन्। प्रमुख सल्लाहकारमा थेबा तामाङलाई मनोनयन गरिएको छ भने २० सदस्यीय कार्यकारिणी समिति समेत गठन गरिएको छ।
त्यसैगरी, गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) दुधिया शाखाका संयोजिकामा ललिता तामाङ र ललिता सुब्बा सर्वसम्मत रूपमा चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले वर्तमान राजनीतिक परिस्थितिमा गोर्खा जातिको संवैधानिक अधिकार सुनिश्चित गर्न सबै गोर्खाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। उनीहरूले गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा भारत सरकारसँग समन्वय र सहकार्य गर्दै गोर्खा जातिको दीर्घकालीन संवैधानिक समाधानका लागि निरन्तर पहल भइरहेको बताए।
वक्ताहरूले भारतका गृहमन्त्री अमित शाहले गोर्खा समुदायका लागि संवैधानिक समाधानतर्फ सरकार प्रतिबद्ध रहेको सार्वजनिक रूपमा उल्लेख गरिसकेको स्मरण गराउँदै, गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङले देखेको सपना साकार पार्ने समय नजिकिएको धारणा व्यक्त गरे।
सभाको अन्त्यमा उपस्थित सबैलाई व्यक्तिगत स्वार्थ र अफवाहभन्दा माथि उठेर गोर्खा जातिको साझा अधिकार र संवैधानिक न्यायका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गरिएको थियो।













