रेलिङ, 2 फरवरी (निसं): रेलिङ-कैजले समष्टि अधीनस्थ शान्ति ग्रामदेखि खोलेङटार भएर लङ्गुरदाङ प्राथमिक पाठशाला बुथ नम्बर 23/40 सम्म पथश्री- 4 परियोजना मार्फत पक्की अलकत्रे सडकको शिलान्यास गरिएको छ। रेलिङ-कैंजले क्षेत्रीय सभासद सतिश पोखरेलको मुख्य उपस्थितिमा उनको बहुलीबाट विधिवत रूपमा पूजापाठ गरेर उक्त सडकको शिलान्यास गरियो। यस सडक रेलिङ मानेभञ्ज्याङ मुल सडकदेखि शान्ति ग्राम हुँदै खोलेङटार भएर लङ्गुरदाङ प्राथमिक पाठशाला बुथ नम्बर 23/40 सम्म निर्माण हुनेछ भने उक्त सडक लगभग 3.50 किलोमिटर रहनेछ। नवनिर्माण सडकले ग्रामीण क्षेत्रका दर्जनौं गाउँहरूलाई सडकको सुविधा पुग्ने भएका छन्। जसलाई वैष्णो कन्स्ट्रक्शन कम्पनीले निर्माण गर्ने भएको छ।
जीटीए कार्यकारी सभासद सतिश पोखरेलले बाटो सम्बन्धिमा बोल्दै भने , सडक एकपल्ट बनिन्छ, जसलाई गाउँहरूले मिलेर राम्रोसँग बनाउनुहोस् । मैले विगतका चुनाउहरूमा दिएको वचन आज पूरा गरेको छु, यो बाटो गाउँलेहरूका लागि नयाँ बर्षको उपहार हो, यसैले यो बाटो एकदमै गुणस्तरीय रूपमा निर्माण भएको हुनुपर्छ, भविष्यमा गाउँहरूले कुनै प्रकारको असुविधा भोग्न नपरोस् भनी पोखरेलले ठेगादारलाई अपील पनि गरेका छन्। अर्कोतिर, यसरी पिता पुर्खाले देखेको पक्की अलकत्रे सडकको सपना सकार भएको भन्दै गाउँलेहरूले राज्यका मुख्यमन्त्री ममता व्यानर्जी , जीटीए अध्यक्ष अनित थापा अनि क्षेत्रीय सभासद सतिश पोखरेलप्रति आभार प्रकट गरेका छन्।












