अखिल असम गोर्खा छात्र संघ (AAGSU) का निर्वतमान सभापति सुनिल छेत्री ले अपरिहार्य तथा विशेष परिस्थितिका कारण आफ्नो पदबाट राजीनामा दिएपछि आज गुवाहाटीमा औपचारिक रूपमा भारतीय जातीय कांग्रेस मा प्रवेश गरेका छन ।
उनले श्री गौरव गोगोई, अध्यक्ष; असम प्रदेश कांग्रेस कमिटी तथा लोक सभाका विपक्षीका उप नेताको उपस्थितिमा पार्टीमा प्रवेश गरेका हुन। यस अवसरमा पार्टीका अन्य वरिष्ठ पदाधिकारीहरू पनि उपस्थित थिए। कांग्रेसमा प्रवेश गरेपछि छेत्रीले आउँदै गरेको असम चुनाव मा गोर्खा समुदायको उल्लेखनीय जनसंख्या रहेको नदुवार विधान सभा समष्टि बाट पार्टीको टिकट लिएर निर्वाचन लड्ने कुरा चर्चा मा आएको छ।
यसअघि सुनिल छेत्रीले AAGSU को सभापति पदबाट विशेष परिस्थितिको कारण देखाउँदै राजीनामा दिएका थिए, जसले उनलाई सक्रिय राजनीतिमा प्रवेश गर्ने सम्भावनाबारे विभिन्न अड्कलबाजीहरू जन्माएको थियो। उनको कांग्रेसमा प्रवेशले विशेष गरी नदुआर क्षेत्रमा आगामी विधानसभा चुनावअघि राजनीतिक समीकरणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूको मतअनुसार विद्यार्थी आन्दोलनबाट मुख्यधारको राजनीतिमा उनको प्रवेशले उक्त क्षेत्रमा गोर्खा मतदातासँग कांग्रेसको पहुँच अझ सुदृढ बनाउन सहयोग पुग्न सक्छ।












