बदलिँदो संस्कृतिबीच प्रेमको उत्सव ‘भ्यालेन्टाइन्स डे’

Share this news

युवा दर्पण 

प्रस्तोता: सञ्जय प्रधान

अहिले ‘भ्यालेन्टाइन सप्ताह’ चलिरहेको छ। हरेक वर्षको १४ फरवरी नजिकिँदै गर्दा संसारभरका युवाहरूको मनमा छुट्टै उत्साह छाउन थाल्छ। प्रेम, स्नेह र आत्मीयताको प्रतीक मानिने यस दिनलाई ‘भ्यालेन्टाइन्स डे’का रूपमा मनाइन्छ। प्रेमको प्रतीक बनेको यो दिन युवाहरूबीच संस्कृतिजस्तै बनिसकेको छ। आधुनिक समाजमा यो केवल एक दिनमा मात्र सीमित नभएर सप्ताहव्यापी पर्वका रूपमा विकसित भइसकेको छ, जसलाई ‘भ्यालेन्टाइन सप्ताह’ भनिन्छ।

‘‘सोसल मिडिया नहुँदा मन पराएको मान्छेलाई पत्रद्वारा आफ्ना मनका भावनाहरू उजागर गरेर लेखी पठाउने चलन थियो।’’

७ फरवरीदेखि शुरु भएर १४ फरवरीसम्म चल्ने यस अवधिमा प्रेमी-प्रेमिकाहरूले उपहार, शुभकामना र आत्मीय अभिव्यक्तिमार्फत आफ्ना भावनाहरू साटासाट गर्छन्। साँचो प्रेममा विश्‍वास गर्नेहरूका लागि यो केवल उत्सव मात्र नभएर सम्बन्धलाई अझ कसिलो बनाउने विशेष अवसर पनि हो।

 यस्तो छ ‘भ्यालेन्टाइन्स डे’को पृष्ठभूमि

प्रत्येक वर्ष १४ फरवरीमा मनाइने ‘भ्यालेन्टाइन्स डे’ सेन्ट भ्यालेन्टाइनको स्मरणमा समर्पित पर्व हो। यसबारेमा बुझ्न सन् २६९-७० को प्राचीन रोमको समयलाई नियाल्नुपर्छ। त्यसबेला रोम युरोपको शक्तिशाली साम्राज्य मानिन्थ्यो। त्यहाँ क्लाउडियस द्वितीय नामका राजाले शासन गरिरहेका थिए। उनी अत्यन्त क्रुर स्वभावका तानाशाह थिए। आफ्नो इच्छाअनुसार अन्य देशमाथि विजय हासिल गर्न नसक्दा उनी चिन्तित थिए। कारण खोज्दै जाँदा आफ्नै सैनिक र जनताले खुलेर समर्थन नगरेको निष्कर्षमा उनी पुगे।

यसै कारण उनले रोममा कसैले पनि प्रेम र विवाह गर्न नपाउने निर्दयी फरमान जारी गरे। प्रेम र विवाहले पुरुषलाई कमजोर बनाउने हुनाले कमजोर पुरुषले साम्राज्य विस्तार गर्न सक्दैन भन्ने उनको विश्‍वास थियो। राजाको यस्तो निर्दयी फरमानले जनता निराश र दु:खी हुन थाले। त्यही समयमा रोममै सेन्ट भ्यालेन्टाइन नामका एक पादरी थिए। उनले राजाको अन्यायपूर्ण आदेशको खुलेर विरोध गरे। जनतालाई संगठित गर्दै उनले राजाको आदेश नमान्न आग्रह गर्दै गोप्य रूपमा प्रेमी जोड़ीहरूको विवाह गराउन थाले। उनको साहसिक पहलका कारण धेरै प्रेमी-प्रेमिकाको विवाह सम्भव हुँदा मानिसहरूमा खुशी फैलिन थाल्यो।

तर यो कुरा धेरै दिन गोप्य रहन सकेन। अन्ततः राजासम्म खबर पुगेपछि भ्यालेन्टाइनलाई राजविरुद्ध षड़्यन्त्र गरेको आरोपमा पक्रेर जेल हालियो। उनलाई राखिएको जेलका जेलरकी एक अन्धी छोरी थिइन्। पादरी भ्यालेन्टाइनले प्रार्थना गरे भने उनकी छोरीको आँखा ठीक हुनसक्छ भन्ने जेलरले विश्‍वास गर्थे। उनले भ्यालेन्टाइनसँग छोरीका लागि प्रार्थना गरिदिन अनुरोध गरे।

भ्यालेन्टाइनको प्रार्थनापछि केही समयमै जेलरकी छोरीले दृष्टि प्राप्त गरिन् भन्ने विश्‍वास छ। आँखा देख्न थालेपछि ती युवती भ्यालेन्टाइनप्रति आभारी भइन् र भेटघाटका क्रममा उनीहरूबीच प्रेम सम्बन्ध स्थापित भयो। तर राजाले आफ्ना गुप्तचरमार्फत यो सम्बन्धबारे थाहा पाए। राजाको आदेशविरुद्ध काम गरेको भन्दै भ्यालेन्टाइनलाई मृत्युदण्ड दिने निर्णय गरियो। फाँसी दिनुअघि भ्यालेन्टाइनले आफ्नी प्रेमिकालाई अन्तिम पत्र लेखे। त्यस पत्रको अन्त्यमा उनले ‘‘फ्रम योर भ्यालेन्टाइन’’ भनी हस्ताक्षर गरे। यही घटनाबाट प्रेमपत्रको अन्त्यमा ‘‘फ्रम योर भ्यालेन्टाइन’’ लेख्ने परम्परा शुरु भएको मानिन्छ।

१४ फरवरीकै दिन सेन्ट भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो। प्रेमका लागि उनले गरेको त्याग र समर्पणको सम्मानस्वरूप त्यसै दिनलाई ‘भ्यालेन्टाइन्स डे’का रूपमा मनाउन थालियो। यसरी उनको नामबाट संसारभर प्रेम दिवस मनाउने परम्परा आरम्भ भएको हो। यसरी प्रेम, समर्पण र बलिदानको प्रतीक बनेका सेन्ट भ्यालेन्टाइनको सम्झनामा आजसम्म पनि संसारभर यो दिवस उत्साहका साथ मनाइँदै आएको छ।

  भ्यालेन्टाइन सप्ताह

भ्यालेन्टाइन सप्ताहको पहिलो दिन ७ फरवरीलाई गुलाफ दिवस (रोज डे) को रूपमा मनाउँछन्। दोस्रो दिन ८ फरवरीमा प्रपोज डे, ९ फरवरीमा चकलेट डे, १० फरवरीमा टेडी डे, ११ फरवरीमा प्रोमिस डे, १२ फरवरीमा हग डे, १३ फरवरी किस डे र १४ फरवरीमा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउँछन्।

बढ्दो विसंगति 

प्रेम मनसँग जोड़िएको, भावनासँग जोड़िएको विषय हो। तर गएको केही समयदेखि ‘भ्यालेन्टाइन डे’ अर्थात् पवित्र प्रेमको प्रतीक केवल फेशन मात्र बन्दै गइरहेको छ। प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन थालेको छ। प्रेम दिवस भन्दैमा बाटोमा हिँड़ेका जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन। प्रेम हुन मनसँग मन मिल्नु आवश्यक छ। पवित्र प्रेममा जीवनको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति रहेको हुन्छ।

आजभन्दा केही समय अघि अहिलेको जस्तो सोसल मिडिया नहुँदा मन पराएको मान्छेलाई पत्रद्वारा आफ्ना मनका भावनाहरू उजागर गरेर लेखी पठाउने चलन थियो। तर प्रविधिसँगसँगै सोसल मिडियाको विकास हुन थालेपछि मन पराएको मान्छेलाई क्षणभरमै मनका कुरा सुनाउन र भन्न सकिने सुविधा भएको छ। हरेक मानवमा साथै घरगृहस्थीमा एकअर्कामा प्रेम हुनु जरुरी छ अनि प्रेमबिना संसार चल्दैन। साँचो प्रेमीले सदैव एकअर्काको भलो चाहन्छ। प्रेमले जीवन जिउन सजिलो बनाउँछ अनि समाजमा शान्ति कायम राख्दछ।

तर वर्तमान समयमा हेर्ने हो भने भावनात्मक रुपमा भन्दा पनि विभिन्न स्वार्थ भावका साथ ‘फेक लभ’ अर्थात् झुटो प्रेम गर्नेहरूको कमी छैन। कहिँ प्रेम केवल शारीरिक आकर्षण मात्र हुन्छ भने कतै प्रेमलाई पवित्र हृदयले भन्दा बढ़ी पैसा र सम्पत्तिको फिताले नाप्ने गरिएको पनि देखिन्छ। वर्तमान समयमा हेर्ने हो भने प्रेममा शैतानी आत्माले प्रवेश गरेको पनि देखिन्छ। कहिँ प्रेम ब्ल्याकमेलिङ्को माध्यम बनेको, कहिँ प्रेम हिंसामा परिवर्तित भएको संचारमाध्यमहरूबाट समाचार सुनिन्छ। फूलहरू, विभिन्न आकर्षक उपहारहरू दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम मिठो र दीगो हुन्छ।

तसर्थ ‘भ्यालेन्टाइन्स डे’ केवल देखावटी उत्सव वा औपचारिकतामा सीमित हुनुहुँदैन। यसको वास्तविक सार प्रेम, विश्‍वास, त्याग र सम्मानमा निहित छ। साँचो प्रेम महँगो उपहार वा क्षणिक आकर्षणले होइन, निस्वार्थ भावना र आपसी समझदारीले बलियो बन्छ। त्यसैले ‘भ्यालेन्टाइन्स डे’ मनाउँदा पवित्र भावना, इमानदार सम्बन्ध र सच्चा प्रेमको महत्वलाई सदैव सम्झनु आवश्यक छ।

 


Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ