दुर्घटनाले रोकिएन सपना: बक्सिङ रिङकी लड़ाकु सन्ध्या

Share this news

नारी दर्पण 

सञ्जय प्रधान   

जीवनले थोपरेको सीमाहरूलाई  मुक्काले भत्काउँदै अघि बढ़्ने महिलाहरू परिवर्तनकारी हुन्छन्। दुर्घटनाले तीन वर्षसम्म ओछ्यानमै थला परेकी एक आमा, समाजको डर र उमेरको घेराभन्दा माथि उठेर जब रिङमा उत्रिन्छिन्, तब त्यो केवल खेल हुँदैन- त्यो साहस, धैर्य र आत्मविश्‍वासको प्रतीक बन्छ। सन्ध्या गुरुङको कथा उस्तै हो, जहाँ बिहेपछि आमा बनेर शुरु भएको बक्सिङ यात्राले उनलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी र भारतकै उत्कृष्ट प्रशिक्षकमध्ये एक बनायो। उनी केवल बक्सर मात्र होइनन्, हार नमान्ने इच्छाशक्तिको जीवित उदाहरण हुन्।

‘‘मलाई खेल्दा डर थिएन, कहिले खेल्न पाउँ भन्ने हुन्थ्यो। प्रतिद्वन्द्वी दह्रो छ भनेर कहिले हेरिनँ, केवल म सक्छु भनेर खेलें’’

स्व. के.बी. गुरुङ र इन्द्रकुमारी गुरुङकी छोरी सन्ध्या गुरुङको बक्सिङ यात्रा रोमाञ्चक छ। राज्यदेखि राष्ट्रिय स्तरमा दर्जनौँ मेडल जितेकी उनी सानैदेखि खेलकुदमा रुचि रा‘दै म्याराथन दौड़मा भाग लिन्थिन्। गान्तोक नजिक स्वस्तिक अप्पर बुर्तुकमा जन्मिएकी सन्ध्या गान्तोककै पीएनजी स्कूलमा पढ़ेकी हुन्। आठ कक्षामा गान्तोक नजिक पेनलोङमा गाड़ी दुर्घटनामा परेपछि उनको जीवन कठिन मोड़मा पुग्यो। मेरुदण्डको तल्लो भागमा ठूलै चोट लाग्दा उनी प्यारालाइज भएर तीन वर्ष ओछ्यानमै थलिएर संघर्ष गरिन्। डाक्टरले कलकता रेफर गरे, धेरै औषधी गर्दा पनि निको हुनसकेकी थिइनन्। आफू निको हुनुमा उनले बोज्यू आमालाई सम्झिन्छिन्, ‘‘म बोज्यू आमालाई धन्यवाद भन्न चाहन्छु। उहाँले मेरो अवस्था देखेर दार्जीलिङमा लगेर वैद्यको औषधी गराइन्।’’ वैद्यको सुझावअनुसार घरमै हल्का कसरत गर्दै बिस्तारै घिसिँ‘दै हिँड़्ने प्रयास गर्न थालिन्।

सन् २०२१ मा भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविंदको बाहुलीबाट ‘द्रोणाचार्य अवार्ड’ले सम्मानित हुँदै।

सन्ध्या निको भइन्- सन् १९८९ मा लगन जुर्‍यो र भारतीय सेना ७/११ जीआरमा कार्यरत मनोजकुमार लिम्बूसित वैवाहिक जीवनमा प्रवेश गरिन्। उनका श्रीमान सेनामा बक्सिङ खेलाड़ी थिए, र सन् १९९७ मा सेवानिवृत्त भएर गान्तोक फर्किए। आफ्नो श्रीमान मनोजकुमार लिम्बू र ओलम्पिक खेलाड़ी अर्जुन अवार्डले सम्मानित जसलाल प्रधानले मिलेर गान्तोकमा बक्सिङ खेल शुरु गरेको उनी बताउँछिन्। बिहेपछि पनि सन्ध्याको इच्छा खेलकुदमै रहेकाले गान्तोकको व्हाइट हलमा बक्सिङ सिकाएको हेर्न जान्थिन्। यसरी हेर्दै जाँदा बक्सिङको आकर्षणले उनलाई तान्यो।

आफू पनि बक्सिङ खेल्ने इच्छा सन्ध्याले श्रीमानलाई बताइन्। दुर्घटनामा परेकी हुनाले चोट बल्झिनसक्छ भनेर पहिला नखेल्नु भन्ने सुझाव दिए। सन् १९९८ मा मणिपुरमा भएको नेशनल गेम्स्मा उनका श्रीमान बक्सिङ टिमका साथ थिए। सन् १९९९ मा केटीहरूको पनि बक्सिङ शुरु भएको खबर पाएपछि सन्ध्याले आफ्नै जिम्मेवारीमा खेल्ने जिद गरिन् र श्रीमान नै प्रशिक्षक बने। खेल्न शुरु गर्दा उनी २७ वर्षकी र १० वर्षीया छोरीकी आमा थिइन्। समाजको डरले लुकेर सिक्न जान्थिन्, हाँस्नेहरू पनि थिए। बिहानै व्हाइट हलमा बक्सिङ सिक्न जान थालिन्।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङबाट सम्मानित हुँदै। 

सन् २००० मा प्रतियोगिताको अनुभव बटुल्न सन्ध्या कलकतामा खेल्न गइन्, तर जितिनन्। यो हार उनको जीवनमा ठूलो उर्जा बन्यो, र अझ मेहनत गरेर अभ्यास गरिन्। सन् २००० मै पहिलो राष्ट्रिय प्रतियोगिता खेल्न चेन्नई अनि दोस्रोपटक दिल्ली गइन्। उनको खेलको यात्रा अघि बढ़्दै गयो। सन् २००१ मा स्टेट गोल्ड मेडल साथै बेस्ट बक्सरको उपाधि जितिन्। सन् २००३ मा ईष्ट जोनल गोल्ड मेडलका साथ बेस्ट बक्सर, राष्ट्रिय प्रतियोगितामा २००३ मा सिल्भर मेडल, सन् २००४ र २००५ मा ब्रोञ्ज मेडल जितिन्। सन् २००४ मा टर्कीमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा क्वार्टर फाइनल खेलिन्। यसबाहेक अन्य प्रतियोगिताहरूमा मेडलहरू जितेकी छिन्।

३४ वर्ष पुग्दा सन् २००७ देखि बक्सिङ खेलबाट अवकाश ग‘हण गरेर सिक्किमबाट बक्सिङ खेलाड़ीहरू तयार गर्न जुटिन्। सन् २००८ देखि राज्यस्तरको प्रशिक्षक बनेर तालिम दिन शुरु गरिन्। नेताजी सुभाष नेशनल इन्स्टिच्युट अफ् स्पोर्ट्स (एनएसएनआईएस) कलकताबाट बक्सिङ प्रशिक्षकको डिप्लोमा गरिन्। सन् २०१० देखि सन् २०२२ सम्म उनी भारतको राष्ट्रिय प्रशिक्षकको रुपमा रहेर राष्ट्रिय, अन्तर्राष्ट्रिय, एशियन गेम्स, ओलम्पिकका लागि खेलाड़ीहरू तयार गरिन्। उनी देशमा बक्सिङका लागि थ्री स्टार राष्ट्रिय महिला प्रशिक्षक हुन्। सन् २०२० को जापानको टोकियोमा  भएको ओलम्पिकमा काँस्य पदक विजेता असमकी लभलिना बोरगोहेनकी प्रशिक्षक हुन्। सन्ध्याकै अधिनमा तालिम प्राप्त गरेर धेरै खेलाड़ीहरूले राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा मेडलहरू जितेका छन्। अन्तर्राष्ट्रिय बक्सिङमा रजत पदक विजेता मणिपुरकी सरजुबाला देवीजस्ता धेरै खेलाड़ीहरूलाई तालिम दिएकी छिन्।

बक्सिङ खेलमा भारतीय खेलाड़ीहरूलाई मार्गदर्शन गरेको योगदानलाई कदर गर्दै उनलाई सन् २०२१ मा राष्ट्रिय पुरस्कार ‘द्रोणाचार्य अवार्ड’द्वारा सम्मानित गरियो। सन् २०२२ मा टाइम्स अफ् इण्डिया स्पोर्टस अवार्ड ‘कोच अफ् द् यियर अवार्ड’ प्रदान गर्‍यो।  सिक्किम सरकारबाट  पनि सम्मानित भएकी छिन्। राष्ट्रिय प्रशिक्षकको रुपमा रहेर भारतीय बक्सिङको टोलीलाई मार्गदर्शन दिँदै उनी विश्‍वका धेरै देशहरूमा पुगिन्।

अहिले ५३ वर्षको उमेरमा उनीसित उस्तै उर्जा छ, हौसला छ। अहिले सिक्किमको खेलकुद अनि युवा मामिला विभागको अधिनमा सिक्किम राज्यमा प्रमुख बक्सिङ प्रशिक्षक हुन्। दिनहुँ गान्तोकको व्हाइट हलमा करिब साट्ठीजना केटाकेटीहरूलाई बक्सिङ सिकाउँछिन्। यसमा करिब १२ जना जति केटीहरूले बक्सिङ सिकिरहेको उनी बताउँछिन्। ‘‘अहिले बक्सिङमा युवाहरूको चासो बढ़िरहेको छ, अनि राम्रो प्रदर्शन गरिरहेका छन्’’, उनी भन्छिन्। उनी बिहान एक घण्टा हिँड़ेर व्हाइट हलमा जान्छिन्, कसरत गर्छिन् अनि बक्सिङ सिकाउँछिन्। छोरी आर्चरी खेलाड़ी थिइन्, निजी कार्यव्यस्तताले निरन्तरता हुनसकेन। सन्ध्याकी श्रीमान मनोजकुमार लिम्बू सिक्किम राज्यमा बक्सिङका टेक्निकल अफिसियल हुन्।

तीन वर्ष ओछ्यानमा थलिएर नयाँ उर्जा लिएर राष्ट्रिय प्रशिक्षक बनेकी सन्ध्या भन्छिन्, ‘‘हामीले हिम्मत हार्नु हुँदैन। आफैलाई सक्दिनँ भनेर कमजोर बनाउनु हुँदैन। आफूलाई माथि राखेर हेर्नुपर्ने रहेछ, गर्नसक्छु भन्ने क्षमता राखेर गरे केहीमा पनि असम्भव छैन। जब हामी अगाड़ि निस्कँदैनौं तब हामीले केही पनि सक्दैनौं रहेछ।’’ उनी अझ भन्छिन्, ‘‘संकल्पित भएर आफ्नो सबै कुरालाई समर्पण गरेर निस्केपछि आँधी-तुफानले पनि रोक्दैन। समयलाई व्यवस्थापन गर्नु आफ्नो हातमा छ। आफैले गरे हामी नारीहरू जुन कुराको लागि निस्किन चाहन्छौं त्यसमा कोशिश गर्‍यौं भने निस्किनसक्छौं। मलाई खेल्दा डर थिएन, कहिले खेल्न पाउँ भन्ने हुन्थ्यो। प्रतिद्वन्द्वी दह्रो छ भनेर कहिले हेरिनँ, केवल म सक्छु भनेर खेलें’’, उनको यो भनाइ खेलाड़ीका लागि गुरुमन्त्र नै हो। दोस्रो राष्ट्रिय प्रतियोगिता खेल्दा छ फीट अग्लो प्रतिद्वन्द्वीलाई पनि नकआउट बनाएकी थिइन्।

तीन वर्षको असह्य पीड़ाबाट उठेर अन्तर्राष्ट्रिय रिङसम्म पुगेकी सन्ध्या गुरुङ आज केवल सफल बक्सर वा उत्कृष्ट प्रशिक्षक मात्र होइनन्, उनी हिम्मतको जीवित प्रतीक हुन्। उमेर, परिस्थिति र समाजका सीमाहरूलाई चिर्दै उनले प्रमाणित गरिन्- विश्‍वास र संकल्प भए असम्भव भन्ने शब्द आफैँ हार मान्छ।

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ