खरसाङ, (निसं): जोखिम पूर्ण अवस्थामा पुगेको मिनि मार्केटको व्यस्थापन गरियोस् भनी फेरि चड़ायो निवेदन सुवेदार बस्ती ग्राम सुधार समितिले। वर्तमानमा खाली अवस्थामा रहेको खरसाङ्को मोटर स्टायण्डको पुरानो मिनि मार्केट (अग्रवाल स्टोर) मक्किएर ढल्न सक्ने अवस्थामा पुगेको छ। यसको पछिल्तिरको भित्ता काठहरू मक्किएर झर्न सक्ने स्थितिमा पुगेको पाइएको छ। मिनि मार्केटको यो अवस्थाको कारण यहाँदेखि मुनि बसिरहेका मानिसहरू चिन्तामा परेका छन्। कुनै कारणले यो मिनि मार्केट ढलेको अथवा यसको पछिल्तिरको भित्ता झरेको खण्डमा ठूलो दुर्घटना घटन सक्ने सम्भावनाको कारण मानिसहरू चिन्तित बनेका छन्।
यस मिनि म्ार्केटको अवस्थालाई ध्यानमा राखेर सुवेदार बस्ती ग्राम सुधार समितिले यस भन्दा अघि पनि खरसाङ नगरपालिकालाई लिखित निवेदन बुझाइसकेको छ भने गत 6 दिसम्बरको दिन फेरि एउटा निवेदन चड़ाएको छ। उक्त निवेदनमा मोटर स्ट्याण्डमा रहेको यो पुरानो मिनि मार्केटको अवस्थको बारेमा विस्तारमा अवगत गराउदै यसलाई व्यस्थापन गर्नको निम्ति कदम चालियोस भनी निवेदन गरिएको छ।
यस बारेमा बताउदै सुवेदार बस्ती ग्राम सुधार समितिका सचिव सञ्जय छेत्रीले भनेका छन्, 90 प्रतिशत काठको प्रयोग गरेर निर्माण गरिएको पुरानो मिनि मार्केट वर्तमानमा जीर्ण अनि खतरनाक अवस्थामा पुगेको छ। यो भवन निर्माण गरिन्दा प्रयोग गरिएका काठहरू लगभग सबै मक्किएको अवस्थामा रहेका छन्। यसको पछिल्तिरको भित्ता भत्किएको अवस्थामा रहेको छ भने टिनको छानु पनि भत्किएको अवस्थामा रहेको छ। जोखिम पूर्ण अवस्थामा रहेको यो मिनि मार्केटको कारण कुनै पनि समय दुर्घटना घटन सक्छ। यस मिनि मार्केटको पछिल्तिर रहेको 2-3 वटा घरलाई मार्केट ढलेको, मार्केटको पछिल्तिरको भित्ता झरेको अथवा यस भवनमा कुनै पनि दुर्घटना घटेको खण्डमा ठूलो जोखिम हुने देखिएको छ। यसैले यसलाई भत्काउनको निम्ति अघिल्लो कदम चालियोस भनी हामीले खरसाङ नगरपालिका समक्ष फेरि निवेदन गरेका छौँ।
क्षेत्रका कतिपय मानिसहरूले यो मार्केट जीर्ण बनेकोले पानी परेको, हावा चलेको समयमा यहाँबाट हिँड़नलाई पनि डर लाग्ने गरेको बताएका छन्। यस मार्केटको मुनिबाट हिँड़ने बाटो रहेको र यसैको छैवबाट गाउँका मानिसहरू हिँड़ने गरेकाले मार्केट भत्किएर ढलेको अथवा यसको कुनै भाग भत्किएर झरेको खण्डमा ठूलो दुर्घनटा घटन सक्ने मानिसहरूको आशंका प्रकट गरेका छन्। यस मार्केटको वर्तमान अवस्थालाई ध्यानमा राखेर यसलाई भत्काउन पर्ने अति आवश्यक देखिएको छ। क्षेत्रका जनताको हित र सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित निकायले कदम चाल्नु पर्ने आवश्यकता देखिएको छ।












