भारतीय जनता पार्टीको भातृ संगठनको रुपमा शिक्षक सेल गठन गरिएको छ। वर्तमान समयमा जीटीए क्षेत्रको शैक्षिक व्यवस्थाप्रति मध्यनजर राखेर विद्यालय भवनहरुको जीर्णा अवस्था, शिक्षक-शिक्षिकावर्गले भोग्न परिरहेका विभिन्न प्रकारको समस्या साथै विद्यार्थीहरुको सरकारी विद्यालयमा दिन प्रतिदिन संख्यामा ह्रास आइरहेको परिस्थितिलाई मध्यनजर गरेर जीटीए क्षेत्रमा भाजपा सरकारद्वार दार्जीलिङ कालेबुङ जिल्ला भाजपा शिक्षक सेलको गठन गरिएको छ।
भाजपा शिक्षक सेलद्वारा खरसाङ महकुमा अन्तर्गत सबै विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई लिएर एक जरुरी सभाको आयोजना गरिएको छ। उक्त सभा खरसाङ्को भाजपा पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा शिक्षक सेल दार्जीलिङ्का विनय देवानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभालाई खरसाङ महकुमा समितिको सह संयोजक विमल शेर्पाले सञ्चालन गरेका थिए। सभामा जीटीए क्षेत्रमा शिक्षक-शिक्षिकाले भोग्न परिरहेको जटिल समस्याहरु, विद्यालय भवनहरुको जीर्णावस्था, अनुकम्प नियुक्ति, महकुमा अन्तर्गत सर्कल कमिटि अनि युनिट कमिटीको गठन गरिनु, वर्तमान जीटील अनि भविष्यमा हुने नयाँ व्यवस्थाको शिक्षा विभागमा भाजपा शिक्षक सेलको भूमिका आदि विषयमा चर्चा परिचर्चा गरिएको थियो।
सभामा भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला प्रवक्ता निरज थापाले भाजपा शिक्षक सेलको गठन किन गरिनु पर्ने आवश्यकता रहेको छ, शिक्षक सेलले के-के काम गर्नेछ भन्ने जस्ता विषयमा वक्तव्य राखेका थिए। उनले शिक्षकहरुको विभिन्न समस्याहरु समाधानको लागि काम गर्ने, सबै समस्याहरु समाधान गरिने जानकारी गराएका छन्। सभामा खरसाङ महकुमा अन्तर्गत पर्ने चारवटा सर्कलहरु क्रमैले सोनादा सर्कल, खरसाङ टाउन सर्कल, तीनधारे महानदी सुकना सर्कल, मामरिङ लाटपञ्जार सर्कलहरुमा संयोजकहरु चयन गरिएको छ। सभामा सोनादा सर्कलको लागि नवीनकुमार प्रधान र नरेश छेत्री, खरसाङ टाउनको लागि नवराज स्याङ्बो र शिशिर, मामरिङ लाटपञ्जारको लागि योगेस शर्मा र प्रभाकर गुरुङ अनि तीनधारे महानदी सुकना सर्कलको लागि अजित मोक्तान र प्रवीण राई आदि चयन भएका छन्। अब आगामी दिनमा सबै संयोजकहरुले आफ्नो आफ्नो सर्कलमा सर्कल कमिटी गठन गर्ने निर्देशन दिइएको छ।












