
सिंगताम महतधुरामा रूख ढल्दा घर क्षतिग्रस्त, परिवार सुरक्षित रहेको जानकारी छ। थप जानकारी अनुसार, सिंगताम चियाबारी महतधुरा स्थित हेमकुमार देवानको घरमा आइतबार बिहान लगभग 3 बजी आएको तीब्र हावा र वर्षाका कारण घर नजिककि ठूलो रूख ढल्दा घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यस घटनामा घरको बाथरूम-देखी अन्य संरचना पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ। सौभाग्यवश, घरमा बसोबास गर्ने सम्पूर्ण परिवार सकुशल रहेका छन्। दार्जीलिङ सदर-1 समष्टिका अध्यक्ष अमृत योञ्जन तुरुन्तै घटनास्थलमा पुगेर निरीक्षण गरे। घटनाको गम्भीरता बुझी अध्यक्ष योञ्जनले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापालाई जानकारी गराएका थिए। प्रमुख थापाले पीडित परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिँदै घरको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन्। स्थानीय प्रशासन र पार्टी प्रतिनिधिहरूको सहकार्यमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रयास भइरहेको जनाइएको छ।