खरसाङ खण्ड अन्तर्गत चिम्नी देउराली ग्राम पञ्चायतमा गोर्खा जनमुक्ति मोर्चाको पञ्चायत बोर्ड गठन गरिएको छ। चिम्नी देउराली ग्राम पञ्चायत कार्यालयमा पञ्चायत विकास अधिकारी खरसाङ ब्लकको उपस्थिति र निगरानीमा औपचारिक सभामा विमल तामाङ पुनः पञ्चायत प्रधानमा नियुक्त भएका छन्। चिमनी देवराली ग्राम पञ्चायतमा विगत दिनमा बीजेपीका उप प्रधान अनुपा सुब्बाले आफ्नो राजीनामा दिएपछि उक्त उप प्रधानको पदमा भर्खरै भागोप्रमोबाट गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका दिपेश थापालाई नियुक्त गरिएको छ।
यसरी नै चिम्नी देउराली ग्राम पञ्चायतको पाँच सदस्यीय बोर्डमा गोजमुमोको पक्षमा अन्य एकजना सदस्या शारदा थापा रहेका छन् भने विपक्षी बेञ्चमा एकजना भाजपा अनि एकजना भागोप्रमोका सदस्य रहेका छन्। अब चिम्नी देउराली ग्राम पञ्चायतमा गोर्खा जनमुक्ति मोर्चाको बोर्ड गठन भएको छ भने यस कार्यलाई साक्षी दिन सरकारी अधिकारीहरूसगै गोर्खा जनमुक्ति मोर्चाबाट केन्द्रीय उपाध्यक्ष प्रदीप प्रधान, खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राई, पार्टी केन्द्रीय सदस्य सुरज छेत्री, युवा मोर्चा केन्द्रीय उपाध्यक्ष विकास खवास, पार्टी खरसाङ टाउन कमिटी अध्यक्ष देबु गुरूङ, चिम्नी देउराली पार्टी ब्लक अध्यक्ष बीबी राई, ब्लक सचिव भानु राई, भूतपूर्व सैनिक मोर्चाका खरसाङ महकुमा सदस्य शिवकुमार राई, चिम्नी देउराली पार्टी ब्लक सदस्य सुजन तामङ लगायत अन्य पार्टीको सदस्य सदस्याहरू उपस्थित रहेका थिए।











