उत्तर प्रदेशको नोएडास्थित सेक्टर–६६ अन्तर्गत ममुरा गाउँको एक बहुमञ्जिले आवासीय भवनमा बुधबार भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। घटनाका क्रममा भवनमा बसोबास गर्ने करिब ५० परिवारका सबै सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार भवनको भुइँतलामा चार्जमा राखिएको विद्युतीय सवारीसाधन (ईभी) को ब्याट्रीबाट निस्किएको स्पार्कका कारण आगलागी भएको आशंका गरिएको छ। आगो तीव्र रूपमा फैलिँदै माथिल्ला तलासम्म पुगेपछि भवनभित्र रहेका बासिन्दामा भागदौड मच्चिएको थियो। सूचना प्राप्त हुनासाथ सात वटा दमकल, हाइड्रोलिक प्लेटफर्मसहित अग्निनियन्त्रण टोली, प्रहरी र प्रशासन घटनास्थलमा पुगेका थिए। उद्धार अभियानमार्फत सबै परिवारलाई सुरक्षित बाहिर निकालिएको थियो। तर धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएका एक पुरुष र एक महिलालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले भवनका मालिक तथा लिजधारकविरुद्ध सम्बन्धित कानुनी प्रावधानअन्तर्गत मुद्दा दर्ता गरी नियन्त्रणमा लिएको जनाएको छ। आगलागीको वास्तविक कारण र सुरक्षा मापदण्ड पालना भए–नभएको विषयमा थप अनुसन्धान भइरहेको छ।











