पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीले राज्यभर यस वर्ष १० करोड बिरुवा रोप्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरेका छन्। ‘अरण्य सप्ताह–२०२६’ को उद्घाटन गर्दै उनले वातावरण संरक्षण, हरित क्षेत्र विस्तार र वन सम्पदा पुनर्स्थापनाका लागि व्यापक वृक्षरोपण अभियान सञ्चालन गरिने बताएका हुन्। मुख्यमन्त्री अधिकारीले उत्तर प्रदेश सरकारले यस मनसुनमा २६ करोड बिरुवा रोप्ने लक्ष्य घोषणा गरेको उदाहरण दिँदै पश्चिम बंगालले पनि ठूलो स्तरमा वृक्षरोपण गर्न सक्ने बताए। उनले केन्द्रीय गृहमन्त्री अमित शाहले आफ्नो लोकसभा निर्वाचन क्षेत्रमा १.२ करोड बिरुवा रोप्ने लक्ष्य राखेको उल्लेख गर्दै पश्चिम बंगालले पनि हरित अभियानमा अग्रणी बन्नुपर्ने धारणा व्यक्त गरे। अधिकारीका अनुसार भारतीय आयल निगम (IOC) ले मात्रै यस वर्ष १० लाख बिरुवा रोप्ने प्रतिबद्धता जनाएको छ। तर, वृक्षरोपण मात्र पर्याप्त नभई कम्तीमा दुईदेखि तीन वर्षसम्म बिरुवाको संरक्षण र हेरचाह गर्नुपर्नेमा उनले विशेष जोड दिए। संरक्षणबिना वृक्षरोपण अभियान प्रभावकारी नहुने उनको भनाइ थियो।
हालै पश्चिम बंगालमा चट्याङका कारण हुने मानवीय क्षति बढ्दै गएको सन्दर्भमा मुख्यमन्त्री अधिकारीले विशेषगरी तटीय क्षेत्रमा नरिवलका बिरुवा बढी रोप्न निर्देशन दिएका छन्। उनका अनुसार नरिवलका अग्ला रुखले चट्याङको प्रभाव कम गर्न सहयोग पुग्ने विश्वासका साथ राज्य प्रदूषण नियन्त्रण बोर्डलाई पनि यसबारे आवश्यक योजना बनाउन भनिएको छ। मुख्यमन्त्री अधिकारीले अघिल्लो सरकारमाथि वन क्षेत्रको संरक्षणमा लापरबाही गरेको आरोप लगाउँदै झारग्राम, बाँकुरा, पुरुलिया, तराई–डुवर्स तथा जलदापारा क्षेत्रको हरित आवरण उल्लेखनीय रूपमा घटेको दाबी गरे। उनले पश्चिम बंगाललाई “कङ्क्रिटको जंगल” बन्नबाट जोगाउन व्यापक वृक्षरोपण अभियान अपरिहार्य रहेको बताए। उनले उद्योग तथा रियल इस्टेट कम्पनीहरूले भवन निर्माण स्वीकृतिका क्रममा गरेको हरित क्षेत्र विकाससम्बन्धी प्रतिबद्धता पालना नगरेको आरोप पनि लगाए। उद्योग, स्थानीय निकाय र सर्वसाधारणको संयुक्त सहभागिताबाट वन सम्पदा पुनर्स्थापना गरी वातावरणीय सन्तुलन कायम गर्नुपर्ने आवश्यकता उनले औँल्याए। साथै, प्रत्येक नागरिकलाई आफ्नी आमाको नाममा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्न पनि उनले आह्वान गरेका छन्।












