लङभ्यू कमानको श्रमिक अनशन स्थलमा सोमवार पश्चिम बङ्गालका श्रममन्त्री भाष्कर भट्टाचार्य आइपुगे। तिनले यहाँका अनशनकारीहरूसँग अनि आन्दोलनकारी श्रमिक संगठन एचपीइयुका प्रतिनिधि तथा स्थानीय श्रमिकहरूसँग कुराकानी गरे औ तिनीहरूको मागबारे जानकारी लिए। यस अवधि मन्त्री भट्टाचार्यले कुनै पनि चिया बगान पक्षले श्रमिकहरूको पारिश्रमिक सटीक समयमा, सटीक तरिकाले दिनुपर्छ भन्दै यहाँका श्रमिकहरूको माग न्यायोचित रहेको जनाए। तर यसको निम्ति आवश्यक कानुनी प्रक्रिया मार्फत जानुपर्ने अवगत गराउँदै यसको निम्ति राज्य सरकारले सक्दो सहयोग गर्ने वचन दिए। तिनले राज्यमा भर्खरै मात्र नयाँ सरकार गठन भएको अवगत गराउँदै यसको निम्ति केही समय लाग्ने बताए। भट्टाचार्यले अनशनकारी अनि उनीहरूको परिवारको स्वस्थ्य सुरक्षालाई ध्यानमा राखेर हाललाई अनशन उठाउने आग्रह गर्दै राज्य सरकार सधैँ श्रमिकहरूको साथमा रहेको बताए।
तिनले भने- चिया बगान दार्जीलिङ्को मुटु हो, त्यसर्थ चिया बगानलाई बचाउनुपर्छ। यसको निम्ति के कस्तो कानुन ल्याउनुपर्छ भनेर सरकारले सोचिरहेको छ। यस चिया बगानका मालिकलाई हामीले दवाव दिएका छौँ। अझ हामी यसबारे बैठकहरू गर्नेछौँ। भट्टाचार्यले सरकार श्रमिकहरूको साथमा छ भनेपछि त्यति धेरै सोच्ने काम छैन भन्दै अब सबैको शुभ दिन आउनेछ भन्दै यथाशीघ्र अनशन उठाउने आग्रह गरे। भोक हड्ताल गरेर सरकारलाई जुन म्यासेज दिन चाहेका थिए त्यो सरकारले सुन्यो अनि यहाँ सरकार आएको छ भन्दै अब सरकारले अवसर नै यसबारे कार्य गर्नेछ भनी तिनले वचन दिए। यता अनशन उठाउने अथवा नउठाउने औ श्रमिकहरूको आगामी दिनको आन्दोलन के कस्तो रहनेछ भन्नेबारे संगठनले सबैको साझा सहमति लिएर निर्णय लिने जानकारी एचपीइयुका संयोजक सुमेन्द्र तामाङले जानकारी गराएका छन्।
अर्कोतिर श्रम मन्त्रीको भ्रमणपछि खरसाङ्का विधायक सोनाम लामा पनि अनशन स्थलमा पुगे औ अनशनकारीहरूको स्थितिकोबारेमा जानकारी लिँदै हाललाई अनशन उठाउने आग्रह गरे। तिनले सरकार स्वयं यहाँ आएर वचन दिएपछि अवश्य नै उनीहरूको माग पूरा हुने जनाउँदै यसमा कसैलाई हतास नहुने अनुरोध पनि गरे।











