पश्चिम सिक्किम साहित्य परिषदले यसपटकको भानु जयन्तीमा वितेका वर्षहरूमा जस्तै तीनवटा स्रष्टा पुरस्कार दिने भएको छ। कथा विधामा हाल सिलगढी बस्दै आएका पश्चिम सिक्किम, टिम्बुरबुङका गणेशकुमार भट्टराईलाई अलङ्करण गरिने भएको छ। यसै गरी कवितामा दक्षिण सिक्किम, जोरथाङकी गायिका र कवि बुनु परियारलाई अलङ्करण गरिने भएको छ। क्रमशः निबन्धमा खरसाङ, मकैबारीमा जन्मिएकी अनि खरसाङ कलेजकी प्रा. रीना सुब्बालाई अलङ्करण गरिने भएको छ। गत वर्षदेखि थालिएको उपमान बस्नेत स्मति पुरस्कार दामथाङ, दिउका साहित्यकार पेम नर्बु शेर्पालाई अलङ्करण गरिने भएको छ।
पश्चिम सिक्किम साहित्य परिषदका सचिव लक्ष्मी प्रसाद गुरूङले जानकारी दिए अनुसार पुरस्कृतहरूलाई आगामी 212औं भानु जयन्ती समारोहमा यी पुरस्कारहरूद्वारा अलङ्करण गरिनेछ। 1975 मा स्थापित पश्चिम सिक्किम साहित्य परिषदको पञ्जीकरण
1978 मा गरिएको हो। यो संस्थाले 1985 देखि स्रष्टा पुरस्कारले 150 जनालाई अलङ्करण गरिसकेको छ।
उक्त भानु जयन्तीमा प्राथमिकदेखि निम्न माध्यमिक स्तरका विद्यार्थीहरूमाझ रामायण पाठ प्रतियोगिता पनि आयोजन गरिएको छ। प्राथमिकदेखि निम्न माध्यमिक स्तरका विद्यार्थीहरूमाझ साहित्यिक गोष्ठी, माध्यमिकदेखि बरिष्ठ माध्यमिकसम्मका विद्यार्थीहरूमाझ लोकगीत प्रतियोगिता अनि खुल्ला रुपमा पनि रामायण पाठ प्रतियोगिता साहित्यिक गोष्ठी राखिएको छ।
यता सिलगढीमा सञ्चालित एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन एन्ट वल्युन्टेरी एक्टिविटिज आरनोवाले स्रष्टा पुरस्कारको निम्ति मनोनित आफ्नी सदस्य प्रा. रीना सुब्बालगायत अन्य साहित्यकारहरू गणेशकुमार भट्टराई, बुनु परियार अनि पेम नर्बु शेर्पालाई हार्दिक वधाइ अनि शुभकामना व्यक्त गरेको छ।











