माटोबाट सिर्जना र आत्मनिर्भरताको यात्रामा अनुपा राई

Authored By: सञ्जय प्रधान

Share this news

माटो केवल जमिनको एउटा हिस्सा होइन, कसैका लागि यही माटो जीवन, पहिचान र सपनाको आधार पनि बन्नसक्छ। सिक्किमकी अनुपा राईले यही सत्यलाई आफ्नो जीवनमा प्रमाणित गरेकी छिन्। पत्रकारिताको पेशाबाट अलग्गिएर उनले माटोका भाँड़ाकुड़ा, फूलदानी र गमलामा सिर्जनात्मकता भरेर सेरामिक कलाको नयाँ यात्रा शुरु गरिन्। सरकारी नोकरीको सुरक्षित घेराभन्दा बाहिर निस्केर आफ्नै बलबुत्तामा अघि बढ़ेकी अनुपा आज आत्मनिर्भरताको उदाहरण बनेकी छिन्।

‘‘जुनै काम पनि मन लगाएर गरे सफल हुन्छै हुन्छ’’

पूर्व सिक्किमको आसाम लिङ्जे नजिकको गाउँ पब्युक नैताममा राजा राई र मणिका राईकी छोरी अनुपा माटोसित खेल्छिन्। उनको हातबाट सुन्दर कलाकृतिले भरिएका भाँड़ाकुड़ा, कप-प्लेट, फूलदानी, गमलाहरू साथै अन्य सजावटका सामग्रीहरू सिर्जना हुन्छन्। यही हातमा एक समय कलम थियो, जसबाट दैनिक जीवनका जल्दाबल्दा समाचारहरू लेखिन्थे। कलम चलाउने हात माटोसित खेल्न पुगेको यात्रा रोचक छ।

विद्यार्थीहरूलाई माटोको कला सिकाउँदै अनुपा राई।

पहिला अहिलेजस्तो मोबाइल फोन नहुँदा बाल्यकालमा अनुपा खेलकुदमा सक्रिय थिइन्। प्राथमिकदेखि १२ कक्षासम्मको शिक्षा नाम्ची पब्लिक स्कूलबाट पूरा गरिन्।  होस्टेल बसेर पढ़्दा पढ़ाइमा बढ़ी ध्यान दिइन्। विद्यार्थी हुँदा चित्र राम्रो बनाउँथिन् र उत्कृष्ट अंक पाउँथिन्। कक्षा ६ मा जंगलमा बाघ भएको चित्र बनाएकी थिइन्, जुन शिक्षकले मन पराएर सबै कक्षामा देखाएको उनी सम्झिन्छिन्। होस्टेलमा बत्ती जाँदा मोमबत्तीको पग्लिएको मैनबाट गुड़ियाहरू बनाएर सजाउँथिन्। बाल्यकालको कला ठूली भएपछि माटोबाट मौलायो। स्कूल सकेपछि उनी कलकता गइन् र कलकता युनिभर्सिटीबाट जर्नलिज्ममा मास कमको पढ़ाई पूरा गरिन्।

मास कम सकेपछि उनले सरकारी नोकरीको चाहना राखिनन्। पढ़ाइ सकेपछि काम नहुँदा निकै समस्या परेको उनी बताउँछिन्। सन् २००७ देखि गान्तोकमै अंग्रेजी दैनिक समाचारपत्रमा करिब चार वर्ष पत्रकारका रूपमा काम गरिन्। उनी भन्छिन्, ‘‘काम गर्दागर्दै समाचारपत्रमा पनि खासै मन लागेन।’’ अफिसमा एकजना सहकर्मीले वाटर कलरले चित्र बनाएको देखेपछि उनलाई पनि चित्र बनाउन मन लाग्यो। त्यो वाटर कलरले अनुपालाई चुम्बकले तानेजस्तै तान्यो, यहींबाट यात्रा माटोतिर माड़ियो। त्यसपछि उनी कलकता गइन् र एकजना महिलासँग एक महिना चित्रकला सिकिन्। कलकतामा हुँदै विश्‍व भारती, शान्ति निकेतनको चित्रकलामा एक वर्षे क्याजुअल कोर्सको फारम भेटिन्। एउटै सिट रहेको उक्त कोर्समा उनले अवसर पाइन् र सफलतापूर्वक पूरा गरिन्।

सन् २०१२-१३ मा विश्‍व भारतीमा चित्रकला सिक्दा त्यहाँ आकर्षक कलाकृतिले भरिएका सेरामिक कला अर्थात् माटोका कला देख्नेबित्तिकै सिक्ने निर्णय तुरुन्तै लिइन्। सेरामिक कला, जसलाई कुम्हार कला पनि भनिन्छ। यसको लागि उनको पहिलो गुरु बनिन् विश्‍व भारतीबाट पास गरेकी सेरामिक कलाकार अन्नपूर्ण मण्डल। अन्नपूर्ण मण्डलको घरको स्टुडियोमा आठ महिना सेरामिक कला सिकिन्। यसपछि मुम्बई नजिक इन्द्पुरमा राष्ट्रिय स्तरका सेरामिक कलाकार सन्दीप मान्चेकरसित उनको स्टुडियो ‘अन्वी पोटरी’मा तालिम लिइन्।

सबै तालिम लिएर घर आएपछि स्टुडियो स्थापित गर्न आर्थिक व्यवस्था जुटाउन गाह्रो परेको अनुपा बताउँछिन्। फेरि गान्तोककै अंग्रेजी दैनिक ‘सिक्किम एक्सप्रेस’मा पत्रकारिताको काम शुरु गरिन्। वर्ष दिनजति काम गरेर स्टुडियो खोल्ने पहल शुरु गरिन्। बाबुले वीमाअन्तर्गत राखिदिएको मनिब्याक पोलिसीको पैसाले स्टुडियो खोलिन्। शुरुमा पोटरी व्हिल किन्ने पैसा नपुग्दा हातले नै बनाइन् (फ्री ह्याण्ड बिल्ट) र भएको पैसाले ‘किल्न’ (माटोका भाँड़ा वा सेरामिक पकाउने भट्टी) को लागि लगानी गरिन्। ठाउँको अभाव हुँदा सुत्ने कोठामै सानो ठाउँ बनाएर ‘बोहोमी’ नामबाट स्टुडियो शुरु गरिन्। ‘बोहोमी’को अर्थ खुलाउँदै भन्छिन्, ‘‘बोहोमी हाम्रो पुर्ख्यौली शब्द हो- ‘बोहो’ माटो र ‘मी’ भनेको आगो हो। सेरामिक कलाको काम सबै माटो र आगोको खेल हो।’’

सेरामिक कलामा केन्द्रित भएर अनुपाले यसैलाई करियरको रूपमा अघि बढ़ाइन्। बीचबीचमा निक्कै बाधा-अड़्चन आए पनि ती सबैलाई चिरेर अघि बढ़िन्। माटो पकाउन उनले बिजुलीको ‘किल्न’ साथै पारम्परिक भट्टीमा आगो बालेर पकाउने काम गरिन्। यसको लागि विभिन्न प्रयोग गरेको उनी बताउँछिन्। उनले माटोले लिपेर भट्टी आफैं बनाइन् र मध्यरातसम्म काम गरिन्। उनी भन्छिन्, ‘‘मन छ भने सानो चीज पनि बनाउन सकिन्छ। घरमा सानो आगो बालेको छ भने त्यसमा पनि पकाउन सकिन्छ। अनुभव चाहिँ हुनुपर्छ।’’

पोटरीको काम निक्कै चुनौतीपूर्ण रहेको अनुपा बताउँछिन्। उनी भन्छिन्, ‘‘यसमा तुरुन्तै पैसा आउँदैन, धैर्य हुनुपर्छ। मेरो अनुभवमा लगानीको पैसा निक्कै पछि आउँछ।’’ पोटरीको काम अहिले पनि मानिसहरूलाई बुझाउन गाह्रो छ। वर्षमा एकपल्ट कलकता, पुणे, गोवा वा भारतका अन्य ठाउँको पोटर्स मार्केटमा जान्छिन्। उनी भन्छिन्, ‘‘हाम्रो एउटा संस्था इण्डियन आर्ट सेरामिक फाउन्डेसन छ। यो फाउन्डेसनले राम्रो आर्ट ग्यालेरीमा हुने प्रदर्शनीमा मौका दिन्छ। म यसमा सहभागी हुन्छु।’’ त्यस्ता जमघटमा उनका सिर्जनात्मक उत्पादनहरू बिक्री हुन्छन्। उनले हातले बनाएका पोटरी कला अरुभन्दा फरक हुँदा सबैको नजर पर्नेगर्छ। उनका अनुसार, यस्ता उत्पादनहरू बाहिरतिर राम्रो बिक्री हुन्छन्।

कार्यक्रमहरूमा सिक्किम सरकारले स्टल उपलब्ध गराएर सहयोग पुर्‍याउने उनी बताउँछिन्। कड़ा चुनौतीहरू झेल्दै उनी यस कामबाट आत्मनिर्भर बनेकी छिन्। सिक्किमका स्कूलहरूमा विद्यार्थीहरूलाई पोटरी कलाको कार्यशालाहरू गराउँछिन्। कार्यशालाहरूको माग स्कूलहरूमा रहेको उनी बताउँछिन्।

अनुपाले पोटरीमा राकु टेक्निक प्रयोग गर्थिन्। उनी भन्छिन्, ‘‘राकु टेक्निक रोचक हुन्छ- यसमा खाना खाने भाँड़ाकुँड़ा बनिँदैन। यसमा सजाउने सामग्रीहरू मात्र बनिन्छ। मैले प्राय: राकु नै गर्थे। राकु वेयर्समा खानु हुँदैन। पहिला मैले शुरु गरेको राकुबाट हो, तर मैले केवल सजाउने सामग्रीहरू मात्र बनाउने गर्थें।’’ राकु टेक्निकमा निक्कै चुनौती थियो। यसबारेमा गोवातिर अवगत भएका हुनाले राम्रो बिक्री हुने उनी बताउँछिन्। उनका अनुसार, त्यहाँ बाहिरतिर पोटर्स मार्केट भनेर राखिन्छ र पोटर्सहरू धेरै हुन्छन् अनि किन्ने मानिसहरूलाई धेरै जानकारी हुन्छ।

अनुपाले पोटरी अर्थात कुम्हालेको काम गर्दा घरमा साथै अरुले अचम्भ मान्थे। माटोको काम गर्ने भन्दा कतिले उनलाई पत्याएनन्। फेल भएर माटोको काम गरेको भन्ने कुरा सुन्दै संघर्ष गरेर अघि बढ़िन्। उनी विद्यार्थीहरूलाई माटोको कलाबारे सिकाउँछिन्। कुम्हालेहरूले गर्ने टेराकोटामा काम गर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘विद्यार्थीहरूलाई सिकाउँदा टेराकोटा नै सिकाउँछु।’’

सन् २०२5 को वर्खायाममा जमिन धास्किएर स्टुडियो बिग्रिन्दा अनुपले निक्कै क्षति बेहोर्नु पर्‍यो। अहिले स्टुडियो पुनरुद्धारको काम भइरहेको छ। अहिले घरको सानो आँगनमा हातले नै सेरामिक कलाको काम गर्छिन्। फुर्सदमा चित्रहरू बनाउँछिन्। अनुपा भन्छिन्, ‘‘जुनै काम पनि मन लगाएर गरे सफल हुन्छै हुन्छ।’’ भविष्यमा महिलाहरूलाई पोटरीमा सहभागी गराउने इच्छा रहेको बताउँछिन्।

माटोसँगको अनुपाको यो यात्रा केवल कलाको मात्र होइन, साहस, धैर्य र आत्मविश्‍वासको पनि यात्रा हो। कड़ा चुनौती र संघर्षका बीच पनि सिर्जनालाई निरन्तरता दिँदै उनले आज प्रमाणित गरिरहेकी छिन्- मनले चाहे माटोबाट पनि सपनाहरू आकार लिन सक्छन्।


Share this news
आजको रोजाइ
विपरीत दिशामा गाडी चलाउनेहरूलाई दुइ गुणा जरिमाना लगाइनेछ

विपरीत दिशामा गाडी चलाउनेहरूलाई दुइ गुणा जरिमाना लगाइनेछ

आतंकवादी हमला गर्ने योजना बनाइरहेका चार अभियुक्तहरू परे पक्राउ

आतंकवादी हमला गर्ने योजना बनाइरहेका चार अभियुक्तहरू परे पक्राउ

मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेद्वारा ग्वाला दिवसको शुभकामना व्यक्त

मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेद्वारा ग्वाला दिवसको शुभकामना व्यक्त

पीएफ अधिकारीद्वारा लङभ्यू चिया बगान कार्यालय सिलबन्दी

पीएफ अधिकारीद्वारा लङभ्यू चिया बगान कार्यालय सिलबन्दी

आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न निर्देशन

आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न निर्देशन

गेजिङ जिल्ला किकबक्सिङ संघले मनायो राष्ट्रिय किकबक्सिङ दिवस 

गेजिङ जिल्ला किकबक्सिङ संघले मनायो राष्ट्रिय किकबक्सिङ दिवस 

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाको शपथ

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाको शपथ

माटोबाट सिर्जना र आत्मनिर्भरताको यात्रामा अनुपा राई

माटोबाट सिर्जना र आत्मनिर्भरताको यात्रामा अनुपा राई

सडकको पोखरीमा चालकहरूले धान रोप्दै हाँसलाई पौडी खेलाए

सडकको पोखरीमा चालकहरूले धान रोप्दै हाँसलाई पौडी खेलाए

भारतीय नेपाली साहित्यका निर्माता हरिभक्त कटुवाल र प्रतिष्ठान 

भारतीय नेपाली साहित्यका निर्माता हरिभक्त कटुवाल र प्रतिष्ठान 

आजको रोजाइ