गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रिम्बिक–लोधोमा समष्टिको लोवर छोटा हट्टामा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) तथा गोरामुमोको प्रशाखा कमिटी सर्वसम्मतिले गठन गरिएको छ। यसबारे जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका छन्।तिर्थ राईको अध्यक्षतामा सम्पन्न सांङ्गठनिक सभामा समष्टि अध्यक्ष पेम्बा भुटिया, गोरानासं समष्टि अध्यक्षा मेनुका राई, समष्टि उपाध्यक्षा शर्मिला राई, गोरानासंका समष्टि प्रतिनिधिहरू, समष्टि प्रतिनिधिमण्डल तथा गोरामुमो कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले सर्वसम्मतिले गोरानासं छोटा हट्टा प्रशाखा कमिटीको अध्यक्षा पदमा इडेन राई, उपाध्यक्षमा सरिता राई, मूल सचिवमा बन्दना राई, उपसचिवमा शशी राई र सुस्मिता राई, कोषाध्यक्षमा अमिता राई तथा प्रमुख सल्लाहकारमा सुजता राईलाई चयन गरेको छ। त्यसैगरी, गोरामुमो छोटा हट्टा प्रशाखा कमिटीको अध्यक्षमा तिर्थ राई, उपाध्यक्षमा सन्तोष राई, मूल सचिवमा धनवीर राई, कोषाध्यक्षमा लालबहादुर राई तथा प्रमुख सल्लाहकारमा शुकधन राई र गोपाल राई सर्वसम्मतिले चयन भएका छन्।नवगठित दुवै प्रशाखा कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई समष्टिका प्रतिनिधिहरूले खादा ओढाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा समष्टि अध्यक्ष पेम्बा भुटिया र गोरानासं समष्टि अध्यक्षा मेनुका राईले पार्टीको सिद्धान्त, नीति र अनुशासनलाई आत्मसात् गर्दै संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।उहाँहरूले जातीय अस्मिता, भूमि अधिकार तथा गोर्खा समुदायको हित संरक्षणका लागि गोरामुमोले निर्वाह गर्दै आएको भूमिकालाई जनस्तरसम्म पुर्याउन व्यापक जनसम्पर्क अभियान सञ्चालन गर्न नवगठित कमिटीलाई आह्वान गरेका थिए | योभन्दा अघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत लङ्भ्यु–पंखाबारी–अम्बोटे समष्टिको लङ्भ्यु चियाबारी तराई–३४ ग्राममा गोरामुमो तथा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को संयुक्त सांङ्गठनिक सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सुबोध पाखरिनको अध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टि संयोजक बिरेन्द्र छेत्रीको विशेष उपस्थिति रहेको थियो। सभामा संगठन सुदृढीकरण, शाखा विस्तार तथा वर्तमान राजनीतिक परिस्थितिका विषयमा विस्तृत छलफल गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।
सभापछि समष्टि गोरानासंकी उपाध्यक्ष चन्द्रकला पाखरिनले जारी गरेको वक्तव्यमा गोरामुमो द्वारा मुद्दा फत्ते नभए सम्म संघर्ष जारी राख्ने र संगठनप्रतिको प्रतिबद्धता निरन्तर रहने स्पष्ट पारिन्। उनले भनिन्, “हामी यहाँ बलियो रूपमा उभिएका छौं र अन्तिम क्षणसम्म गोरामुमोको साथ छोड्ने छैनौं। अब संगठनलाई अझ सशक्त बनाउँदै अघि बढ्ने समय आएको छ।” युवापुस्तालाई सम्बोधन गर्दै उनले बारम्बार पार्टी परिवर्तन गर्ने प्रवृत्तिले समाज र भावी पुस्ताको भविष्य निर्माण नहुने बताइन्। जातीय अस्मिता, पहिचान र माटोको सुरक्षाका लागि युवाहरू सचेत भई सही निर्णयका साथ अघि आउनुपर्नेमा उनले जोड दिइन्। उनले बजारमा विभिन्न किसिमका भ्रम र हल्ला फैलिने भए पनि सत्य र आफ्नो अधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उल्लेख गर्दै अहिलेको अवसर गुमाए भविष्यमा पछुताउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिइन्। सभामा हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्यु) लङ्भ्यु शाखाकी सदस्या मिना लामा, गोरायुमोका बादल राई, गोरानासंका सदस्यहरू तथा गोरामुमो तराई क्षेत्रका ठूलो संख्यामा कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले संगठनलाई जरा तहसम्म विस्तार गर्दै थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।












