खर्साङ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीको सांङ्गठनिक सभा ब्राञ्च अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभाको सञ्चालन ब्राञ्च सचिव युद्ध छेत्रीले गरेका थिए। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार सभामा केन्द्रीय समिति सदस्य पारस गुरुङ, समष्टिका प्रतिनिधिहरू, गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) की केन्द्रीय उपाध्यक्ष कमला राई, गोरानासं खर्साङ ब्राञ्चका प्रतिनिधिहरू तथा ब्राञ्च कमिटीका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सभामा खर्साङ ब्राञ्च अन्तर्गत भइरहेको सांङ्गठनिक विस्तार, विभिन्न समष्टिहरूमा शाखा गठन तथा भ्रातृ संगठनहरूको विस्तारबारे विस्तृत समीक्षा गर्दै आगामी कार्ययोजनामाथि व्यापक छलफल गरिएको थियो। समष्टिका प्रतिनिधिहरूले वर्तमान समयमा शाखा गठन र संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको जानकारी गराएका थिए।
सभालाई सम्बोधन गर्दै ब्राञ्च अध्यक्ष निमा लामाले संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउन घरदैलो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले संगठन बलियो भए मात्रै जनतालाई सचेत र संगठित बनाउन सकिने उल्लेख गर्दै सबै कार्यकर्तालाई अझ सक्रिय र परिश्रमी भएर संगठन विस्तारमा लाग्न आग्रह गरे। साथै उनले विगतका अनुभवबाट पाठ सिक्दै कुनै पनि प्रकारको राजनीतिक षड्यन्त्र सफल हुन नदिन सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
यसैबीच, लङ्भ्यु–पंखाबारी–अम्बोटे समष्टिको अध्यक्ष पद रिक्त रहेकाले बिरेन्द्र छेत्रीलाई समष्टि संयोजकमा नियुक्त गरिएको छ। ब्राञ्च अध्यक्ष निमा लामाले उनलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै आगामी १५ दिनभित्र समष्टि कमिटी पुनर्गठन गरी पूर्ण समिति गठन गर्न निर्देशन दिएका छन्। सभाले संगठनलाई अझ सशक्त, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धतासहित आगामी दिनमा गाउँ–गाउँसम्म संगठन विस्तार अभियानलाई थप तीव्र बनाउने निर्णय गरेको बताइएको छ।












