पूर्व जीटीए प्रमुख विनय तामाङले भनेका छन्-गोजमुमो, गोरामुमो, भाजपा र यसका घटक दलहरू लगायत जसले मेरो राजीनामा मागेर मलाई ‘महागद्दार’ को बिल्ला भिराउन खोज्दैछन्, उनीहरूलाई मेरो एउटै प्रतिप्रश्न छ: के मैले राजीनामा दिँदैमा जीटीए खारेज हुन्छ ?
के सरकारले आधिकारिक रूपमा घोषणा गरेको छ कि “तिमीहरूले राजीनामा दिने बित्तिकै हामी जीटीए खारेज गरेर तुरुन्तै अर्को संवैधानिक व्यवस्था लागु गर्छौ”? भनेर – यदि छैन भने, यो केवल खोक्रो राजनैतिक स्टन्ट मात्र हुनेछ ।
यदि तपाईंहरू साँच्चै दार्जिलिङ पहाड तराई डुवर्सको अनि गोर्खाजातिको हित चाहनुहुन्छ र मबाट राजीनामाको अपेक्षा गर्नुहुन्छ भने, म चुनौतीका साथ भन्न चाहन्छु— म अहिल्यै, यसै घडी राजीनामा दिन तयार छु, तर पहिले यी शर्तहरूको जवाफ चाहिन्छ:
मेरो प्रश्न:
सरकारले स्पष्ट पारोस्— जीटीएको विकल्प के हो? स्थायी राजनैतिक समाधान अर्थात PPS को खाका के हो? यो कहिलेसम्म लागु हुनेछ ? जनतालाई यसको निश्चित समयसीमा बताइयोस्, म तुरुन्तै राजीनामा दिन्छु।
गोजमुमोलाई प्रश्न: जीटीएको सट्टा स्थायी राजनैतिक समाधानका रूपमा तपाईंहरू के चाहनुहुन्छ, स्पष्ट रूपमा भन्नुहोस्। नयाँ बन्ने व्यवस्थामा तराई र डुवर्स गाभिन्छन् कि गाभिँदैनन्? खाका सार्वजनिक गर्नुहोस्, म तुरुन्तै राजीनामा दिन्छु।
गोरामुमोलाई प्रश्न: जीटीएको विकल्पमा तपाईंहरूको ठोस अडान र माग के हो? स्वर्गीय सुवास घिसिङ आपाले जीटीएको विरूद्ध भारतको सर्वोच्च न्यायालयमा लगाएको मुद्दामाथि के कति काम गर्नुहुॅदैछ ? जनतालाई स्पष्ट पार्नुहोस्, म तुरुन्तै राजीनामा दिन्छु।
अन्य राजनैतिक दलहरूलाई प्रश्न: दार्जिलिङ पहाड, तराई, डुवर्स र समग्र गोर्खा जातिको अस्मिताका लागि सम्पुर्ण राजनैतिक दलहरू कसम खाएर एउटै मञ्चमा आउनुहोस् र एउटै आवाजमा मुद्दा उठाउनुहोस्, म तुरुन्तै राजीनामा दिन्छु।
जनतासमक्ष एउटा अपिल:
”मलाई ‘महागद्दार’ भन्नुअघि एकपटक आफ्ना आ-आफ्ना दलका शीर्ष नेताहरूलाई सोध्नुहोस्— ‘तपाईंहरूले दार्जिलिङ पहाड, तराई, डुवर्स र गोर्खा जातिको स्थायी राजनैतिक समाधानका लागि अहिलेसम्म के गर्नुभयो र के गर्दै हुनुहुन्छ?’ यदि उनीहरूले तपाईंहरूलाई चित्तबुझ्दो र व्यावहारिक उत्तर दिन सके भने, म आजै र अहिल्यै आफ्नो पदबाट राजीनामा दिनेछु।” भावुकतामा बगेर होइन, विवेकले सोचौँ। राजीनामा समाधान होइन, अधिकारको स्पष्ट खाका र एकता आजको आवश्यकता हो।
फेरि यो कथा नदोहोरियोस्
श्री विमल गुरूङले जीटीएको मुख्य कार्यपालको पदबाट ३० जुलाई २०१३ मा आफ्नो पदबाट राजिनामा दिएको थियो भने लगत्तै केही महिनापछि २६ दिसम्बर २०१३ मा श्री विमल गुरूङले कोलकाताको राजभवनमा त्यसताकका मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल एम.के. नारायणनको उपस्थितिमा पुनः दोस्रोपल्ट मुख्य कार्यपालको रूपमा शपथ लिएको थियो – जतिबेला म जलपाइगुड़ी सेन्ट्रल जेलमा थिए ।
अन्तमा , मिडियारूमा अनि सोसियल मिडियाहरूमा राजिनामा दिनुपर्छ भन्दै बोल्ने र लेख्नेहरूले मलाई सभासद बनाएको होइन मेरो समष्टिको मेरो शुभचिन्तकहरूले भोट दिएर मलाई जीटीएमा जनप्रतिनिधिको रूपमा पठाएको हो – मलाई जसले भोट दिए वहाँहरूको आदेशलाई म सम्मान गर्छु।











