भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खा समुदायको राजनीतिक समस्याको संवैधानिक समाधान चाँडै हुने संकेत दिइसकेको उल्लेख गर्दै वर्तमान अवस्थामा जीटीएलाई निरन्तरता दिन खोज्नु उचित नभएको गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) केन्द्रीय समितिकी अध्यक्ष मणिकला तामाङले बताएकी हुन्। उनी खर्साङस्थित मारवाडी सहायक भवनमा आयोजित गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) केन्द्रीय समितिको एक महत्वपूर्ण सांगठनिक सभाको अध्यक्षता गरिरहेकी थिइन्। मणिकला तामाङले भनिन्, केही सभासदहरू जीटीएमै टिकिरहन इच्छुक देखिएको आरोप लगाउँदै यस्तो प्रवृत्ति जारी रहे गोर्खा राष्ट्रिय नारी संगठन सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइन्।
यसै क्रममा उनले इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) का अध्यक्ष अजय एड्वर्डले हालै दिएको भनिएको अभिव्यक्तिको पनि खण्डन गरिन्। तामाङले जीटीएको वैधानिकतामाथि चुनौती दिँदै गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङले उच्च न्यायालयमा मुद्दा दायर गरेको स्मरण गराउँदै, “जीटीएविरुद्ध कानुनी लडाइँ लडिरहेको दललाई जीटीएको सभासदसँग जोडेर गरिएका टिप्पणीहरू हास्यास्पद र राजनीतिक ज्ञानको अभाव दर्शाउने खालका छन्,” भनी टिप्पणी गरिन्। उनले गोरामुमोले गोर्खा समुदायको संवैधानिक अधिकार र न्याय सुनिश्चित गर्न निरन्तर संघर्ष गरिरहेको उल्लेख गर्दै गोर्खा जातिको राजनीतिक मुक्ति नै पार्टीको मुख्य लक्ष्य रहेको बताइन्। “हामीले लक्ष्य हासिल नगरेसम्म विश्राम गर्ने छैनौं। तर यदि हाम्रो आन्दोलनलाई अवरोध पुर्याउने प्रयास गरियो भने गोर्खा राष्ट्रिय नारी संगठन सडक संघर्षमा उत्रिन बाध्य हुनेछ,” उनले भनिन्।
अध्यक्ष मणिकला तामाङले वर्तमान पहाडको राजनीतिक परिस्थितिबारे धारणा राखिन्। उनले गोर्खा समुदायले न्याय प्राप्त गर्ने महत्वपूर्ण मोडमा अन्य राजनीतिक दलहरूले पुनः जीटीए (गोरखाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) लाई केन्द्रमा राखेर राजनीति गरिरहेको आरोप लगाइन्। उनले जीटीएका बाँकी रहेका सभासदहरूले सामूहिक रूपमा राजीनामा दिनुपर्ने माग गर्दै भनिन्, “जनताले यसपटकको निर्वाचनमा जीटीए व्यवस्थाको विरोधमा मतदान गरेका हुन्। अब सबै राजनीतिक शक्तिहरू एकजुट भएर जीटीए खारेजीको पक्षमा उभिनुपर्छ।”
उक्त सभामा केन्द्रीय उपाध्यक्ष कमला राई, गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष बसुन्धरा प्रधान तथा केन्द्रीय समितिका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा संगठनको सांगठनिक विस्तार तीव्र गतिमा भइरहेको जानकारी दिइयो। प्रतिनिधिहरूले दार्जीलिङ, खर्साङ, कालेबुङ र मिरिक क्षेत्रमा समष्टि तथा शाखा–प्रशाखाहरू द्रुत गतिमा गठन भइरहेको प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा उपस्थित वक्ताहरूले पनि संगठनलाई तल्लो तहसम्म सशक्त बनाउँदै गोर्खा समुदायका अधिकार र आकांक्षाका पक्षमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।












