गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत टुङ्ग–सन्त मेरिज समष्टिको आयोजनामा माग्रेट्स होप दोकानडाँडा सार्वजनिक भवनमा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। सभामा वरिपरिका हरियो झण्डा प्रेमी, गोरामुमो समर्थक तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।समष्टि अध्यक्ष मदन छेत्रीको सभापतित्वमा सम्पन्न उक्त सभाको सञ्चालन समष्टि सचिव तिलक राईले गरेका थिए। कार्यक्रममा गोरामुमोका केन्द्रीय समिति सदस्य बी.के. राई, अमृता थापा, गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समिति संयोजक आनन्द राई, गोरायुमो खरसाङ ब्राञ्च कमिटी सचिव सन्तोष सुब्बा, गोरामुमो खरसाङ ब्राञ्च कमिटी उपाध्यक्ष सुरेन मोक्तान तथा समष्टि सदस्य किशोर कार्की लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै वक्ताहरूले वर्तमान पहाडको राजनीतिक परिस्थितिबारे चर्चा गरेका थिए। उनीहरूले गोर्खा समुदायको दीर्घकालीन राजनीतिक आकांक्षा पूरा गर्न सबै राजनीतिक शक्ति र जनसमुदाय एकजुट हुनुपर्नेमा जोड दिए। साथै, पहाडमा संवैधानिक व्यवस्था सुनिश्चित गर्न संगठित संघर्षलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।
वक्ताहरूले भ्रष्टाचारमुक्त, पारदर्शी र जनउत्तरदायी प्रशासन निर्माणका लागि जनताले सचेत भूमिका निर्वाह गर्नुपर्ने बताउँदै गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वलाई अझ मजबुत बनाउन कार्यकर्ता र समर्थकहरूलाई आह्वान गरे। उनीहरूले संगठनलाई जरा तहसम्म सुदृढ गर्दै जनताको अधिकार र पहिचानको पक्षमा निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरेका थिए। सभाको अन्त्यमा संगठन विस्तार, कार्यकर्ता सशक्तीकरण तथा आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत विस्तृत छलफल गरिएको बताइएको छ।












