साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

Authored By: सञ्जय निरौला, बिजनबारी

Share this news

दार्जीलिङ पहाड़ जति प्राकृतिक रूपमा सुन्दर देखिन्छ, त्यति नै सुन्दर र विख्यात बनाउन यहाँका मानिसहरूले निरन्तर प्रयास गरिरहेका छन्। यही कारण प्रकृतिले मनमोहक बनाएको पहाड़का कुना-कन्दराहरू अझ मधुर र आकर्षक बन्दै गएका छन्। यस्तै व्यक्तित्वमध्ये एक हुन् अजनिश राई, जसले तीन दशकभन्दा बढ़ी समय संगीत साधनामा समर्पित गरेका छन्। आफ्नो स्वर र संगीतमार्फत उनले छुट्टै पहिचान निर्माण गरेका छन्।

‘‘…संगीतले केवल सुमार्ग मात्रै होइन विश्‍वमा परिचय पनि उत्तिकै दिन्छ’’

दार्जीलिङमै जन्मिएका अजनिश राईले मुख्यतः हिन्दुस्तानी शास्त्रीय संगीत, गजल तथा भक्तिमूलक संगीतको क्षेत्रमा विशिष्ट पहिचान स्थापित गरेका छन्। परम्परागत संगीतको गहिरो अध्ययन र आधुनिक संगीत प्रयोगको समिश्रणद्वारा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका श्रोतामाझ विशेष स्थान बनाउन सफल भएका छन्।

सानैदेखि संगीतप्रति रुचि राख्ने अजनिशले विद्यार्थी जीवनमै यस क्षेत्रमा भविष्य बनाउने सोच राखेका थिए। तर शुरुवाती चरणमा उनले अपेक्षाकृत अवसर पाउन सकेनन्। यसै क्रममा उच्च शिक्षाका लागि सन् १९८९९० तिर उनी श्री सत्य साई इन्स्टिच्युट अफ् हायर लर्निङ, पुट्टपर्ती पुगे। त्यहाँ पुगेपछि उनले संगीतको अनुकूल वातावरण पाए र आफ्नो रुचिलाई थप विकसित गर्न थाले। संगीतको सामान्य ज्ञान लिएर पुगेका अजनिशलाई उक्त संस्थानले संगीतको गहिरो अध्ययनतर्फ डोर्‍यायो।

त्यसपछि उनी मुम्बई पुगे र प्रतिष्ठित पटियाला घरानाका गुरु उस्ताद दयाल ठाकुरको सान्निध्यमा संगीत अध्ययन गर्न थाले। सन् १९९६ देखि २००२ सम्मको अवधिमा उनले हिन्दुस्तानी शास्त्रीय गायन र गजलमा गहिरो साधना गर्दै संगीतका सूक्ष्म पक्षहरू आत्मसात् गरे। उस्ताद दयाल ठाकुर स्वयं महान् शास्त्रीय गायक उस्ताद बड़े गुलाम अली खानका शिष्य भएकाले अजनिशले उच्चस्तरीय सांगीतिक परम्पराको ज्ञान प्राप्त गर्ने अवसर पाए।

यसैबीच उनले सन् १९९६ तिर आफ्नो पहिलो संग्रह एल्बम सार्वजनिक गरे, जसले उनलाई श्रोताको अझ नजिक ल्यायो। त्यसको लगत्तै सन् १९९७ मा यो मन दुख्छनामक गीत-गजल एल्बम सार्वजनिक गरे, जसले निकै प्रशंसा प्राप्त गर्‍यो। त्यसपछि उनले संगीतलाई नै आफ्नो जीवनको मूल मार्ग बनाएर निरन्तर अघि बढ़िरहे।

भक्तिमूलक संगीतको क्षेत्रमा अजनिश राईको योगदान विशेष उल्लेखनीय छ। उनले लिभिङ गड सिरिज’, ‘माँ साई’, ‘ओ साई माँ’, ‘गोल्डेन डेज’, ‘नूर’, ‘साई बिन रहा ना जाए’, ‘प्यारे साई हमारे’, ‘थ्याङ्क यू स्वामी’, ‘तस्वीर’, ‘याद-ए-खुदा’, ‘सत्य नारायण साई’, ‘साचा एक तेरा नाम साई बाबा’, ‘रामकथा’, ‘द् स्टोरी अफ् सीता’, ‘फरेभर इन् साईतथा साई धामजस्ता चर्चित एल्बमहरू सार्वजनिक गरिसकेका छन्। यी कृतिहरूले विश्‍वभरका श्रोताहरूलाई आध्यात्मिक अनुभूति प्रदान गरेका छन्।

भक्ति संगीतसँगै उनले आधुनिक तथा गजल संगीतमा पनि उल्लेखनीय योगदान दिएका छन्। यो मन दुख्छ’, ‘अनुभूति’, ‘मनस्थिति’, ‘मौसम’, ‘रूबरु’, ‘म सम्झन्छुतथा मेरो बेहोशीजस्ता एल्बमहरूले उनको बहुआयामिक प्रतिभालाई उजागर गरेका छन्। आधुनिक गीत र गजल विशेष रुचिका विधा रहेको बताउने अजनिश नारायण गोपालका आधुनिक गीत र मेहदी हसनका गजलहरूले आफूमा संगीतप्रतिको मोह अझ बढ़ाएको बताउँछन्।

संगीतकारका रूपमा उनले माया पछ्यौरीलगायतका नेपाली चलचित्रहरूमा पनि संगीत दिइसकेका छन्। राष्ट्रिय टेलिभिजन च्यानल जीटीभीबाट प्रसारण हुने चर्चित संगीत रियालिटी शो सा रे ग म पमा सहभागी हुने दार्जीलिङ पहाड़का पहिलो प्रतियोगी पनि अजनिश नै हुन्। सन् २००० मा उनी प्रतियोगिताको फाइनल चरणसम्म पुग्न सफल भएका थिए। उक्त उपलब्धिले उनको सांगीतिक यात्रालाई नयाँ उचाइ प्रदान गरेको थियो।

उनले भारतका दिल्ली, मुम्बई, चेन्नई, पुणे, इलाहाबाद तथा बेंगलुरुजस्ता प्रमुख शहरहरूसँगै अन्तर्राष्ट्रिय स्तरमा ब्रिटेन, वेल्स, मौरिसस, ट्रिनिडाड एडन टोबागो, गुयाना, बार्बाडोस, सिंगापुर, थाइल्याण्ड, दक्षिण अफ्रिका, मलेसिया तथा संयुक्त अरब इमिरेट्सलगायत विभिन्न देशहरूमा प्रस्तुति दिइसकेका छन्।

हाल पनि संगीत साधनामा निरन्तर सक्रिय अजनिशले आफ्नै म्याट्रिक्स साउण्ड ल्याबनामक स्टुडियो स्थापना गरेका छन्। यस स्टुडियोमार्फत उनी संगीत सिर्जना, रेकर्डिङ, प्रोग्रामिङ तथा साउण्ड डिजाइनका कार्यमा सक्रिय छन्। यो स्टुडियो उनका नयाँ सिर्जनाहरूको प्रमुख केन्द्र बनेको छ। उनकी श्रीमती स्वयं एक कुशल भजन गायिका हुन्। संगीतमा दक्ष यी जोड़ीले दार्जीलिङमा गुरुकुल संगीत संस्थानसंचालन गर्दै आएका छन्। संस्थानमार्फत हिन्दुस्तानी स्वर संगीतको प्रशिक्षण प्रदान गरिन्छ। स्थानीय विद्यार्थीहरू प्रत्यक्ष रूपमा तथा टाढ़ाका विद्यार्थीहरू भर्चुअल माध्यमबाट प्रशिक्षणमा सहभागी हुन्छन्। भारतका विभिन्न राज्यहरूका साथै अमेरिका, ब्रिटेनलगायतका देशका विद्यार्थीहरू पनि अजनिशसँग जोड़िएर संगीत सिकिरहेका छन्।

लगभग चार दशकदेखि संगीतमा सक्रिय अजनिश संगीतमा सफलता प्राप्त गर्न त्याग, समर्पण र निरन्तर साधना अपरिहार्य रहेको बताउँछन्। उनी भन्छन्, ‘‘संगीतका पारखीहरू झरी च्याउ जस्तो भए भने केही हुँदैन। जसको निम्ति निरन्तर लागिरहनुपर्छ।’’ विदेश तथा दक्षिण भारतका विद्यार्थीहरूको संगीतप्रतिको समर्पण देख्दा आफूहरूलाई धेरै कुरा सिक्न बाँकी रहेको उनको धारणा छ। दैनिक रूपमा बढ़्दो अनावश्यक मनोरञ्जनका कारण युवाहरू संगीतबाट टाढ़िँदै जाने खतरा रहेको उनी बताउँछन्।

अजनिश भन्छन्, ‘‘पुरानो समयमा स्थानीयदेखि राम्रा गायकहरूले प्रत्यक्ष श्रोता पाउने गर्थें। ठाउँ-ठाउँमा कलाकारहरूलाई बोलाइन्थ्यो। जसले गायकहरूको केही हदसम्म खर्च निस्किन्थ्यो। तर अहिले केवल सामाजिक सञ्जालमा मात्रै मञ्च सीमित भयो। यद्यपि यसले गर्नसक्ने कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनसक्यो। जुन केही हदसम्म राम्रो भए पनि संगीत भनेको मञ्चमा देखाउने आर्ट भएकोले कलाकार तथा दर्शकमाझको नजिकता घटाएको छ।’’

‘‘संगीतमा लागि पर्नेहरूका निम्ति हाल ग्लोबल रूपमा मञ्च तयार छ। तर कमि भनेको हाम्रो मेहनत नगर्ने बानी हो। यसैले अनुशासित भएर त्याग र समर्पणको साथमा आउनुहोस्। संगीतले केवल सुमार्ग मात्रै होइन विश्‍वमा परिचय पनि उत्तिकै दिन्छ। यस्तै संगीत साधना भएकाले गहिराइमा डुब्नुपर्छ’’, नयाँ पुस्तालाई सन्देश दिँदै उनी भन्छन्। दार्जीलिङ पहाड़को क्षेत्रीय व्यवस्थाले जीटीए आइडलजस्ता गायन प्रतियोगितासँगै वाद्यवादनका कार्यक्रमहरू पनि संचालन गर्नसके युवाहरूलाई थप प्रोत्साहन मिल्ने उनको विश्‍वास छ।

संगीतलाई दीर्घकालीन रूपमा जोगाइराख्न अध्ययन र अनुसन्धान आवश्यक रहेको उनी बताउँछन्। साथै क्षेत्रीय स्तरका कलाकारहरूको संरक्षण र प्रोत्साहनका लागि सरकारले पनि आवश्यक पहल गर्नुपर्ने उनको धारणा छ। संगीतप्रतिको आफ्नो समर्पणलाई थप उचाइ दिँदै अजनिश राईले सङ अफ् द् सोलनामक पुस्तक लेखेका छन्। उक्त पुस्तकमा उनले आफ्नो सांगीतिक यात्राका अविस्मरणीय अनुभवहरू तथा प्रेरणादायी क्षणहरूलाई समेटेका छन्।

परम्परागत संगीतको गहिरो जरा र नवीन सोचको समिश्रणका साथ अजनिश राई आज पनि संगीतको माध्यमबाट श्रोताको मन जित्दै निरन्तर अगाड़ि बढ़िरहेका छन्। उनको यात्रा केवल एक सफल गायक वा संगीतकारको कथा मात्र होइन, समर्पण, साधना र सांगीतिक निष्ठाको प्रेरणादायी उदाहरण पनि हो।


Share this news
आजको रोजाइ
थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ

थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ

गोरामुमो अध्यक्ष घिसिङको उपस्थितिमा गोरामुमोको सांगठनिक सभा

गोरामुमो अध्यक्ष घिसिङको उपस्थितिमा गोरामुमोको सांगठनिक सभा

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

आजको रोजाइ