असमको मार्घेरिटा उप-जिल्ला अन्तर्गत पर्ने नामदाङ कोलियरी क्षेत्रबाट घोषणा गरिएको CBSE उच्चतर माध्यमिक (कक्षा १२) परीक्षामा एक गौरवमय सफलता सार्वजनिक भएको छ। नामदाङ कोलियरी निवासी पिता दीपक बहादुर भुजेल तथा माता बोरगोलाई पञ्चायतकी सभानेत्री श्रीमती सपना कुमारी छेत्री भुजेलकी सुपुत्री दिया भुजेल उत्कृष्ट नतिजा हासिल गर्दै परिवार, विद्यालय तथा सम्पूर्ण समाजको नाम उजागर गरेकी छन्। दिया भुजेलको उक्त परीक्षामा ८१ प्रतिशत अङ्क प्राप्त गर्नुका साथै 2 वटा लेटर तथा 1 वटा स्टार मार्क्स हासिल गर्न सफल भएकी छन्। उनले बोगोलाईस्थित VKV विद्यालयबाट आफ्नो उच्चतर माध्यमिक शिक्षा पूरा गरेकी हुन्। विद्यालय स्रोतका अनुसार दिया सधैँ मेहनती, अनुशासित तथा अध्ययनप्रति गम्भीर विद्यार्थीका रूपमा परिचित थिइन्। नियमित अध्ययन, शिक्षकहरूको उचित मार्गदर्शन तथा अभिभावकहरूको निरन्तर सहयोगका कारण उनले यो उल्लेखनीय सफलता प्राप्त गर्न सफल भएको बताइएको छ।आज सार्वजनिक भएको नतिजासँगै नामदाङ कोलियरी क्षेत्रमा खुशीको वातावरण सिर्जना भएको छ।
दियाको सफलताले स्थानीय विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गरेको स्थानीयवासीहरूको भनाइ रहेको छ। सामान्य परिवेशबाट अघि बढ्दै उत्कृष्ट अंकसहित सफलता हासिल गर्नु सम्पूर्ण समाजका लागि गर्वको विषय बनेको छ। सामाजिक सञ्जालमा समेत उनको उपलब्धिको चर्चा भइरहेको देखिएको छ भने आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूले निरन्तर बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। दियाले भविष्यमा उच्च शिक्षा हासिल गर्ने लक्ष्यसहित Dehradun मा अध्ययन गर्ने इच्छा व्यक्त गरेकी छन्। गुणस्तरीय शिक्षा हासिल गरी जीवनमा ठूलो लक्ष्य प्राप्त गर्ने उनको सपना रहेको परिवारजनले बताएका छन्। छोरीको सफलताप्रति अभिभावकहरू अत्यन्त खुशी व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। शिक्षा नै उज्ज्वल भविष्यको आधार हो भन्ने सन्देश दियाको सफलताले पुनः प्रमाणित गरेको छ। उनको मेहनत, आत्मविश्वास, अनुशासन तथा निरन्तर संघर्षले अन्य विद्यार्थीहरूलाई पनि अध्ययनप्रति प्रेरित गर्ने विश्वास गरिएको छ।












