हिमन्त विश्व शर्माले सोमबार गुवाहाटीमा आयोजित भव्य समारोहबीच लगातार दोस्रो कार्यकालका लागि असमका मुख्यमन्त्री पदको शपथ लिएका छन्। शपथग्रहण समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह तथा रक्षामन्त्री राजनाथ सिंह लगायत एनडीएका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। १२६ सदस्यीय असम विधानसभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले १०२ सिट जित्दै लगातार तेस्रोपटक सरकार गठन गरेको हो। गुवाहाटीमा सम्पन्न समारोहमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। शर्मासँगै अजन्ता नेओग, रमेश्वर तेली, अतुल बोरा तथा चरण बोरो ले मन्त्री पदको शपथ लिएका छन्। नयाँ मन्त्रिमण्डलमा भाजपा सहयोगी दल असम गण परिषद् (एजीपी) र बोडोल्याण्ड पिपुल्स फ्रन्ट (बीपीएफ) का प्रतिनिधित्वसमेत रहेको छ। नवगठित सरकारले पूर्वाधार विकास, जनकल्याणकारी योजना तथा क्षेत्रीय स्थायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।












