चुनौतीलाई चिर्दै अघि बढ़ेकी बडीबिल्डिङकी महिला निर्णायक

Authored By: सञ्जय प्रधान  

Share this news

महिलाहरूको बडीबिल्डिङबारे चर्चा गर्दा प्रायः मञ्चमा उभिएकी खेलाड़ीको मेहनत र आत्मविश्‍वासको कुरा हुन्छ। तर त्यसभित्र निष्पक्ष नजरले मूल्यांकन गरिरहेकी एक सशक्त उपस्थिति पनि हुन्छ- महिला निर्णायक। उनी केवल अंक दिने व्यक्ति होइनन्, उनी परिवर्तनको संकेत, समानताको स्वर र नयाँ पुस्ताका लागि प्रेरणाको आधार हुन्। दार्जीलिङकी सुनन्दा तामाङ त्यही परिवर्तनको प्रतिनिधि पात्र हुन्।

‘‘निर्णायकले  भावनामा बगेर काम गर्नु हुँदैन। निर्णय निष्पक्ष हुनुपर्छ’’

रुढ़ीवादी सोचले लामो समय ‘यो त पुरुषहरूको क्षेत्र’ भनेर सीमित गरेको बडीबिल्डिङमा आज उनी आत्मविश्‍वासका साथ निर्णायकको चौकीमा बस्छिन्। उनको दृष्टिमा शरीरको बनावट मात्र होइन, अनुशासन, समर्पण र प्रस्तुतीको सन्तुलन पनि महत्त्वपूर्ण हुन्छ।

दार्जीलिङको क्लब साइड निवासी सुनन्दा तामाङ वुमेन्स स्पोर्ट्स मोडल, वुमेन्स बिकिनी मोडल, मेन्स बडीबिल्डिङ र मेन्स फिजिक प्रतियोगिताका लागि राज्य स्तरीय निर्णायक हुन्। यसमा उनी दार्जीलिङ पहाड़मा पहिलो महिला निर्णायक हुन्। उनी सोझै निर्णायक बनेकी होइनन्, यसका लागि संघर्ष गर्दै दशकभन्दा लामो यात्रा गरेकी छिन्।

दार्जीलिङको तुङसुङमा जन्मिएकी सुनन्दा तामाङ सानो हुँदा ब्यांकर, चाटर्ड अकाउन्टेन्ट बन्ने सपना देख्थिन्। स्कूल पढ़्दा खेलकुदमा खासै सक्रिय थिइनन्। दार्जीलिङकै माउन्ट हर्मन स्कूलमा पढ़ेर कलकताको भवानीपूर कलेजबाट स्नातक गरिन्। स्नातकपछि कतार एयरवेजमा सात वर्ष एयर होस्टेसको नोकरी गरेर दार्जीलिङ फर्किन्, र फिजिकल फिटनेसका लागि जिमतर्फ लागिन्। उनको जिम यात्रा पन्ध्र वर्षभन्दा बढ़ी भइसकेको छ।

आज पनि महिलाहरू जिम जान्छन् र बडीबिल्डिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् भन्दा समाजमा चकित पर्ने र रुढ़ीवादी कुरा गर्नेहरूको कमी छैन। सुनन्दाले जिम जाँदा बडीबिल्डिङ क्षेत्रमा पूर्ण रूपमा पुरुषहरूको वर्चस्व थियो। जिमबारे उनलाई शुरुमा धेरै जानकारी थिएन, फिटनेसका लागि जानुपर्छ भन्ने मात्र बुझेकी थिइन्। शुरुमा यता-उताबाट सिक्दै साधारण व्यायामबाट थालेकी उनी पछि गहिरो अध्ययन गर्दै अघि बढ़िन्। हेर्दाहेर्दै जिमप्रति आकर्षण बढ़्दै गयो।

जिम जाँदाजाँदै सुनन्दा वैवाहिक बन्धनमा बाँधिइन्। प्रायः महिलाहरूको यस्तो यात्रा बिहेपछि रोकिन्छ, तर उनको रोकिएन। उनलाई प्रेरणा र हौसला दिने व्यक्ति हुन् उनकी श्रीमान तेञ्जिङ जामयाङ। तेञ्जिङ स्वयं सुपरिचित बडीबिल्डर हुन् र धेरै प्रतियोगितामा सफलता हासिल गरेका छन्। अहिले दुवैले दार्जीलिङमा ‘तेञ्जिङस् जिम’ संचालन गर्छन्।

बिहेपछि राम्रोसँग सिकेर ट्रेनर बन्ने सोचका साथ उनी अघि बढ़िन्। उनले कलकता गएर फिटनेसको एक वर्ष र न्यूट्रिसनको छ महिनाको कोर्स पूरा गरिन्। त्यतिबेला अनलाइन कोर्स नहुँदा कलकता जानुपर्थ्यो। नानी सानै थिए, शनिबार-आइतबार घर आउँथिन्। अहिले उनी फिटनेस ट्रेनर साथै न्यूट्रिसनिस्ट हुन्।

ट्रेनर बनेर उनले धेरैलाई एन्जाइटी र डिप्रेसनबाट मुक्त गराएको बताउँछिन्। उनी भन्छिन्, ‘‘जिममा आएर राम्रोसित अनुशासनात्मक रुपमा खानापानलाई अप्नाए धेरै रोगहरू ठिक हुन्छ।’’ नियमित एक घण्टाको व्यायामले शरीरलाई धेरै फाइदा पुग्ने उनको भनाइ छ।

सुनन्दा बडीबिल्डिङको बिकिनी क्याटेगोरीमा दार्जीलिङबाट मुम्बईमा भएको ‘मिस्टर/मिस युनिभर्स बडीबिल्डिङ-२०२४’मा प्रतिस्पर्धा गर्ने पहिलो महिला खेलाड़ी हुन्, जसमा उनले सिल्भर मेडल जितिन्। उनी फिटनेस ट्रेनर र न्यूट्रिसनिस्टका रूपमा एक दशकदेखि कार्यरत् छिन्। उनलाई विभिन्न प्रतियोगितामा अतिथि निर्णायकका रूपमा बोलाइन्थ्यो। दार्जीलिङ पहाड़मा बडीबिल्डिङका प्रवर्तक स्व. गणु गिरीले निर्णायकको परीक्षा बस्ने सुझाव दिएको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘‘निर्णायकको परीक्षा दार्जीलिङमै बसेकी थिएँ। सो बेला एउटा बडीबिल्डिङ प्रतियोगिता भएको थियो, र त्यसैमा परीक्षाको लागि बसेकी थिएँ।’’ सन् २०१९ मा परीक्षा उत्तीर्ण गरेर उनी दार्जीलिङ पहाड़मा बडीबिल्डिङकी पहिलो राज्य स्तरीय महिला निर्णायक बनिन्। अहिले उनी राज्यस्तरमा पुरुष र महिला दुवै प्रतियोगिताका निर्णायक हुन्।

सुनन्दा भन्छिन्, ‘‘पहिला मानिसहरू जिमबारे सचेत थिएनन्। तर अहिले स्वास्थ्यको कारणले यसको आवश्यकताबारे सबैलाई थाहा भयो। अहिले उमेर पुगेका देखि लिएर केटा-केटी सबै आउन थालेका छन्।’’ मुम्बईमा बिकिनी क्याटेगोरीमा प्रतिस्पर्धा गर्दा पनि परिवारको हौसला पाइन्। निर्णायक बन्न अनुभव र शारीरिक सुगठनबारे राम्रो अध्ययन हुन आवश्यक रहेको उनको भनाइ छ।

सुनन्दा भन्छिन्, ‘‘निर्णायक बनेर चौकीमा बस्दा पूर्वाग्रह राख्नु हुँदैन। म महिलाको मात्र होइन पुरुषको प्रतियोगितामा पनि निर्णायक रहन्छु। अहिले बडीबिल्डिङमा वर्षै पछि कतिवटा नयाँ थपिन्छन्, कतिवटा लेभलहरू बदली हुन्छ। हामी दुवै पति-पत्नी भारतमा हुने ठूला प्रतियोगिताहरू हेरेर आउँछौं र यहाँ सिकाउँछौं। निर्णायकको लागि आफूलाई अपग्रेड गर्नु मुख्य कुरा हो। निर्णायकले  भावनामा बगेर काम गर्नु हुँदैन। निर्णय निष्पक्ष हुनुपर्छ।’’

सुनन्दाले परिवार र श्रीमानबाट सहयोग र हौसला पाएकी हुन्। सुनन्दाको अघि पनि सामाजिक र घर-गृहस्थीको चुनौती थियो। उनी दुईजना नानीकी आमा हुन्। एकजना दश र अर्को सात वर्षका नानी छन्, तर उनले पारिवारिक जीवन व्यवस्थित राख्दै आमाको भूमिका निर्वाह गरिरहेकी छिन्। उनी भन्छिन्, ‘‘एकजना महिलाको रुपमा सामाजिक चुनौती धेरै हुन्छ। पुरुषहरूलाई पनि कतिवटा तनाव, समस्या हुन्छन्, यस्तो सबैलाई हुन्छ। तर पहिला नै म सक्दिनँ भनेर कोशिश नगरे थाहा हुँदैन।’’ पहिला बिकिनी क्याटेगोरीको प्रतियोगितामा जाँदा कतिले उदेक माने, तर सुनन्दा आफ्नै बाटोमा हिँड़्दै चुनौतीहरू चिरिन्। मेडल जितेर फर्किंदा सबैले प्रशंसा गरे।

सुनन्दा भन्छिन्, ‘‘व्यायाम केटीहरूका लागि पनि हो। राम्रो काम गरेपछि सबैले सराहना गर्छन्।’’ उनलाई हेरेर उनका नानीहरू पनि फिटनेसप्रति उत्साहित रहेको बताउँछिन्। ‘‘फिटनेसको क्षेत्र अहिले राम्रो बढ़िरहेको करियर हो। केटीहरूका लागि यो दिगो करियर हुन्छ। महिला फिटनेस ट्रेनरको माग निक्कै छ। यो कोर्स गरेर राम्रो कमाइ गर्न सकिन्छ’’, उनी भन्छिन्।

उनले सन् २०२३ मा दिल्लीमा भएको राष्ट्रिय स्तरको ‘बिग फिट’ प्रतियोगितामा प्रतिस्पर्धा गरिन् र चौथो स्थान पाइन्। गत वर्ष मुम्बईमा भएको ‘हाइरोक्स’ फिटनेसमा यस पहाड़ी भेकबाट प्रतिस्पर्धा गर्ने पहिलो महिला उनी थिइन्, जहाँ आफ्नो क्याटेगोरीमा चौथो भइन्। ‘हाइरोक्स’ विश्‍वमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको फिटनेस रेस हो, जसमा दौड़सहित आठ कार्यात्मक व्यायाम स्टेशन क्रमअनुसार पूरा गर्नुपर्छ।

अहिले ४२ वर्ष पुगेकी सुनन्दा दार्जीलिङमा महिला-पुरुषहरूलाई फिटनेस ट्रेनिङ गराउँछिन्। अनलाइनमा न्यूट्रिसन कोर्सहरू पनि गराउँछिन्। उनी फिटनेसको माध्यमबाट धेरै किसिमका मानिसहरूसित जोड़िएकी छिन्, धेरैको जीवनशैलीमा सकारात्मक परिवर्तन आएको देखेर आफ्नो कामसित औधी नै खुशी छिन्।

सुनन्दा तामाङले पुरुषप्रधान बडीबिल्डिङ क्षेत्रमा मेहनत, अनुशासन र आत्मविश्‍वासका साथ खेलाड़ी, प्रशिक्षक र निर्णायकका रूपमा अलग पहिचान बनाएकी छिन्। उनको यात्रा महिलाहरूका लागि प्रेरणा र समानताको सशक्त सन्देश हो।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ