बालविवाह गलत अभ्यास मात्र होइन- बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य र भविष्यप्रतिको ठूलो अन्याय पनि हो। बाल्यकाल सिक्ने, खेल्ने र सपना देख्ने समय हो, तर बालविवाहले यही सुनौलो समय खोसेर उनीहरूलाई समयअगावै जिम्मेवारीको भारी बोक्न बाध्य बनाउँछ। आधुनिकता, शिक्षा र प्रविधिको युगमा प्रवेश गरिसक्दा पनि कतिपय ठाउँमा परम्परा र अज्ञानताका कारण बालविवाहले जरा गाड़िरहेकै छ। यस कुप्रथालाई अन्त्य गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ, किनकि छोराछोरीको भविष्य निर्माणको पहिलो आधार नै घर-परिवार हो।
समयसँगै युग बदलियो, शिक्षा र चेतना बढ़्यो, समाज आधुनिकतर्फ अघि बढ़्यो, तर छोरीप्रतिको पुरानो दृष्टिकोण धेरै ठाउँमा अझै पूर्ण रूपमा परिवर्तन हुनसकेको छैन। आज पनि भारतका कतिपय क्षेत्रमा बालविवाह लुकीछिपी हुँदै आएको कुरा सञ्चारमाध्यमहरूमा बेला बखत सुनिन्छ। यस्ता विवाह प्रायः केटा-केटी पक्षका अभिभावककै सहमतिमा हुन्छन्। सरकारले बालविवाह रोक्न कड़ा कानून बनाएको भए पनि समाजको सोच, परम्परा र अभिभावकको मानसिकतामा परिवर्तन नआएसम्म यो कुप्रथा नियन्त्रणमा आउन सकेको छैन। त्यसैले बालविवाह रोकथामको सबैभन्दा महत्त्वपूर्ण आधार नै आमाबाबु हुन्।
कानुनी व्यवस्था र बालविवाह
भारतमा कानुनी रूपमा केटाको विवाह उमेर २१ वर्ष र केटीको १८ वर्ष रहेको छ। निर्धारित उमेरभन्दा कम उमेरमा गरिने विवाह बालविवाह हो, जुन कानुनी अपराध मानिन्छ। तर कानूनले मात्र समाज बदल्न सक्दैन। जबसम्म आमाबाबुले कानूनको महत्त्व बुझेर छोराछोरीप्रति जिम्मेवार बन्दैनन्, तबसम्म बालविवाह रोक्न कठिन हुन्छ।
बालविवाहको असर र अभिभावकको दायित्व
बालविवाहको असर सबैभन्दा बढ़ी छोरीहरूमाथि पर्छ। बाल्यकाल पढ़्ने, खेल्ने र शारीरिक-मानसिक विकास हुने समय हो। तर सामाजिक दबाव, गरिबी र अज्ञानताका कारण धेरै अभिभावक छोरीको बिहे सानै उमेरमा गरिदिन्छन्। यसले छोरीको बाल्यकाल खोसिन्छ, शिक्षा अधुरो रहन्छ र भविष्य सीमित बन्छ। त्यसैले बालविवाह रोकथामको पहिलो जिम्मेवारी अभिभावककै हो।
सोच परिवर्तनको आवश्यकता
बालविवाहका मुख्य कारण रूढ़ीवादी सोच र गरिबी हो। धेरै अभिभावक छोरीलाई आर्थिक बोझ ठान्छन् र चाँड़ैविवाह गरिदिए दायित्वबाट मुक्त भइन्छ भन्ने गलत धारणा राख्छन्। कतिपय ठाउँमा ‘‘बढ़ेको छोरीलाई घरमा राख्नु हुँदैन’’ भन्ने सोच अझै कायम छ। तर वास्तविकता के हो भने छोरीलाई शिक्षा दिएर आत्मनिर्भर बनाउनु नै अभिभावकको साँचो कर्तव्य हो। शिक्षित छोरीले मात्र आफ्नो अधिकार बुझ्न, भविष्य निर्माण गर्न र सम्मानित जीवन बिताउन सक्छे। अभिभावकले छोरीलाई बोझ होइन, भविष्यको शक्ति ठानेमा बालविवाह स्वतः घट्दै जान्छ। बालविवाह रोकथामकै लागि केन्द्र सरकारले ‘बेटी बचाओ बेटी पढ़ाओ’, पश्चिम बंगाल सरकारले ‘कन्याश्री प्रकल्प’जस्ता योजनाहरू संचालन गरिरहेको छ।
अभिभावकीय जिम्मेवारी
दार्जीलिङ पहाड़ी भेकमा बालविवाहको स्वरूप फरक देखिन्छ। यहाँ सुनियोजित वा बलजफ्तीभन्दा पनि सानै उमेरको प्रेम सम्बन्धका कारण बालविवाहको मामलाहरू पाइन्छ। किशोर-किशोरी भागेर विवाह गर्ने र अभिभावकले सामाजिक लाजका कारण सहमति दिने प्रवृत्ति देखिन्छ। यस्तो अवस्थामा आमाबाबुको भूमिका महत्त्वपूर्ण हुन्छ। छोराछोरीसँग खुला संवाद गर्ने, भावना बुझ्ने, सही मार्गदर्शन दिने र गलत निर्णयबाट बचाउने जिम्मेवारी अभिभावककै हुन्छ। अभिभावक सचेत भए सानै उमेरका धेरै विवाह रोकिन सक्छन्।
कालेबुङ जिल्लाकी डिस्ट्रिक्ट चाइल्ड प्रोटेक्सन अफिसर (डीसीपीओ) पुनम राईका अनुसार बालविवाह रोकथामका लागि स्कूलमा विद्यार्थीहरू अनि सामुदायिक स्तरमा नियमित सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिन्छ। १८ वर्ष वा २१ वर्षपछि मात्र विवाह गर्नुपर्छ भन्ने कानुनी प्रावधानका बारेमा विद्यार्थीहरू अवगत छन्। तरै पनि धेरैजसो किशोर-किशोरीहरू भागेर विवाह गर्ने गरेको पाइन्छ। बालविवाहका प्राय:जस्तो मामलाहरू पारिवारिक अवस्थासँग जोड़िएको पुनम राई बताउँछिन्। सोधपुछ गर्दा अधिकांश बालबालिकाका अभिभावकहरू अन्तर राज्य वा वैदेशिक रोजगारीमा गएका, आमाबाबु छुट्टिएका वा कान्छा बाबु, कान्छी आमा भएका वा विभाजित पारिवारिबाट समस्या रहेको पाइन्छ। उनका अनुसार, यस्ता बालबालिकाहरू आफ्नो परिवारबाट माया, सहयोग, हेरचाह नपाउँदा बाहिरी माया, सहयोग खोज्छन्। एउटा पूर्ण परिवार जहाँ बालबालिकाले माया, सहयोग, राम्रो हेरचाह, सुरक्षा पाउँछन्, यस्ता परिवारमा बालविवाहको मामला खासै नभएको उनको भनाइ छ।
पुनम राई भन्छिन्, ‘‘कार्यक्रमहरूमा बालविवाहका कानुनी र नकारात्मक पक्षबारे बुझाइन्छ। यसका साथै जीवनोपयोगी सीपमा पनि विशेष जोड़ दिएका छौं। सम्बन्धलाई कसरी सही तरिकाले व्यवस्थापन गर्ने, भावनालाई कसरी सम्हाल्ने, निर्णय क्षमताको विकास कसरी गर्ने जस्ता विषयहरूमा समेत प्रशिक्षण दिइरहेका छौं।’’ अहिले सोसल मिडियाबाट टाड़ाकासित सम्बन्ध स्थापित हुँदा छिटो विश्वास गर्दा समस्या सृजना हुनसक्छ। सबैभन्दा पहिलो प्राथमिक स्याहारकर्ता आमाबाबु भएका हुनाले बालबालिकाले उनीहरूलाई हेरेर सिक्ने उनी बताउँछिन्। ‘‘बालबालिकालाई आमाबाबुको माया, भावनात्मक सहयोग, हेरचाह, चाहिन्छ’’, उनी भन्छिन्।’’
बालविवाहको दुष्परिणाम
बालविवाहले बालबालिकाको जीवनमा गम्भीर असर पार्छ। विशेष गरी केटीहरू सानै उमेरमा गर्भवती हुँदा शारीरिक र मानसिक समस्यामा पर्छन्। कुपोषण, रक्तअल्पता, मातृ तथा शिशु मृत्यु, मानसिक तनावजस्ता समस्या यसको प्रत्यक्ष परिणाम हुन्।
सानै उमेरमा पारिवारिक जिम्मेवारी आउँदा शिक्षा रोकिन्छ, व्यक्तित्व विकास अवरुद्ध हुन्छ र आत्मनिर्भर बन्ने अवसर गुमाइन्छ। कतिपय बालिका बालविधवा हुन्छन् भने कतिपयले पतिबाट परित्यागको पीड़ा भोग्छन्। यी सबै समस्याको मूल जड़ बालविवाह हुँदा यसको रोकथाममा अभिभावकको सतर्कता आवश्यक छ।
कानुनी प्रयास
भारतमा बालविवाह रोक्न लामो समयदेखि कानुनी प्रयास हुँदै आएका छन्। राजा राममोहन राय र ईश्वरचन्द्र विद्यासागरजस्ता समाज सुधारकहरूले महिलाको अधिकार र बालविवाहविरुद्ध संघर्ष गरे। सन् १९२९ को शारदा ऐनदेखि २००६ को बालविवाह निषेध ऐनसम्म धेरै सुधार भए। हालको कानूनअनुसार बालविवाह गराउने, सहयोग गर्ने, भोज खाने र जानकारी लुकाउनेसमेत दण्डनीय अपराध हुन्। तर कड़ा कानून हुँदाहुँदै पनि बालविवाह भइरहेको मुख्य कारण- अभिभावकको मौन सहमति र सामाजिक दबाव हो।
आमाबाबुले के गर्न सक्छन्?
बालविवाह रोक्न आमाबाबुले निम्न भूमिका निर्वाह गर्न सक्छन्: १) छोरीलाई अनिवार्य रूपमा शिक्षा दिनु, २) छोराछोरीसँग खुला संवाद गर्नु, ३) समाजको दबावको सामना गर्नु, ४) कानुनी सहयोग, ५) सचेतना राख्नु, ६) आर्थिक कारणले विवाहको हतार नगर्नु, ७) समुदायमा चेतना फैलाउनु।
समाज र अभिभावकको संयुक्त पहल
बालविवाह अन्त्यका लागि कानून, सरकार र संस्थाको भूमिका भए पनि प्रभावकारी परिवर्तन परिवारबाट आउँछ। सड़क नाटकजस्ता माध्यमबाट चेतना फैलाउन सकिन्छ। तर शक्तिशाली माध्यम सचेत आमाबाबु हुन्। छोरीलाई सम्मान, शिक्षा र स्वतन्त्रता दिनु साँचो अभिभावकत्व हो। बालविवाह कानुनी होइन, सामाजिक र पारिवारिक समस्या हो। यसको समाधानको चाबी आमाबाबुको हातमा छ। अभिभावक सचेत र दृढ़ भए बालविवाह हुन सक्दैन।












