संगीतलाई जीवन बनाएका साधक अनिल फागो

Share this news

सञ्जय निरौला

दार्जीलिङ नेपाली संगीतको उर्वर भूमि हो, जहाँ स्वर र साधना सँगै हुर्किन्छन्। यही भूमिबाट निरन्तर अभ्यास, अनुशासन र समर्पणका साथ आफ्नो सांगीतिक यात्रा अघि बढ़ाइरहेका सर्जक हुन् अनिल फागो। गायनबाट संगीतकार हुँदै प्रशिक्षकका रूपमा स्थापित भएका अनिलको यात्रा आकस्मिक सफलता होइन, वर्षौँको साधनाको परिणाम हो। दार्जीलिङदेखि नेपालसम्म फैलिएको उनको योगदानले उनलाई आज एक जिम्मेवार कलाकार र समर्पित गुरुका रूपमा चिनाएको छ।

तेजमान फागो र कमला फागोका छोरा अनिल फागो दार्जीलिङ शहरदेखि लगभग ४० किलोमीटर टाढ़ा रेलिङ ग्रामको रेलिङमा सन् १९७९ तिर जन्मिएका हुन्। बाल्यकालदेखि नै कलाकार बन्न उत्सुक रहन्थे। प्राथमिक तहको शिक्षापछि हाई स्कूलमा पढ़्दा उनको कलाकारिता निखारियो।

‘‘संगीतले सम्पूर्ण चराचर जगतलाई मनोरञ्जन दिने भएको भए पनि यसलाई कदापि मनोरञ्जनको साधन मात्रै मान्नु हुँदैन’’

यस्तै ११ वर्षको सानो विद्यार्थी हुँदा विद्यालयको कार्यक्रममा पहिलोपटक माइक्रोफोन समातेर मञ्चमा प्रस्तुत भए। गायनको सुरताल जतासुकै लागेपनि त्यस कार्यक्रमले उनलाई कलाकार बन्ने ढोका खोलिदियो। परिवारको हौसला साथै काका सुमन सुब्बाको प्रेरणाबाट संगीतमा अघि बढ़ेको उनी बताउँछन्। अनिलको गायन यात्रा आफ्नो क्षेत्रबाट अन्यतिर बिस्तारै बढ़्न थाल्यो। आफ्नो गायिकीकै बलमा खप्पिस कलाकारहरू माझमा सन् १९९८ मा दार्जीलिङ गोर्खा पार्वत्य परिषदको आयोजनामा स्टुडेन्ट एण्ड युथ फेस्टिवलमा प्रथम हुँदासम्म अनिलको गलाले निक्कै सुरताल पक्रिन थालिसकेको थियो। सोही वर्ष संस्कृतिक मञ्च र गोर्खा सांस्कृतिक संरक्षण समिति लेबोङ दार्जीलिङद्वारा आयोजित प्रतियोगिता जिते। सन् १९९९ पछि गोर्खा दु:ख निवारक सम्मेलन दार्जीलिङद्वारा आयोजित गायन प्रतियोगिताको शास्त्रीय, आधुनिक गीतसँगै मौलिक भजनमा प्रथम बन्दै गायनप्रति थप प्रतिभा देखाए।

सम्मानित हुँदै संगीतकार अनिल फागो।

वाणिज्यमा स्नातक गरेका अनिलले गुरु प्रदीप छेत्रीमार्फत बंगीय संगीत परिषद कलकताबाट संगीतमा बी-म्यूज पूरा गरेका छन्। आफ्नो शिक्षालाई नोकरी खोज्नमा नखर्चिएको उनी बताउँछन्। उनी संगीत साधनालाई अझ विस्तार गर्ने सोच लिएर सन् २००८ तिर संगीतको शिक्षक बनेर नेपाल पसे। जहाँ उनले आफ्नो मनपर्दो विषयमा काम गर्ने अवसरहरू पाउन थाले। पूर्वी नेपालको झापा जिल्लास्थित बिर्तामोड़ र दमकमा संगीतको शिक्षक बनेर धेरै संगीतका सर्जकहरूसित नजिकिए। विद्यार्थीहरूलाई तालिम दिँदै आफ्नो अभ्यासलाई निरन्तरता दिए।

सन् २००९ मा भुपेन्द्र तिमसिनाद्वारा निर्देशित तथा मणिकमल छेत्रीद्वारा संगीतवद्ध टेलि चलचित्रको शीर्षक गीत ‘जीवन जिउनेहरूका लागि’ गीत गाए, जसले धेरैको मन छोयो। त्यसपछि सन् २०११ मा ‘सुरा’ संयुक्त अनि सन् २०१३ तिर आफ्नै स्वर र संगीतमा एकल एल्बम ‘रचना’  बजारमा ल्याए।

संगीतसँगै आफ्नो जीवन यात्रालाई अघि बढ़ाउने सोच राखेका अनिलले आफ्नो लागे मात्रै होइन संगीतप्रति चासो राख्नेहरूका निम्ति सुर लगाउन संगीतकै विद्यालय खोले। यसै क्रममा संगीत सर्जकहरूसँगै आफूले सिकाएका विद्यार्थी, अविभावक एवं हितैसीहरूको हौसलामा सुपरिचित संगीतकार मणिकमल छेत्रीसँगको छत्रछायाँमा विसं २०७० अर्थात सन् २०१४ मा दमकमा शुरु गरे ‘सुरभी संगीत विद्यालय’। जसको माध्यमबाट वर्षेनी धेरै विद्यार्थीहरू ख्यातिप्राप्त गायन रियालिटीको शोहरू पुग्छन्। यसमा सारेगमप, इण्डियन आइडलजस्ता ठूला मञ्चमा ख्याति कमाएकी मेनुका पौडेल, भोइस अफ् नेपाल सिजन-५ का विजेता बिनोद राई सामेल छन्। यस्तै ‘राई माइलाले गाउँ छाड़्यो है’, ‘भुइँ सोरी ढोगे है’जस्ता चर्चित गीत गाइसकेकी सुनिता थेगिम र उज्ज्वल सागरले उनीबाटै तालिम लिएका हुन्।

इमान्दारिता र साधनालाई सफलताको खुड़ि्कलो मान्ने अनिलले पहिला संगीतलाई आफ्नो मनपर्ने क्षेत्र मानेर अघि बढ़ेर संगीतकै माध्यमबाट जीवन हाँकिरहेका छन्। उनी भन्छन्, ‘‘संगीतले सम्पूर्ण चराचर जगतलाई मनोरञ्जन दिने भएको भए पनि यसलाई कदापि मनोरञ्जनको साधन मात्रै मान्नु हुँदैन। जसलाई पूर्ण रूपमा अनुशासनको साथमा साधनाका साथ अघि लैजानुपर्छ। यसको साथमा सकेसम्म आफ्नोपन भित्र्याएको हुनुपर्छ।’’ उनी अझ भन्छन्,  ‘‘आजको समयमा ग्लोबल मञ्च छ, तर त्यो कदापि स्थिर भने छैन त्यसैले यसलाई कसरी प्रयोग गर्ने हो त्यो सर्जकमै निर्भर छ।’’ यसैले उनी संगीतमा काम गर्ने सोचाइ भएका युवा कलाकारहरू पहिला भाइरलको पछि होइन काम सिक्नेको पछि लाग्नुपर्ने सुझाव राख्छन्। यसका साथै यो क्षेत्र निक्कै फराकिलो रहेको अनुभव साझा गर्छन्।

दार्जीलिङमा संगीतका पारखीहरूको कमि नभए पनि संगीत सर्जकहरूको संरक्षणको कमिलाई महसुस हुन् नदिन पूर्वाधारको निम्ति सम्बन्धित विभागहरूको नजर पुग्नुपर्ने विचार राख्छन्। यद्यपि हालका दिनहरूमा दार्जीलिङमा म्यूजिक स्टुडियोहरू खुल्न थालेकोले आशाको किरण जागेको बताउँछन्। नेपालको संगीतको ठूलो मैदान देखेको बताउने अनिललाई पुरानो भनाइजस्तै ‘‘दार्जीलिङको कलाकारलाई कि कालले कि नेपालले तान्छ’ भन्ने भनाइले घोचिरहन्छ।

आधुनिक गायनप्रति आफ्नो स्वर मिलेको अनुभव गर्ने अनिलले आफ्नो एल्बमबाहेक लगभग दुई दर्जनभन्दा बढ़ी गीतहरू गाइसकेका छन्। गायन साथै संगीतमा खप्पिस रहेका अनिलद्वारा संगीतवद्ध गीतहरू रचना रिमाल, शिव परियार, बिनोद राई, सम्झना ओली, राजेश पायल राईलगायतका ख्यातिप्राप्त गायक-गायिकाहरूले गाएका छन्।

संगीतसँगै उनको दक्षता साहित्यिक रचनामा पनि उत्तिकै देखिन्छ। जसमा कविता, गीत, भजन रचना सामेल छन्। आध्यात्मिक सोचका साथ अघि बढ़्ने अनिलको पहिलो कविता बाल्यकालमा मानव धर्म पत्रिकामा छापिएको थियो। त्यसपछि उच्च माध्यमिक  र महाविद्यालय स्तरमा पढ़्दा धेरै साहित्यिक सृजनाहरू रचे। जुन त्यसताक नेपाली पत्रपत्रिकामा छापिने गर्दथ्यो। यस्तै सहयोगीहरूको सहयोगमा समसामयिक पत्रिका ‘तरेली’ प्रकाशित हुन्थ्यो।

संगीत र साहित्यप्रति उनको योगदानका कारण रिम्बिक लोधोमा समष्टि सम्मान समिति, ज्ञानकुञ्ज बुक्स खरसाङ, आदित्य विक्रम गुमानसिह चामलिङ सालिक संरक्षण समिति, वैशाख महोत्सव समिति मल्ली दक्षिण सिक्किम, भूतपूर्व विद्यार्थी संघ,  पथरी मोरङ नेपालबाट ख्यातिप्राप्त सी एम कन्दङवा युवा राष्ट्रिय प्रतिभा पुरस्कार, नक्षत्र फाउन्डेसन अमेरिकीद्वारा भुटानी रिफ्युजी सिङिगिङ आइडल २०२३, रेलिङ कैंजले समष्टि आइडल सम्मान २०२५ लगायत सिक्किम दार्जीलिङ, खरसाङ नेपाललगायत विभिन्न स्थानहरूबाट दुई दर्जनभन्दा बढ़ी पुरस्कार र सम्मानले सम्मानित भइसकेका छन्।

आजको डिजिटल र छिटो चर्चाको युगमा पनि अनिल फागो संगीतलाई क्षणिक मनोरञ्जन होइन, दीर्घ साधनाको यात्रा ठान्छन्। उनी स्वयं गायक, संगीतकार र सर्जक मात्र होइनन्, भविष्यका कलाकारहरूलाई सही बाटो देखाउने गुरु पनि हुन्। स्वर र शब्दलाई अनुशासनसँग जोड़ेर अघि बढ़्ने उनको दृष्टिकोणले नयाँ पुस्तालाई भाइरलभन्दा मूल्यवान् सिर्जनाको बाटो देखाइरहेको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ