काठमाडौँ — आधुनिक जीवनशैली र असन्तुलित खानपानका कारण निःसन्तान समस्या विश्वव्यापी रूपमा बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर १७.५ प्रतिशत व्यक्ति निःसन्तान समस्याबाट प्रभावित छन् । औसतमा, प्रत्येक ६ जनामध्ये एकजनाले आफ्नो जीवनकालमा निःसन्तानको अनुभव गर्ने गरेका छन् ।
डब्ल्यूएचओका अनुसार, यदि कुनै दम्पतीले लगातार १२ महिना वा सोभन्दा बढी समयसम्म नियमित असुरक्षित यौन सम्पर्क राख्दा पनि गर्भधारण नभएमा त्यसलाई निःसन्तानको समस्या मानिन्छ । पछिल्लो समय चिकित्सा विज्ञानले यस समस्याको समाधानका लागि विभिन्न प्रविधि विकास गरिसकेको छ ।
निःसन्तान समस्या पहिलाभन्दा गम्भीर बन्दै गए पनि आधुनिक प्रविधिको प्रयोगले समाधान सम्भव छ । आईयूआई र आईभीएफ विधि प्रयोग गरी हजारौं दम्पतीले सन्तान सुख प्राप्त गरिरहेका छन् । चिकित्सकसँग परामर्श लिएर उचित उपचार विधि अपनाएमा निःसन्तानताको समस्या समाधान गर्न सकिन्छ ।
उपचार विधि
निःसन्तानताको समस्या पहिचान गर्न सबैभन्दा पहिला दम्पतीमा समस्या के छ भन्ने कुरा पत्ता लगाउनु आवश्यक हुन्छ । कतिपय अवस्थामा शारीरिक सम्पर्क राख्ने सही समय नमिल्दा मात्र पनि गर्भ रहन नसक्ने भएकाले यसलाई सामान्य चिकित्सकीय सल्लाहले समाधान गर्न सकिन्छ ।
यदि पुरुषको शुक्रकीटमा केही कमजोरी देखिएमा तीनदेखि छ महिनासम्म औषधि दिएर उपचार गरिन्छ । कतिपय अवस्थामा औषधिले मात्र पनि सकारात्मक परिणाम दिन सक्छ ।