पर्यावरणको सन्देशसँगै बोतलभित्र कला जन्माउने विजय

Share this news

युवा दर्पण 

सञ्जय प्रधान⇒ 

 

जुन बोतल र बल्बहरू सामान्यतया फालेर फोहोर बनाइन्छ, त्यही बेकार वस्तुहरूबाट पूर्व सिक्किमको दुर्गम गाउँ रोलेपका २६ वर्षीय विजय राईले कला जन्माइरहेका छन्। उनले काँच र प्लास्टिकको बोतल, बिग्रिएका बिजुलीका बल्बहरूजस्ता फोहोरको रुपमा फालिने वस्तुहरूलाई पुनः जीवन दिन्छन्- बोतलभित्रै कटेज, नौका, ताजमहलदेखि फूल र एब्स्ट्र्याक्ट कला सिर्जना गरेर। यसरी उनले केवल सजावटका लागि मनमोहक हस्तकला बनाइरहेका छैनन्, बरु फोहोर व्यवस्थापन, पुनः प्रयोग र पर्यावरण संरक्षणको सन्देश पनि दिइरहेका छन्।

बोतलभित्र कला जन्माउने विजय राई।

‘‘कला मेरो जीवनको अंग बनेको छ’’

वीरमान राई र स्व. गंगामाया राईका छोरा विजय राईले बोतलभित्रको हस्तकला गर्छन्, जसलाई बोटल आर्ट वा बोटल्ड क्राफ्ट्स भनिन्छ। कतिले बोतलको बाहिरी भाग रंगरोगन गरेर कलात्मक बनाउँछन् भने कतिले भित्रै कलाकृति सिर्जना गर्छन्। बोतलभित्रको हस्तकला जटिल र प्रयोगात्मक कला हो। सानैमा आमा बितेपछि मामा विकास राईसित बस्दै आएका उनले रोलेपकै सेकेन्डरी स्कूलमा १० कक्षा पढ़ेर छुजाचेन सिनियर सेकेन्डरीमा १२ कक्षा उत्तीर्ण गरे। सानो विद्यार्थी हुँदादेखि नै चित्र बनाउँथे, तर चित्रकला सिकाउने कोही थिएनन्, आफैं गरिरहन्थे। १२ कक्षामा पुगेपछि उनले चित्रकलामा चाहिने एक्रेलिक, वाटर, ओयल कलर, ब्रस, क्यानभस, पेपरबारे बुझे।

१२ कक्षा सकेर कलेज पढ़्न गान्तोक गए र त्यहीँबाट बुर्तुकको सिक्किम सरकारी महाविद्यालयबाट नेपालीमा एमए पूरा गरे। कलेज पढ़दाखेरि पनि चित्रकलालाई निरन्तरता दिँदै बोतल आर्ट शुरु गरे। बोतल आर्ट उनले आफैँ सिके। उनी भन्छन्, ‘‘हलिवुड फिल्मका दृश्यहरूमा बोतलभित्र जहाज देखेको थिएँ। त्यो देख्दा बोतलभित्र पनि कला सृजना गर्न सकिँदो रहेछ भन्ने बुझें। पहिला बोतलभित्र कागज हालेर जहाज, घर, फूल बनाउँथे।’’ यसरी अभ्यास गर्दा हात बस्न थालेपछि बाँस प्रयोग गर्न थाले। आफ्नै गाउँका प्राकृतिक दृश्य, कटेज र पर्यावरणसँग जोड़िएका दृश्य बोतलभित्र कस्तो देखिन्छ भन्ने विचार गर्न थाले।

बोतल आर्टमा पहिला उनले नौका बनाए, राम्रो बन्यो। उनी भन्छन्, ‘‘सामान पुग्दो छ भने बनाउन सजिलो रहेछ भन्ने बुझें।’’ त्यसपछि उनी रोकिएनन्। अहिले बिजुलीको बल्ब, काँच र प्लास्टिकको बोतलभित्र बाँसको कटेज, नौका, ताजमहल, फूललगायत विभिन्न एब्स्ट्रयाक्ट कला बनाउँछन्। सानो पातलो डन्ठी, फेविकोल र अस्पतालमा प्रयोग गरिने पातलो कैंचीमा बाँस जोड़ेर औजारको रुपमा प्रयोग गर्छन्। भूइँका लागि खोलाको मसिनो ढुंगा धोएर प्रयोग गर्छन्। आराको भुसमा फेविकोल र रंग मिसाएर रुख र घाँस बनाउँछन्। यसरी उनले बोतलभित्रको कलालाई जीवन्त बनाउँछन्। एउटा बनाउन करिब हप्ता दिनदेखि १२ दिनसम्म लाग्छ। यस्तो हस्तकला सजिलो छैन। उनका कलाकृतिहरू घर, होमस्टे, होटल, कार्यालय सजावट र उपहारका लागि उपयोगी छन्। उनी भन्छन्, ‘‘कुनै बेला बिग्रिन्छ पनि, तर धैर्य हुनुपर्छ।’’

जतासुकै फालिने रक्सीको बोतल, प्लास्टिकको बोतल प्रयोग गर्छन्, यसैमा आकर्षक कला सृजना गरेर घरमा सजाउन लायकको बनाउँछन्। यसो गर्नुको कारण हो बोतलहरू जतासुकै फालेर फोहोर नगरौं र यसलाई पुन: प्रयोग गर्न सकिन्छ भन्ने उनको सन्देश सबैका लागि हो। प्रयोग गरिसकेका बोतलहरू कलाकारिता साथै अन्य कामहरूका लागि प्रयोग गर्न सकिन्छ भन्ने उनले आफ्नो कलाको माध्यमबाट सबैलाई जागरुक गराउने कार्य गरिरहेका छन्। आफ्नो कलाको माध्यमबाट उनले पर्यावरण संरक्षणको पनि आह्वान गर्छन्।

विजयले यस्तो बोतल आर्ट गरेको छ वर्ष भइसकेको छ। अहिलेसम्म यसको खासै प्रदर्शनी गरेका छैनन्। तर स्कूलतिर गएर विद्यार्थीहरूलाई देखाउँछन् र यस कलाको बारेमा बताउँछन्, सिकाउँछन्। उनी विद्यार्थीहरूलाई फोहोरको रुपमा फालिने बोतलहरूलाई पुन: प्रयोगमा ल्याउन सकिन्छ भन्नेबारेमा जानकारी गराउँछन्। बोतल आर्टको प्रदर्शनी उस्तो गरेका छैनन्, तर चित्रकलाको प्रदर्शनी सिङताम, एमजी मार्गमा गरेको उनी बताउँछन्। उनले बोतल आर्ट बनाएर राख्छन्, सो बिक्री पनि हुन्छ। उनी सोसल मिडियाबाट राम्रो सम्पर्कमा छन्। उनी पेन्टिङमा पोट्रेट, ल्याण्डस्केपहरू बनाउँछन्। उनका अनुसार, रोलेपमै बसेर सिक्किमभित्र, दार्जीलिङ, सिलगढ़ी, दिल्ली साथै विदेशमा अस्ट्रेलिया, कुवेतबाट पेन्टिङको अर्डर पाउँछन्। कतिले सोधखोज गरेर पनि अर्डर दिन्छन्।

उनी भन्छन्, ‘‘यदि कसैलाई आफ्नै घरको मोडल बोतलभित्र बनाउन परे सो गरिदिन्छु।’’ धेरैले एमए सकेपछि सरकारी नोकरीको पछि दौड़िन्छन्, तर गत वर्ष २०२४ मा एमए सकेका विजयलाई सरकारी नोकरीको पछि कुदिहिँड़्नु परेको छैन। उनको कला नै दह्रो रोजगारको साधन भएको छ। आफ्नो कलालाई निरन्तर अघि बढ़ाएर लैजाने यात्रामा छन्। कलालाई जीवनभर आफूसितै टँसाएर राख्न चाहन्छन्, र भन्छन्, ‘‘कला मेरो जीवनको अंग बनेको छ।’’ कलालाई आफूसितै राख्न उनले अरु कुनै सरकारी नोकरी खोजेका छैनन्। उनी शिक्षकको पेशा मन पराउँछन्, र भन्छन्, ‘‘शिक्षण पेशामा चित्रकलाको लागि समय पाउँछु, र विद्यार्थीहरूलाई पनि सिकाउने मौका पाउँछु।’’ आफ्नो कला साना साना विद्यार्थीहरूलाई सिकाउने उनको चाहना छ।  उनी पर्यावरण संरक्षणको लागि पनि सचेत छन्। आफ्नो क्षेत्रमा चेरीका रुख साथै अन्य रुखहरू रोपेका छन्। उनी भन्छन्, ‘‘हामीले आफ्नो ठाउँ साथै पृथ्वीप्रति माया देखाउनुपर्छ।’’

फोहोरको रुपमा फालिने वस्तुलाई पुनःप्रयोग गरेर कला जन्माउने विजय राईले सिद्ध पारेका छन्- सिर्जनशीलता र धैर्य भए दुर्गम गाउँमै बसेर पनि रोजगारी र सन्देश दुवै दिन सकिन्छ। बोतलभित्रका उनका कलाकृतिहरू केवल सजावट होइन, पर्यावरण संरक्षण र चेतनाको सशक्त माध्यम हुन्।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ