साहित्य, संगीत र रङ्गको त्रिवेणीभित्र सूरज मोक्तान

Share this news

युवा दर्पण 

सञ्जय प्रधान

चित्रकारिता केवल रङ्ग र रेखाको खेल होइन, यो कलाकारको आत्मा बोल्ने माध्यम हो। वर्षौंको साधना, धैर्य र मौन संघर्षले जन्मेका चित्रहरूले जीवनका कथा सुनाउँछन्। समाज, संगीत, साहित्य र समयलाई एउटै रङ्गमा बाँध्ने क्षमता राख्ने कलाकार सूरज मोक्तानका चित्रहरूले गहिरो अनुभूति दिन्छन्।

‘‘साहित्य, संगीत र चित्रकला एक-अर्कासँग गाँसिएका छन्। यी तीनै गंगा, जमुना र सरस्वतीजस्तै हुन्…’’

दार्जीलिङ सिंहमारीको लिम्बू गाउँमा जन्मिएका सूरज मोक्तानको परिवारमा खासै चित्रकारिताको वातावरण थिएन। दाज्यू अशोक मोक्तानले चित्र बनाउँथे। दाज्यू बजार गएका बेला उनकै रङ्ग-ब्रस निकालेर चित्र बनाउन बस्थे, यसरी नै चित्रकलाप्रति प्रेरित भए। स्व० कृष्णबहादुर मोक्तान र स्व० असारमति देवानका छोरा सूरज मोक्तानले सिंहमारीकै स्कट्स मिशन स्कूलमा प्राथमिक शिक्षा लिए, सन्त रोबर्ट्स स्कूल हुँदै दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातक गरे। सानो विद्यार्थी हुँदा बेलुकी ढुङ्ग्रे पेन लिएर चित्र बनाउँथे, बाबु कराउँथे। घरमा हप्काउँछन् भनेर राति सबै सुतेपछि पढ़ेको जस्तो गरेर चित्र बनाउँथे, पुराना दिन सम्झिँदा उनी हाँस्छन्। त्यतिबेला ‘चित्रकार दुखिया हुन्छ’ भन्ने मानसिकता समाजमा थियो।

‘‘सन्त रोबर्ट्स स्कूलमा जुडोका चर्चित सेन्सी पुरण पल वर्क एजुकेशनका शिक्षक थिए। त्यहाँ उनले बनाएका ग्यालरीमा विद्यार्थीहरूले बनाएका चित्रहरू, हस्तशिल्पहरू राखिन्थ्यो’’, स्कूलको कुरा सम्झिन्छन् सूरज मोक्तान। कक्षा पाँचमा चित्र बनाउँदा साथीहरूले राम्रो बनाउँछ भनेर हल्ला गर्दा डराउँथे। विज्ञानको कक्षामा शिक्षकले ब्ल्याकबोर्डमा नक्सा बनाउन लगाउँथे र हौसला दिन्थे। यस्तै हौसलाले चित्र बनाउँदै गए अनि निखारिँदै गए।

चित्रकलाको औपचारिक तालिम लिएनन्, तर उनका वाटर कलरका चित्रहरूले दक्षता र स्तरीयतालाई स्पष्ट पार्दछ। उनी वाटर कलर, ओयल कलर, पेन, पेन्सिल प्रयोग गर्छन्। उनका ल्याण्डस्केप, पोट्रेट, एब्स्ट्रयाक्ट चित्रहरू हेर्दा चित्रभित्रै छिरेको जस्तो लाग्छ। तरै पनि भन्छन्, ‘‘कोर्स गर्नुपर्ने थियो।’’ दार्जीलिङमा बीएड गर्दा इलेक्टिभ सब्जेक्ट फाइन आर्ट लिएका थिए। बीएड कलेजमा एकजना माइती सर प्रतिभाशाली थिए र उनीबाट धेरै प्रेरणा पाउँथे।

दार्जीलिङका दिग्गज चित्रकारहरूको संसर्गमा आएर सन् १९७५-७६ तिर दार्जीलिङमा पहिलो प्रदर्शनी गरे। सो बेला उनी १० कक्षाका विद्यार्थी थिए र सबैभन्दा कान्छो चित्रकार थिए। सो बेला दार्जीलिङमा चित्रकलाको वातावरण सशक्त थियो, वर्षमा दुईपल्ट प्रदर्शनी हुन्थ्यो। पुरानो चित्रकलाको रमाइलो क्षण सम्झँदै भन्छन्, ‘‘गुड्डी रोड़मा भोटु दाज्यू (सुपरिचित चित्रकार भोटु प्रधान)को घरमा ‘आर्ट सर्कल’ खोलिएको थियो। त्यहीं दिग्गज चित्रकारहरूसित चिनजान भयो।’’

सूरज मोक्तान कक्षा आठमा हुँदा हेडेन हलमा भएको ‘जी डगलस आर्ट कम्पिटिशन’मा  करिब ५० जना विभिन्न स्कूलका विद्यार्थीहरू सहभागी थिए। उनले वाटर कलरले बनाएको ल्याण्डस्केप ‘नेपाली भिलेज’ सबैले प्रशंसा गरेका थिए। तर उनले शान्तवना पुरस्कार पनि पाएनन्। पुरस्कारै नपाएका सूरज मोक्तान आज चित्रकारितालाई साहित्यको कभर पृष्ठमा बोकेर हिँड़िरहेका छन्। उनी भन्छन्, ‘‘जीवनमा पुरस्कार वा सम्मान मात्र ठूलो होइन। आफूले गरेको चित्रकलामा कति योगदान छ र कति सन्तुष्टि छ, त्यसको मोल हुने रहेछ। म निरन्तर काम र सिकाइमै छु। शुभचिन्तकहरूको शुभकामना काम लागिरहेको छ।’’ चित्रहरू बिक्रीबाट आएको रकम चित्रकलाकै उच्च गुणस्तरका सामग्री किन्न खर्चिन्छन्। दार्जीलिङमा हुँदा नाटक र विभिन्न कार्यक्रमका फेस्टुनहरू लेख्थे।

सन् १९८९ मा गोर्खाल्याण्ड आन्दोलन सकिए पनि गोर्खा र नेपाली नामलाई लिएर विवाद चर्किएको थियो। नेपाली नाम हटाएर गोर्खा लेख्न दबाव थियो। साँढ़ेको जुझाइ बाछाको मिचाइझैँ अवस्था बन्यो। सोही वर्ष सूरज मोक्तानले ‘वान म्यान शो’ चित्रकला प्रदर्शनी नेपाली साहित्य सम्मेलनमा राखेका थिए। त्यहाँ प्रदर्शनी राखिएकाले उनका पोस्टर र फेस्टुनहरू च्यातिए, प्रदर्शनी दुई दिनमै सक्नु पर्‍यो। यसपछि जसोतसो गरेर दार्जीलिङ नगरपालिकाको कन्फरेन्स हलमा एक हप्ता प्रदर्शनी राखियो। यस प्रदर्शनीमा प्रायः सबै चित्र बिक्री भएको उनी बताउँछन्।

दार्जीलिङमा खासै अवसर नदेख्दा सूरज मोक्तान सन् १९९३ मा नेपाल काठमाड़ौंतिर लागे। काठमाड़ौंको कलंकीमा उनले ‘एल आर इन्टरनेशनल स्कूल’मा शिक्षकको काम गरे। आफ्नो कार्यदक्षता र इमान्दारीले सोही स्कूलमा भाइस प्रिन्सिपल बने। काठमाड़ौंमा उनले शिक्षाको क्षेत्रमा जिल्ला शिक्षा कार्यालयबाट जिल्ला शिक्षा पुरस्कार, काठमाड़ौंबाटै शिक्षा मन्त्रालयबाट राष्ट्रिय पुरस्कार प्राप्त गरे। सन् १९९७-९९ सम्म नेपालको एसएलसी परीक्षाका लागि चित्रकला प्रश्‍नपत्र तयार गरे। नेपालमा झन्डै दुई तीन किलो ओयल पेन्टहरू सुकेर फ्याँक्न परेको उनी बताउँछन्।

सन् २००७ मा नेपालबाट फर्किएर दार्जीलिङ आए। कलकता घुम्न जाँदा उनकी श्रीमती डा0 साङ्मु लेप्चाले, ‘‘अब तपाईंको पुनर्जन्म गरिदिन्छु’’ भन्दै रङ्ग र ब्रसहरू किनिदिए। डा० साङ्मु लेप्चाले सन् २०२५ को बाल साहित्य एकाडेमी पुरस्कार प्राप्त गरेकी हुन्। चित्रकलामा वाटर कलर गाह्रो हो, तर सूरज मोक्तान यसैमा निरन्तर लागे। उनका उत्कृष्ट चित्रहरू उनको फेसबुक पेजमा हेर्न सकिन्छ। उनी स्थानीयदेखि लिएर विश्‍वका श्रेष्ठ चित्रकारहरूको काम हेर्छन् र अध्ययन गर्छन्।

दार्जीलिङमा सन् २०१२ मा प्रदर्शनीमा चित्र राखेका थिए। सिलगढ़ी नजिक डागापुरमा बस्न थालेपछि चित्रकारितालाई तेज रफ्तार दिएका छन्। दर्जनौं पुस्तकहरूको आकर्षक आवरण चित्र बनाएर कला र साहित्यबीचको अविछिन्न सम्बन्धलाई जोड़्दै चित्रकारितालाई साहित्यको मौन सहयात्री बनाएका छन्। यसैले उनी नाम्चीको ‘कला साहित्य संस्थान’द्वारा ‘उत्कृष्ट आवरण सृजना पुरस्कार-२०२५’ले सम्मानित भइसकेका छन्।

सूरज मोक्तानका चित्रहरू हिमाली जनजीवन, प्राकृतिक सौन्दर्य, वन-जंगल र पर्यावरणसित सम्बन्धित हुन्छन्। चित्रकारिताभन्दा अघि संगीतसित सम्बन्ध भएका उनी गीतकार साथै संगीतकार हुन्। उनको संगीतमा ‘बिस्कुन साइनोको’, ‘मेसेज’, ‘सल्लेरीका सुसाइहरू’ एल्बमहरू निस्किसकेका छन्। उनीद्वारा रचित बालगीत ‘सपनाको घर’ निक्कै चल्यो। सुरज मोक्तान र कवि तथा गीतकार कमल रेग्मीहरूद्वारा सन् २०१२ मा स्थापित भएको ‘सप्तरङ्गी समूह’ले स्वर साम्राज्ञी अरुणा लामा र शरण प्रधानको स्मृतिगन्थ ‘अरुणिमा’ प्रकाशित गरेको छ।

‘‘साहित्य, संगीत र चित्रकला एक-अर्कासँग गाँसिएका छन्। यी तीनै गंगा, जमुना र सरस्वतीजस्तै हुन्’’, उनी भन्छन्, ‘‘साहित्य र चित्रकलाको सम्बन्ध हेर्दा साहित्यको आवरण चित्रकला हो। साहित्य र संगीतको सम्बन्ध हेर्दा संगीतका शब्द साहित्यबाट आउँछन्। त्यस्तै, संगीतमा जस्तै साहित्य र चित्रकलामा पनि रिदम हुन्छ। त्यसैले यी तीनै कला एक-अर्कासँग जोड़ि्एका छन्।’’

उनी भन्छन्, ‘‘चित्रकारिता स्वतन्त्र रुपमा एक्लै गर्नसक्ने विधा हो।’’ पहाड़मा चित्रकलालाई सही रुपमा बुझाउनेबारेमा उनी भन्छन्, ‘‘सबैभन्दा पहिला घरबाट शुरु गर्नुपर्छ। आफ्नो नानीहरूलाई चित्रकला भनेको के हो त्यो बुझाउनुपर्छ। ठूलै मान्छे पनि फोनमा बढ़ी लागे सृजनात्मकता घट्छ। स्कूलहरूमा पार्टटाइम नै भए पनि आर्ट टिचर राखिदिए राम्रो हुनेछ।’’ वर्षमा  एकैपल्ट भए पनि जीटीएजस्ता क्षेत्रीय प्रशासनले प्रदर्शनी आयोजना गरिदिए, दार्जीलिङमा एउटा ग्यालरी भए राम्रो हुने उनको भनाइ छ।

सूरज मोक्तानको चित्रकारिता दृश्य सौन्दर्य मात्र होइन, समय, समाज र संवेदनाको मौन अभिव्यक्ति हो। पुरस्कारभन्दा साधनालाई ठूलो मान्ने उनको कला-यात्राले साँचो सिर्जना श्रम, इमान्दारी र आत्मसन्तुष्टिबाट जन्मिन्छ भन्ने सन्देश दिन्छ। संगीत, साहित्य र चित्रकलालाई एउटै सासमा बाँध्दै उनले आउँदो पुस्ताका लागि प्रेरणाको उज्यालो बाटो कोरेका छन्।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ