
दार्जीलिङ पहाड़का शहरी क्षेत्र, गाउँ-बस्ती, चियाबारीहरूमा महिलाहरू व्यस्त र चुनौतीपूर्ण जीवन बिताउँछन्। उनीहरूको दिन प्रायः सूर्योदय हुनुअघि नै शुरु हुन्छ र राति ढिलोसम्म चलिरहन्छ। खाना पकाउने, सरसफाइ गर्ने, बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने, चियाबारी, विद्यालय, अस्पताल, पसल वा घरमा काम गर्ने- सधैँ केही न केही काम भइरहन्छ। यस्तो व्यस्त दैनिक जीवनमा निद्रालाई प्रायः पछि धकेलिन्छ। धेरै महिलाहरू कम्ति सुत्नु सामान्य र आवश्यक नै हो भन्ने विश्वास गर्छन्। तर निद्रा विलासिता होइन। यो शरीर र मनका लागि आधारभूत आवश्यकता हो।
निद्रा केवल कति घण्टा सुत्यो भन्ने कुरामा मात्र निर्भर हुँदैन, कहिले सुत्यो भन्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। मानव शरीरले प्राकृतिक रूपमा दैनिक घड़ीअनुसार काम गर्छ। विशेष गरी राति 10 बजेदेखि बिहान दुई बजेसम्म शरीरले आफ्नो सबैभन्दा महत्त्वपूर्ण मरम्मत कार्य गर्छ। यस समयमा मस्तिष्कले आराम गर्छ, मुटुको धड्कन सुस्त हुन्छ, मांसपेशीहरू निको हुन्छन्, र शरीर भित्रबाटै सफा हुन्छ। तनाव, मनोदशा, रोगप्रतिरोधक क्षमता र ऊर्जालाई नियन्त्रण गर्ने हर्मोनहरू यी घण्टाहरूमा सन्तुलनमा आउँछन्। जब महिलाहरू राति ढिलोसम्म जागा बस्छन्, शरीरले यो उपचारात्मक समय गुमाउँछ। बिहान धेरै बेर सुत्दा पनि क्षति पहिले नै भइसकेको हुन्छ।
‘‘खराब निद्राले रोगप्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँछ र उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी समस्या, चिन्ता र अवसाद (डिप्रेसन)को जोखिम बढ़ाउँछ’’
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, वयस्कहरूले हरेक रात सात देखि आठ घण्टा सुत्न आवश्यक हुन्छ। अध्ययनहरूले यो पनि देखाएका छन् कि महिलाहरू पुरुषहरूभन्दा बढ़ी निद्रा सम्बन्धी समस्याबाट पीड़ित हुन्छन्। भारतमा आधाभन्दा बढ़ी महिलाहरू हरेक रात छ घण्टाभन्दा कम सुत्छन्। पहाड़ी क्षेत्रहरूमा धेरै महिलाहरू सधैं थकित महसुस गर्छन्। उनीहरू टाउको दुख्ने, शरीर दुख्ने, राम्रोसँग निद्रा नलाग्ने, रिस उठ्ने, बिर्सने बानी र कम मनोबलजस्ता समस्याहरूको गुनासो गर्छन्। यी लक्षणहरूलाई प्रायः बेवास्ता गरिन्छ वा दैनिक जीवनको एक हिस्सा भनेर स्वीकार गरिन्छ।
आजको समयमा खराब निद्राको एउटा मुख्य कारण राति मोबाइल फोनको प्रयोग हो। धेरै महिला र केटीहरू राति ढिलोसम्म सामाजिक सञ्जाल स्क्रोल गर्छन्, भिडियो हेर्छन् वा कुराकानी गर्छन्। मोबाइल फोनको स्क्रिनबाट निस्कने उज्यालोले दिमागलाई अझै दिनको समय भएको जस्तो भ्रममा पार्छ। यसले निद्रा ढिलो लाग्छ र विश्रामलाई अपर्याप्त बनाउँछ। विशेषगरी साना केटीहरू यसबाट बढ़ी प्रभावित हुन्छन्। उनीहरू ढिलो सुत्छन् र विद्यालय वा घरायसी कामका लागि चाँड़ै उठ्नुपर्छ, जसका कारण ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ, थकान महसुस हुन्छ र भावनात्मक तनाव बढ़्छ।
अर्को ठूलो समस्या मानसिक तनाव हो। शारीरिक काम सकिएपछि पनि महिलाहरूको मनले आराम मान्दैन। पैसाको चिन्ता, छोराछोरीको पढ़ाइ, स्वास्थ्य समस्या र पारिवारिक जिम्मेवारीहरूको सोच रातभरि चलिरहन्छ। यसले दिमाग सक्रिय राख्छ र गहिरो निद्रा पर्न दिँदैन। कामकाजी महिलाहरूले अझै ठूलो बोझ वहन गर्नुपर्छ, किनकि उनीहरूले बाहिरको काम र घरायसी दुवै जिम्मेवारी सम्हाल्नुपर्छ, धेरैजसो अवस्थामा पर्याप्त सहयोग बिना।
निद्राको कमिले महिलाको स्वास्थ्यलाई धेरै किसिमले असर गर्छ। खराब निद्राले रोगप्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँछ र उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी समस्या, चिन्ता र अवसाद (डिप्रेसन)को जोखिम बढ़ाउँछ। ढिलो सुत्ने वा अनियमित रूपमा सुत्ने महिलामा महिनावारीसम्बन्धी समस्या, तौल बढ़्ने, हर्मोन असन्तुलन र मुड परिवर्तन देखिनसक्छ। गर्भवती महिलाले राम्रोसँग ननिदाएमा उच्च रक्तचाप र अत्यधिक थकानको समस्या हुनसक्छ। कमजोर निद्रा भएका वृद्ध महिलामा लड़्ने सम्भावना बढ़ी हुन्छ, भ्रम महसुस हुनसक्छ वा शरीर दुख्ने र उदासी हुने समस्या देखिनसक्छ।
जोखिमहरू हुँदाहुँदै पनि निद्रासम्बन्धी समस्याबारे कमै चर्चा गरिन्छ। धेरै महिलाहरूले आफ्ना परिवारलाई पहिलो प्राथमिकता दिँदै आफ्नै स्वास्थ्यलाई बेवास्ता गर्छन्। पहाड़ी समुदायहरूमा कमजोर निद्राले गम्भीर रोग निम्त्याउनसक्छ भन्ने चेतना निकै कम छ। कम सुत्नु कमजोरीको संकेत होइन, बरु बलियोपनको प्रतीकका रूपमा हेरिन्छ।
साना परिवर्तनहरूले पनि निद्रामा सुधार ल्याउन सक्छन् भन्ने कुरा राम्रो समाचार हो। महिलाहरूले सकेसम्म राति 10 बज्नुभन्दा अघि सुत्ने प्रयास गर्नुपर्छ। सुत्नुभन्दा अघि कम्तिमा एक घण्टा अगाड़ि मोबाइल फोन टाढ़ा राख्नुपर्छ। रातिको समयमा चिया र कफी पिउने बानी गर्नु हुँदैन। हरेक दिन एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने बानीले शरीरलाई राम्रोसँग आराम गर्न मद्दत गर्छ। शान्त, अँध्यारो र सहज सुत्ने वातावरणले ठूलो फरक पार्छ। गहिरो सास फेर्ने, प्रार्थना गर्ने वा सुत्नुअघि केही समय शान्त भएर बस्नेजस्ता सरल बानीहरूले मनलाई शान्त बनाउन सहयोग गर्छन्।
परिवार र समुदायले पनि सहयोग गर्नुपर्छ। घरायसी काम बाँड़फाँड़ गर्नु र महिलालाई आरामको आवश्यकता हुन्छ भन्ने कुराको सम्मान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। स्वास्थ्यकर्मी र सामुदायिक कार्यक्रमहरूले महिलालाई निद्रा पनि खाना र व्यायामजस्तै राम्रो स्वास्थ्यको अनिवार्य भाग हो भन्ने कुरा सिकाउनुपर्छ।
निद्रा अल्छीपन होइन, यो शक्ति हो। महिलाले राम्रोसँग निद्रा लिँदा उनीहरू बढ़ी स्वस्थ, शान्त र आफ्ना परिवारको राम्रो हेरचाह गर्न सक्षम हुन्छन्। पहाड़ी क्षेत्रका महिलाहरूमा देखिने कमजोर निद्रा एउटा लुकेको स्वास्थ्य संकट हो, जसतर्फ ध्यान दिन आवश्यक छ। महिलाले पर्याप्त आराम पाउँदा परिवारहरू अझ सबल बन्छन्, र त्यससँगै हाम्रो समुदाय पनि सशक्त हुन्छ।
(लेखिका नर्सिङ विषयमा एसआरआईएचईआर चेन्नईमा पीएचडी शोधार्थी हुन्।)












