समयले नबिर्साएको स्वर: सी बी गुरुङको दोस्रो इनिङ्स

Share this news

सञ्जय प्रधान⇒   

‘प्रिये मैले तिमीलाई भुल्न सकिनँ’ – समयले धेरै कुरा बदलिदियो, तर यो गीतको अनुभूति भने उस्तै रह्यो। दुई दशक बितिसक्दा पनि यो स्वर आज पनि श्रोताको स्मृतिमा उत्तिकै ताजा छ। त्यो स्वर हो, सी बी गुरुङको-जसलाई न समयले ओझेल पार्न सक्यो, न श्रोताले बिर्सन सके। लामो अन्तरालपछि मौनता तोड़्दै, उही आत्मीयता र ऊर्जा लिएर सी बी गुरुङ फेरि गीत-संगीतको यात्रामा फर्किएका छन्। यो फर्काइ केवल पुनरागमन होइन, अनुभूति, अनुभव र स्मृतिको नयाँ अध्याय हो।

‘‘अबको सेकेण्ड इनिङ्गस्मा निराश बनाउँदिन। नयाँ गीतको कोशेली लिएर आउनेछु’’

पूरा नाम चन्द्रबहादुर गुरुङ, संगीत क्षेत्रमा सी बी गुरुङ नामले परिचित छन्। स्व0 मनबहादुर गुरुङ र स्व0 पम्फावती गुरुङका छोरा सी बी गुरुङको घरमा संगीतको वातावरण थिएन। तर सानैदेखि संगीतमा गहिरो रुचि थियो। रेडियो नेपालका गीत सुन्थे र आफै सिक्थे। साथीसंगीबीच संगीतको माहोल बन्थ्यो। छ कक्षा पढ़्दै गरेको छोराको संगीतप्रतिको मोह देखेर बाबुले हार्मोनियम किनिदिए। त्यतिबेला संगीत सिक्न अहिलेको जस्तो सुविधा थिएन। कहिलेकाहीँ स्कूलको कार्यक्रममा गाउँथे।  दार्जीलिङ सरकारी महाविद्यालयमा आएपछि संगीत यात्राले दिशा पायो। कलेजमा संगीतप्रेमी साथी भेटिए। हार्मोनियम बजाउँथे, दार्जीलिङमा साथीहरूको संगतबाट गिटार सिके र गायनमा  अभ्यास बढ़्यो। कलेजको मञ्चमा गाउने अवसर पाए पनि औपचारिक तालिम लिन पाएनन्।

कलेजपछि दक्षिण सिक्किमको लिङ्गी सेकेण्डरी स्कूलमा शिक्षक बने। अंग्रेजी, नेपाली र अर्थशास्त्र पढ़ाउँदै स्कूलको कार्यक्रमका लागि विद्यार्थीहरूलाई गीत सिकाउँदा आफू पनि तिखारिए। पछि नाम्ची सरुवा भई पर्बिङ सेकेण्डरी स्कूल आए। नाम्चीमा संगीतको यात्राले गति लियो। संगीतमा खारिएका साथीहरूसित भेट भयो। साथीहरू मिलेर ‘फिल हार्मोनिक म्यूजिकल इन्सटिट्युशन’ खोले, जहाँ नृत्य, संगीत र गायन सिकाइन्थ्यो। औपचारिक तालिमप्राप्त विकास बनार्ड राईको नेतृत्वमा किबोर्ड, गिटार, भायोलिन र गायन प्रशिक्षण दिइन्थ्यो। यही समूहबाट सी बी गुरुङले संगीत र गायनका मूल गुण आत्मसात् गरे।

यस इन्सटिट्युशनबाटै संगीतको छुट्टै टोली बनाएर कार्यक्रम गर्न थालेको सी बी गुरुङ बताउँछन्। मुख्य गायक उनी नै थिए र उनकै नेतृत्वमा सिक्किमका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम गरियो। उनले नेपाली गीतहरू गाउँथे भने त्यसबेला कुमार सानु लोकप्रिय भएकाले उनका हिन्दी गीतहरू पनि गाउँथे। यसरी कार्यक्रम गर्दै जाँदा विकास बनार्डले एल्बम निकाल्ने सुझाव दिए। ‘‘त्यतिबेला एल्बम निकाल्न सक्छौं भन्ने विश्‍वास थिएन। अहिलेको जस्तो रेकर्डिङ स्टुडियो र सुविधा थिएन’’, उनी सम्झिन्छन्। रेकर्डिङका लागि पैसाको कुरा थियो, तर सबै नोकरी गर्ने भएकाले आ-आफ्नो लगानी हाले। सन् १९९७ तिर चार-पाँच महिनामा गीत तयार गरेर हिउँदमा काठमाड़ौं गए। सी बी गुरुङ भन्छन्, ‘‘यताबाट जाँदा मेरो स्वर भास्सियो, बीस दिनपछि मात्र खुल्यो। आधा जस्तो स्वर खोलिन्दा रेकर्डिङ गरें।’’ सबैको सपना भएकाले एल्बमको नाम ‘ड्रिम्स’ राखियो। उनी भन्छन्, ‘‘यो एल्बम एउटा एक्सपेरिमेन्टजस्तो भयो।’’ यसमा उनले ‘बिर्सिजाने निष्ठुरीको’ र ‘साँझको शून्यतामा बिलाइदिन्छु कतै’ दुई गीत गाएका थिए।

पहिलो एल्बम चलेन, तर यसले उनलाई अर्को एकल एल्बम निकाल्ने उर्जा दियो। उनले अर्को एल्बमका लागि शब्द लेख्न र संगीत कम्पोज गर्न शुरु गरे। सन् १९९९ मा काठमाड़ौं गएर संगम स्टुडियोमा रेकर्डिङ गरेर ‘अभिप्राय’ एल्बम निकाले। यसमा उनले आफ्नो छवटा गीत तथा राजु पाख्रिन र कमल सापकोटाको एक एकवटा गीत गाएका छन्। एल्बम झोलामा बोकेर दार्जीलिङ, कालेबुङ, गान्तोकलगायत विभिन्न ठाउँका पसलहरूमा बिक्री गर्दै लगानी उठाए। त्यसपछि फेरि अर्को एल्बमको तयारीमा जुटे।

श्रोताले मन पराउने गीतबारे बजार अध्ययन गरे। राजु पाख्रिनको शब्द रहेको ‘एक्लै एक्लै’ आफ्नो पहिलो कम्पोजिसन तयार गरे। एल्बमका लागि राजु पाख्रिनको डायरीबाट ‘छोड़ेर तिम्रो शहर’, ‘नाम्ची नाम्ची’, ‘बैंशालु जोवनमा’ छानेर संगीत भरे। आफ्नै शब्दका ‘प्रिये मैले तिमीलाई’ र ‘सपनीमा मायालु’ पनि कम्पोज गरे। उनी शब्द छुट्टै लेख्दैनन्, गिटार वा हार्मोनियम बजाउँदै शब्द र संगीत भर्छन्। गीतहरू लिएर काठमाड़ौंको संगम स्टुडियो पुगे। ‘‘स्टुडियोमा गीत सुनेपछि एरेन्जरहरूले एल्बम ‘एक्लै एक्लै’ हिट हुन्छ भने’’, उनी भन्छन्, ‘‘उनीहरूको भनाइमा सरस्वती नै बसेको थिएछ।’’

सन् 2001 को जनवरीमा लोकार्पण भएको भोलिपल्टदेखि नै एल्बम ‘एक्लै एक्लै’ले व्यापक चर्चा पाएर लोकप्रिय बन्यो। यसका प्रायः सबै गीत चल्यो भने ‘प्रिये मैले तिमीलाई भूल्न सकिनँ’, ‘बैंशालु जोवनमा’, ‘नाम्ची नाम्ची’ सर्वाधिक चर्चित भयो। भारत, नेपाल र अन्य देशका नेपाली श्रोतामाझ पनि यी गीतहरू लोकप्रिय बन्यो। युवाहरूको जमघटदेखि पिकनिकसम्म यी गीतहरू घन्किन्थे। यसपछि ‘सी बी गुरुङ संगीतमय साँझ’ कार्यक्रमहरू शुरु भयो। उनी भन्छन्, ‘‘मेरो जीवनको पहिलो कमर्शियल स्टेज कार्यक्रम दार्जीलिङको सिङ्ला चियाकमानमा प्रस्तुत भयो।’’

कार्यक्रमको माग बढ़ेपछि उनी दार्जीलिङ, कालेबुङ, खरसाङ, डुवर्स, दिल्ली, कलकता, मणिपुर र विदेशमा भुटानको थिम्पु तथा नेपालका पूर्वी भेकसम्म पुगे। संगीतको यात्रा चलिरहेकै बेला व्यक्तिगत र पारिवारिक व्यस्तताले उनी करिब १४ वर्ष संगीत क्षेत्रबाट टाढ़ा रहे। उनी हराए पनि श्रोताहरूले जमघटहरूमा उनका गीतहरू सुनिरहे। करिब डेढ़ वर्ष अघिदेखि उनी फेरि संगीत लिएर फर्किएका छन्। सामाजिक सञ्जालमार्फत आफूलाई खोजिएको महसुस गरे, जसको प्रमाण फेसबुकका 63 हजार फलोवर्स हुन्। उनी फेसबुकमा नियमित गीत र प्रेरणादायी कुराहरू सुनाउँछन्। अहिलेसम्म उनका 50 भन्दा बढ़ी गीत सार्वजनिक भइसकेका छन्।

उनले पहिलोपटक दार्जीलिङबाट सन् २००२ मा ‘सर्वश्रेष्ठ एल्बम’ र वर्षका ‘सर्वश्रेष्ठ गायक’को ‘गृहलक्ष्मी अवार्ड’ पाए। सन् २०२५ मा सिक्किम साहित्य परिषदद्वारा ‘संगीत सेवाश्री’ प्रदान गरियो। सन् २०२४ देखि विभिन्न ठाउँहरूबाट निमन्त्रणा आउन थालेपछि उनी व्यस्त छन्। सन् २०२२ मा नोकरीबाट सेवानिवृत्त भएका छन्। सी बी गुरुङले गीत रेकर्ड गर्दाको समयमा समस्या धेरै झेल्नु पर्थ्यो भने अहिले प्रविधिको विकासले सजिलो बनाएको छ। उनी भन्छन्, ‘‘अहिले गीत-संगीतको स्तर राम्रो छ, तर प्रतिस्पर्धा बढ़ी छ।’’ एआईको प्रभावबारे उनी भन्छन्, ‘‘एआईले मौलिक संगीतलाई असर पार्छ। तर एआईले बनाएको भन्दा मान्छेले महसुस गरेर, भोगेर, अनुभव गरेर बनाएको फरक हुन्छ। आर्टिफिसियल बेसी टिक्दैन।’’

अब फेरि तपाईलाई पहिलाको जस्तो खोज्नुपर्छ कि पर्दैन? हाँस्दै भन्छन्, ‘‘यो मेरो सेकेण्ड इनिङ्गस् शुरु भइसकेको छ। मेरा प्रशंसकहरूका लागि अर्ग्यानिक गीतहरू लिएर आउनेछु। अबको सेकेण्ड इनिङ्गस्मा निराश बनाउँदिन। नयाँ गीतको कोशेली लिएर आउनेछु।’’

समयले उनलाई केही समय ओझेल पारे पनि उनका गीतहरूले कहिल्यै श्रोताको मन छोड़ेनन्।  यो फर्काइ केवल संगीतमा होइन, श्रोताको स्मृतिमा फेरि एकपटक गहिरो गरी बस्ने प्रयास हो-जहाँ गीतहरू फेरि पनि मनसँगै गुन्जिनेछन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ