गोर्खा राष्ट्रिय मुक्तिमोर्चा युवा नेता छितेन टी.भुटिया भन्छन् दार्जीलिङ पहाड, जहाँ हिमालको कठोरता र छहराको स्वच्छन्दता जनताको रगतमा मिसिएको छ त्यही भौगोलिक पृठभूूूमिमा जन्मे, हुर्के र इतिहास रच्ने नेता थिए आप्पा सुवास घिसिङ, उनी केवल एक राजनीतिक व्यक्ति मात्रै थिएनन्, उनी एक विचार, एक चेतना र एक अभियान रहेको युवा नेता भुटियाले बताएका छन्। जसको आवाज युगौंदेखि उपेक्षा भोग्दै आएको गोर्खा समाजको पक्षमा गुञ्जिएको थियो र त्यसै आवाजको प्रतिध्वनि हो एक गीत:”म झुक्दै नझुक्ने पहाडको छोरो” यो गीत आप्पा सुवास घिसिङको अत्यन्त प्रिय गीत थियो। किनभने यस गीतमा उनले आफूलाई चिनेका थिए। यो गीत आप्पा सुवास घिसिङको आत्मा, विचार र मार्गदर्शनको गीत थियो, र यही गीत आज पनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आदर्श बन्दै आइरहेको छ। सन् १९८० को दशकमा भारत देशको उत्तरपुर्वी राज्यहरु बाट गोर्खाहरुलाई लखेट्ने कार्यको शुरुआत भयो। युवा नेता भुटियाले समझिन्दै भने- त्यति बेला आप्पा सुवास घिसिङले गोर्खाहरुलाई बचाउनको निम्ति एउटा संघर्षको बिगुल फुके। त्यस समय सम्पूर्ण पहाड आवाज विहीन थियो, आप्पा सुवास घिसिङको स्वरले त्यो मौनतालाई चिरिदियो। “गोर्खा भनेको केवल सैनिक मात्र होइन, एउटा स्वतन्त्र पहिचान पनि हो” भन्ने उद्घोषले भारतको भौगोलिक पृठभूमिमा एक नयाँ आत्म सम्मानको आन्दोलनको सुरुवात भयो। भुटियाले थपे- गोर्खाल्याण्डको माग केवल भौगोलिक सीमाको होइन, राजनीतिक अधिकार, संस्कृतिक सम्मान र ऐतिहासिक पुनःस्थापनाको माग थियो। आप्पा सुवास घिसिङको नेतृत्वमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गठन भयो, र त्यो आन्दोलनले ऐतिहासिक रूपमै गोर्खाहरुको किपट दार्जीलिङ गोर्खा हिल काउन्सिल (DGHC) को जन्म दियो। भारत सरकारले २३ अगस्त १९८८ को दिन एक अधिसूचना जारी गरि गोर्खाहरु भारतको खाँटी नागरिक हुन् , भनेका हुन् र त्यो दिन भारतभरि बसोबास गर्ने गोर्खा समुदायको छाती गर्वले फुलिएको थियो। आप्पा सुवास घिसिङले जे सोचेर गोर्खाल्याण्ड आन्दोलनको शुरुआत गरेका थिए। त्यो दुई खुड्किला फत्ते गराएका थिए। पहिलो गोर्खाहरुको किपट, दोस्रोमा नागरिकता, यस बिषयमा आप्पा सुवास घिसिङले ११ अप्रेल २०११ को दिन मिरिकमा नागरिकता र चिनारीको प्रश्नमा एतिहासिक जनसभामा खुलस्त पारेका थिए। तेस्रो उनले छैटौं अनुसूचीको अवधारणा ल्याएर पहाडका निम्ति आफ्नो भूमिको सुरक्षा, आफ्नो संस्कृति अनि रीतिरिवाजको सुरक्षाको निम्ति संवैधानिक स्थायित्वको ढोका खोल्ने प्रयास गरेका थिए। युवा नेता भुटिया भन्छन् उनी राजनीतिमा ती नेता थिए, जसले सत्ता होइन सिद्धान्त रोजे। म झुक्दै नझुक्ने पहाडको छोरो भन्ने गीत उनको आत्मविश्वासको सङ्केत थियो। त्यसैले यो गीत सधैं उनको मनमा बज्थ्यो, र आन्दोलनकारी जनताको हृदयमा बलियो प्रेरणा बन्थ्यो। आज आप्पा सुवास घिसिङको उत्तराधिकारीका रूपमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्व गरिरहेका छन् उनका सुपुत्र श्री मन घिसिङले। आप्पाको विरासत बोकेर अघि बढ्नु केवल नामको कुरा होइन, त्यो एक जिम्मेवारी साथै एउटा ठूलो जिम्मेवारी अनि चुनौती थियो। आज अध्यक्ष मन घिसिङले त्यही जिम्मेवारीलाई विवेक,अध्ययन,समर्पण र धैर्यका साथ निभाइरहेका छन्। अध्यक्ष मन घिसिङले राजनीति केवल उखान टुक्का र नारा होइन, गम्भीर सोच र दीर्घदृष्टिको विषय हो भन्ने धारणा स्थापित गर्दै आएका छन्। बदलाको भावना त्यागेर उनले आप्पाले तय गरेको बाटोलाई आधुनिक सन्दर्भमा ढालेर अघि बढिरहेको भुटियाले बताए। आजको दिनमा जब पहिचानको राजनीति फेरि चर्किंदैछ, स्थायी राजनैतिक समाधान झट्ट होस् भन्ने चाहना अनुरुप दिल्लीमा भारत सरकारलाई बुझाउनु पर्ने जनाउनु पर्ने आप्पा सुवास घिसिङकै आदर्शलाई आत्मसात गर्दै गोर्खाहरुको आवाजलाई शान्तिपूर्ण, संवैधानिक र विवेकी ढङ्गले सबै विषयहरु गरिसकेका छन्। अब भारत सरकारले गोर्खाहरुको सपनालाई पूरा गर्ने धर्म निभाउन पर्छ । “खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न…” यी पङ्क्तिहरू केवल कविता होइन। यी आप्पा सुवास घिसिङ र गोरामुमो कार्यकर्ताहरुको जीवनको अनुभूति हो। यी पंक्तिहरूले राजनीति, समाज र जनताको अन्तर आत्माको ज्वालालाई प्रतिविम्बित गर्छन्। युवा नेता भुटियाले बताए- हाम्राअध्यक्ष मन घिसिङको निम्ति यो गीत केवल आप्पाको मनपर्ने रचना मात्र होइन, यो एक प्रेरणा हो, एक दर्शन हो, जसले वहाँ लाई प्रतिकूल समयमा पनि झुक्न दिएको छैन।म झुक्दै नझुक्ने पहाडको छोरो” आप्पा सुवास घिसिङले यस गीतमा आफ्नो जीवनको सार देखेका थिए। र आज अध्यक्ष मन घिसिङले यही गीतलाई आफूले बोक्नुपर्ने राजनीतिक संस्कारका रूपमा आत्मसात गरेका छन्। युवा नेता भुटियाका अनुसार यो गीत सम्पूर्ण गोर्खाहरुको गीत बनिसकेको छ।।













