सिलगढ़ी, (निप्र.): दीर्घ पाँच वर्षपछि पब्लिक-प्राइभेट पार्टनरशीपमार्फत टोय ट्रेन परिसेवा पुनः आरम्भ भयो। दार्जीलिङ हिमालयन रेलवे अधिकृतको पहलमा टोय ट्रेनमार्फत जङ्गल सफारी पुनः शुरु भएकोमा पर्यटन खेमामा खुशीको लहर छाएको छ।
प्राप्त जानकारीअनुसार, प्रत्येक हप्ता शनिवार र आइतवार जङ्गल सफारी रहनेछ। सिलगढ़ी जंक्शनदेखि घैयाबारीसम्म टोय ट्रेनमार्फत यात्रीहरूले जङ्गल सफारी गर्न सक्नेछन् । पर्यटकहरूले ऐतिहासिक टोय ट्रेनको यात्रासहित चियाबारीको मनोरम दृश्य, पहाड़को प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिको स्वाद पनि लिनसक्नेछन् ।
आइतवार सिलगढ़ी जंक्शनमा विशेष जोय राइडको उद्घाटन कटिहार डिभिजनका डीआरएमले गरे। यस अवसरमा डीएचआर निदेशक रिसभचौधरी पनि उपस्थित थिए। जङ्गल सफारी ट्रेन सिलगढ़ी जंक्शनदेखि घैयाबारीसम्म पुगेर पुनः जंक्शन फर्किनेछ । रूट एउटै भए पनि परिसेवामा वृहत परिवर्तन रहेको छ। टोय ट्रेनमा मोठ तीनवटा डब्बा मात्र छन् । जसमा दुईवटा डब्बा गैरसरकारी संस्थाको हातमा भएकोले पीपीपी मोडलमा रहनेछ भने एउटा डब्बा मात्र रेलको अधीनमा चल्नेछ।
यी तीनवटा डब्बाको परिसेवा, किराया एवम् सहुलियत भिन्नाभिन्नै रहनेछ। गैरसरकारी संस्थाको अधीनमा रहेको दुईवटा डब्बामा बस्ने यात्रीहरूको निम्ति विशेष व्यवस्था रहनेछ। बिहानको खाजा, मध्यान्ह भोजन र साँझको चिया चमेना सबै प्याकेजको रुपमा दिइनेछ।
यात्रीहरूको खानेकुरोसहित फोक डान्स, फ्यामिली गेम्स र २२ माइलको स्मृतिवन भ्रमणको व्यवस्था पनि छ। दुईवटा गैरसरकारी डब्बाको किराया प्रति व्यक्ति २१९९ रुपियाँ पर्नेछ।
यस विषयमा डीएचआर निदेशक सञ्जय रिसभ चौधरीले भने, यसपालिको पर्यटनको मौसममा पर्यटकहरूले जङ्गल सफारी मात्र होइन, पर्यटकहरूको आकर्षण बढ़ाउन अझ केही नयाँ सफारी शुरु गर्ने परिकल्पना छ।
अर्कोतिर, गैरसरकारी संस्थाका निदेशक सञ्जय गोस्वामीले भने, यात्रा शुरुसहित पर्यटकहरूको निम्ति खाने व्यवस्था पनि रहनेछ। धैयाबारी पुगेपछि पर्यटकहरूको निम्ति विशेष वनभोजको व्यवस्था रहनेछ। यसबाहेक त्यहाँबाट फर्किने समय दार्जीलिङको लोकप्रिय खाना व्यवस्था रहेको तिनले बताए।












