खरसाङ, (मोहन प्रसाद)ः गायक, अभिनेता एवं इण्डियन आइडल सीजन थ्रीका विजेता प्रशान्त तामाङ्को आकस्मिक निधनमा विभिन्न पक्षबाट शोक समवेदना अनि श्रद्धाञ्जली प्रकट गरियो ।
मुख्यमन्त्री ममता ब्यानर्जीले प्रशान्त तामाङ्को निधनमा शोक प्रकट गरेकी छिन्। तिनले आफ्नो शोक सन्देश सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेकी छिन्, प्रशान्त तामाङ दार्जीलिङ निवासी थिए अनि एक समय कलकत्ता पुलिसमा कार्यरत थिए। तिनी पश्चिम बंगालका प्रिय, प्रतिभाशाली, प्रशिद्ध कलाकार थिए। प्रशान्त तामाङ्को निधनमा तिनको परिवार, तिनका प्रशंसक, साथीभाईहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।
सन् 2007 मा सोनी टीभीको एउटा रियालिटी शो इण्डियन आईडल सीजन थ्रीका विजेता प्रशान्त तामाङ्को आईतवार मृत्यु भएको खबर फैलिएपछि पहाड़को विभिन्न पक्षबाट वा व्यक्ति विशेषबाट तिनको आकस्मिक निधनप्रति शोक व्यक्त गरिएको छ।
प्रशान्त तामाङ्को निधनमा गोर्खा जनमुक्ति मोर्चा महासचिव तथा पूर्व जीटीएका कार्यकारी सभासद् रोशन गिरीले भने, प्रशान्त तामाङ्को निधनले हामी शोकाकुल बनेका छौँ। प्रशान्त तामाङले 2007 मा तेस्रो इण्डियन आइडल बनेका थिए। प्रशान्त तामाङ्को कारण दार्जीलिङ पहाड़को राजनीतिक परिदृश्य परिवर्तन भएको थियो। त्यस समय प्रशान्त तामाङलाई देश-विदेशबाट समर्थन प्राप्त भएको थियो। आज तिनको कम उमेरमा निधन भएको खबरले हामी दुःखी बनेका छौँ। तिनले गीत गाउनको साथै वेब सिरिज अनि चलचित्रहरूमा पनि अभियन गरेका थिए। तिनी एक प्रतिभाशाली कलाकार थिए। तिनको निधन दिल्लीमा हृदयघातको कारण भएको भन्ने हामीले जानकारी पाएका छौँ।
पत्रकारहरूसित बोल्दै, म्युजिक खरसाङ बागिनाका वरिष्ठ प्रतिनिधि तथा कलाकार रमेश रसाइलीले प्रशान्त तामाङ्को निधनमा गहिरो शेक प्रकट गरेका छन्। रसाइलीले प्रशान्त तामाङ एक प्रतिभाशाली कलाकार रहेका थिए भनी बताउदै तामाङले 2007 मा इण्डियन आईडल जस्तो भारतो प्रतिष्ठित रियलटी शोमा विजाय प्राप्त गरेर भारतका सम्पूर्ण गोर्खाहरूको शीर ठाड़ो बनाएका थिए। तिनी एक असल अभिनेता पनि थिए, तिनले तापाल लोक वेब सिरिज लगायत विभिन्न चलचित्रहरूमा अभियन समेत गरिसकेका थिए। तिनले नेपाली लगायत हिन्दी गीत पनि गाएका थिए भनी बताएका छन्।
भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला उपाध्यक्ष एवं जीटीएका पूर्व जनसम्पर्क अधिकारी आरबी लामाले पनि प्रशान्त तामाङ्को निधनमा गहिरो शोक प्रकट गर्दै प्रशान्त तामाङ एक गायक मात्र थिएनन्। तिनले आफ्नो कलाकारको माध्यमबाट गोर्खाहरूलाई भारतमा चिनाउने कार्य गरेका थिए। तिनले नेपाली, हिन्दी गीतहरू गाएका छन्। तिनले वेब सिरिज अनि विभिन्न चलचित्रहरूमा अभियन गरेर आफ्नो बहुप्रतिभाको परिचय दिएका छन्। तिनको निधनले सम्पूर्ण गोर्खा जाति लगायत संगीत अनि कलाकार समाजमा ठूलो रिक्तस्थान बनेको छ भने। आरबी लामाले गोर्खा जनमुक्तिको जन्मनै प्रशान्त तामाङ्को कारणले भएको हो भनी बताउदै तिनी स्वर्गीय भए तापनि कहिल्यै भुल्नेछैनौँ। दार्जीलिङ पहाड़ लगायत भारतभऱका गोर्खाहरूले प्रशान्त तामाङलाई कहिल्यै भुल्नेछैनन् भनी थप बताए।












