Police teacher Sanjeev Gurung's condolence for Prashant Tamang
Police teacher Sanjeev Gurung's condolence for Prashant Tamang

पुलिसका शिक्षक सञ्जीव गुरूङको प्रशान्त तामाङप्रति समवेदना

Share this news

कलकत्ता पुलिसमा भर्ना भएर आएपछि मैले पन्द्र वर्ष पीटीएसमा बिताएँ। पीटीएस अर्थात् पुलिस ट्रेनिङ स्कुल। प्रशान्त तामाङसँग मेरो पहिलो भेट त्यहीँ भएको थियो।
कलकत्ता पुलिसमा कार्यरत्त अवस्थामा देहान्त भएका आफ्ना पिताको स्थानमा क्षतिपूर्तिको रुपमा उनले कलकत्ता पुलिसमा नोकरी पाएका रहेछन्। उनलाई ट्रेनिङ्ग सेन्टरमा पुराउन उनकी आमा अनि नाना आएका थिए।
हामीलाई त्यहाँ देखेर ढुक्क मान्दै उनकी आमाले,” नानीहरू यहाँ हुनुहुँदो रहेछ।मलाई त कस्तो ढुक्क लाग्यो। मेरो छोरा त गिटार पाएर गीत गाउन थालेपछि त सबै कुरा बिर्सिन्छ। ल है यसलाई यसो याद गरिदिनुहोस् है।” भनेको हिजै जस्तो लागिरहेको छ। छरितो, कलिलो अनि राम्रे प्रशान्त तामाङ हामीसँग उधुमै झ्यामिएका थिए।तालिमबाट फुर्सत पायो कि खुरुक्कै हामीकहाँ आइहाल्थे। हामी सीनियरहरुलाई हदै सम्मान दिएर बोल्थे। तालिमको समाप्तिपछि उनको पोस्टिङ्ग आर एफ (Reserved Force) मा भएको थियो। गाउनमा खप्पिस प्रशान्त पछि कलकत्ता पुलिसको अर्केस्ट्रामा पसेछन्। बेलाबेला विभागीय कार्यक्रमतिर उनले गाएका गीतहरू रसपान गर्न पाउँथेँ।
पछिपछि भेटघाटहरू केही पात्लिन्दै गएको थियो। एक दिन उनी इन्डियन आइडलमा छनौट भएको खबर पुलिस ब्यारेकमा डढेलोझैँ फैलियो। हामी खुसीले उफ्रियौँ। उसनलाई भेट्न गयौँ। उनलाई मायाले अङ्गाल्यौँ। ॉगर्वले हाम्रो छाती फुलिन्दा कडा धाप मार्यौँ। पहिलो राउन्डको निम्ति मुम्बई जानअघि अभ्यास गर्दै उनले अर्केस्ट्राको कोठामा “यार को मैनें, मुझे यार ने सोने ना दिया…” भन्ने गीत यति डुबेर अनि यति मीठो गाएका थिए कि त्यही बेला उनले इन्डियन आइडलको प्रतियोगितामा राम्रै स्थान हत्याउँछन् भन्ने आशा मभित्र नटुसाएको होइन। त्यो ऐतिहासिक प्रतियोगिता भइरहेका बेला हामी पनि कलकत्तामा अरू ठाउँमा जस्तै बेस्सरी बेस्सरी खटेका थियौँ।तिनताक आइपीएस अफिसर जेड हसन सर पनि कम्मर कसेर लागिपरेका थिए। उनको आदेशमा कति सिपाहीहरूले त केवल प्रशान्तलाई भोट हाल्ने मात्र डिउटी गरेका थिए।हामीले पनि टेलिफोन बुथ नै ओगटेर भोट हालेको सम्झना आइरहेको छ।
तर हामी कलकत्तामा हुनेहरू अलिक असजिलो स्थितिमा पनि परेका थियौँ।हामीलाई अन्य सम्प्रदायकाहरूले,”तिमीहरूले केवल तिमीहरूको जातीय भावना र आवेगमा अन्धो भएर प्रशान्तलाई भोट हालिरहेका छौ। उभन्दा उम्दा अरू नै छन्।” भन्थे। हाम्रो टुप्पी तातिएर आउँथ्यो। हामी पनि बलिया तर्कहरूको झटारो हान्थ्यौँ। तर कति फेरि प्रशान्तलाई भोट हाल्ने पैसा उठाउँदा अघि पनि सर्थे। त्यस समय इन्डियन आइडलका एपिसोडहरू प्रसारण हुन अघिनै प्रशान्तले कुन गीत गाएको छ; को प्रतियोगिताबाट बाहिरिएको छ भन्ने खबर यहाँ आइपुग्थ्यो। उता गाउँघरबाट फोन गरेर सोध्नेको घुइँचो थियो।
त्यस वर्ष इन्डियन आइडलको भव्य फिनालेको कलकत्ता पुलिसको सशस्त्र वाहिनीको मुख्यालय (बडीगार्ड लाइनमा) ठूलो पर्दामा प्रसारणको व्यवस्था गरिएको थियोे। उक्त रोमाञ्चक फिनाली हेर्न हामी त्यहाँ थुप्रिएका थियौँ। प्रशान्त विजयी घोषित भएको क्षण हामी सबै हर्षले निक्कै बेर बुरुक् बुरुक् उफ्रिएका थियौँ।
उक्त प्रतियोगितामा विजयी भएपछि उसको नेपाली चलचित्र जगतमा प्रवेश भयो। गायक त उनी थिँदै थिए, त्यसमा नायक पनि भएका थिए। उनको व्यस्ततालाई सम्झेर मैले कहिले उनीसँग सम्पर्क गर्ने कोसिस गरिनँ। टाडोबाट उनलाई सफल हुँदै गएको हेरेर खुसी हुन्थेँ। हामीले कलकत्तामा हाम्रो छहारी स्थापना गर्ने पहल गरेपछि भने उनलाई पनि यसमा जोडिने आग्रह गर्दै मैले सम्पर्क गरेको थिएँ। उनले पनि सहर्ष सहयोगको वचन दिएका थिए। तर उनले त्यो वाचा पूरा गर्न पाएनन्। किनकि त्यसदिन सखारै उऩको निधन भएको अपत्यारिलो खबर सुनेर स्तब्ध भएको छु।
एउटा असाध्यै मीठो स्वर सदाको निम्ति मौन भयो। विदा, प्रिय प्रशान्त।।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ