खरसाङ, (मोहन प्रसाद)ः खरसाङ वन संग्लग्न क्षेत्र एउटा आरक्षित अनि संरक्षित वन क्षेत्र रहेको हुनाले यहाँ विभिन्न दुर्लभ वन्य जीव जन्तुहरूको उपस्थिति देखिएको छ ।
यदि कुनै व्यक्तिले यी वन्य जीवजन्तुलाई शिकार गरेको खण्डमा वन्य जीव संरक्षण अधिनियम (वाइल्ड लाइफ प्रोटेक्शन एक्ट) अन्तर्गत कानूनी कारवाही सहित 7 वर्षको कारावास हुनेछ। कैसले पनि यी वन्य प्राणीको शिकार न गरिदियोस् भनी खरसाङ डिविजनल वन अधिकारी दिवेश पाण्डेले पत्रकारहरूसित बोल्दै आग्रह गरेका छन्। हालैमा खरसाङ डाउहिल जंगल क्षेत्रमा देखिएको एउटा दुर्लभ प्रजातिको कालो भुक्ने मृग विषयमा पत्रकारहरूसित बोल्दै, पाण्डेले उक्त जानकारी दिएको हुन्।
तिनले थप जनाए अनुसार, हालैमा देखिएको उक्त कालो भुक्ने मृग केवल यस क्षेत्रमा मात्र होइन् तर देशमा नै एउटा दूर्लभ प्रजातिको मृग हो। यस्ता धेरै दूर्लभ प्रजातिका वन्य जीवजन्तुहरू यस क्षेत्रमा रहेका छन्। खरसाङ डाउहिल वन क्षेत्रमा धेरै अघि देखिनै साधारण मृग रहेको पाइन्छ तर हालैमा तिनको नेतृत्वमा भएको एउटा गश्तीको अवधि तिनले उक्त दुर्लभ प्रजातिको कालो भुक्ने मृगको तस्वीर क्यामेरामा कैद गर्न सक्षम बनेका हुन्। उक्त कालो मृग देशमा नै दुर्लभ रहेको छ । केहि शोधकर्ताले वा स्थानीयहरूले कालो मृग रहेको बताउँदै थिए तर उक्त कालो मृगको रहेको कुनै फोटो अथवा वीडियोको तथ्य थिएन्, जसलाई हालैमा तिनले आफ्नो क्यामेरामा कैद गर्न सक्षम बनेका थिए।
वर्तमानमा उक्त कालो मृगको संख्या यस क्षेत्रमा कति रहेको छ, त्यसको कुनै ठोस जानकारी नरहे पनि बघगौड़ वन रेञ्ज क्षेत्रमा पनि कालो मृग देखिएको खबर रहेको छ, उक्त मृग त्यहीँबाट गएको पनि हुन सक्छ। दुई वा तीनको संख्यामा यस प्रजातिको मृग हुने सम्भावना रहेको छ ।
तिनले थप जनाए अनुसार, खरसाङ एवं डाउहिल वन संग्लग्न क्षेत्रमा कालो चितुवा, कालो सीवीट, कालो मृग, विषालु अनि ठूलो आकारको ब्लैक टरणटुला स्पाइडर आदि दुर्लभ वन्य जीवहरू यस क्षेत्रमा पाइन्छ। त्यति मात्र होइन् क्षेत्रमा धेरै अघिदेखि नै कालो हिमालयन भालू पनि रहेको छ । खरसाङ वन क्षेत्र एउटा आरक्षित अनि संरक्षित वन क्षेत्र अन्तर्गत रहेकोले यो विभिन्न महत्वपूर्ण जीव जन्तु वा दुर्लभ प्राणीहरूको क्षेत्र हो।
कसैले यी वन्य जीव जन्तुलाई शिकार गरेको खण्डमा वाइल्ड लाइफ प्रोटेक्शन एक्ट अन्तर्गत कानूनी कारवाही सहित 7 वर्षको कारावास हुनेछ । यसर्थ, सबैले वन अनि वन्य प्राणीको संरक्षणमाथि जोर दिन आवश्यकता रहेको छ।












