प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न भएको आशंकामा अमेरिकी सेनाले गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको छ। घटनापछि विज्ञ तथा कानुनविद्हरुले यस्ता सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्न सक्ने चेतावनी दिएका छन्।
अमेरिकी सेनाको दक्षिणी कमाण्डले सामाजिक सञ्जालमार्फत आक्रमणका दृश्यहरू सार्वजनिक गर्दै ती डुंगाहरू लागुऔषध तस्करीका लागि परिचित मार्ग हुँदै यात्रा गरिरहेका र तस्करीमा संलग्न रहेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्याङ्ग र लागुऔषध कारोबारविरुद्धको अभियानअन्तर्गत पछिल्ला केही महिनामा अमेरिकी सेनाले प्रशान्त र क्यारिबियन क्षेत्रमा २० भन्दा बढी जहाजहरूलाई निशाना बनाइसकेको जनाएको छ। ती कारबाहीका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको सेनाले जानकारी दिएको छ।
विज्ञहरूले यस्ता आक्रमणले सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूको उल्लङ्घन गर्न सक्ने बताएका छन्। अमेरिकाले पहिलोपटक सेप्टेम्बर २ मा आक्रमण गरेको थियो। सो घटनामा बाँचेकामाथि पुनः आक्रमण गरी हत्या गरिएको आरोपसमेत उठ्दै आएको छ, जसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ।
बीबीसीसँगको कुराकानीमा कानुनविद्हरुले भेनेजुयलाको डुंगामाथि गरिएको दोस्रो आक्रमण अवैध भएको धारणा व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार यसलाई गैरन्यायिक हत्या मानिन सक्ने उनीहरूको भनाइ छ।
इन्टरनेशनल क्रिमिनल कोर्टका एक पूर्व प्रमुख अभियोजकले अमेरिकी सैन्य अभियान शान्तिकालमा सर्वसाधारणमाथि गरिएको सुनियोजित तथा प्रणालीगत आक्रमणको श्रेणीमा पर्न सक्ने चेतावनी दिएका छन्।
यता, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने लागुऔषध कारोबारीबाट आफ्ना नागरिकलाई जोगाउन कानुनी र वैध ढंगले नै सैन्य कारबाही गरिएको दाबी गरेको छ। सशस्त्र द्वन्द्वसम्बन्धी कानुनको उल्लङ्घन नभएको ह्वाइट हाउसको भनाइ छ।
भेनेजुयलाले भने अमेरिकाले आफ्नो देशमाथि लागुऔषध तस्करीलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ। उसले राष्ट्रपति निकोलस मदुरोलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै भेनेजुयलासँग आमनेसामने हुने गरी ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ गरिएको जनाएको छ। यसैबीच, डिसेम्बर १० मा अमेरिकी सेनाले भेनेजुयलाको तट नजिकै एउटा तेल ट्यांकर कब्जामा लिएको थियो। भेनेजुयलाले उक्त कदमलाई उपनिवेशवादी सोच र डकैतीको संज्ञा दिएको छ।











