दमास्कसमा सत्तापलटको एक वर्ष पूरा भएकाे अवसरमा राष्ट्रिय झन्डा बोकेर उत्सव मनाउन ठूलो भीड जम्मा भयो । यहाँ विगत एक वर्षदेखि हेलिकोप्टरबाट खसेको बम–बारुदले ज्यान जाने पीर छैन । निर्धक्क बाँच्न पाउनु आफैंमा एक उत्सव हो ।
• सिरियामा असद सत्ताको पतनपछि एक वर्ष बित्दा देश पुनर्निर्माण र शान्तिको प्रयासमा जुटेको छ, तर विभिन्न पक्षबीचको झडप र विगतका घाउ अझै बाँकी छन्।
• राष्ट्रपति अहमद अल साराको नेतृत्वमा नयाँ संविधान निर्माण र संक्रमणकालीन न्याय प्रक्रियामा काम भइरहेको छ, यद्यपि सबै समुदाय सन्तुष्ट छैनन्।
• अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार देखिए पनि आन्तरिक चुनौती, इजरायली हस्तक्षेप र आर्थिक पुनर्निर्माणका कठिनाइहरू सिरियाको भविष्यका लागि मुख्य चुनौती बनेका छन्।
ठिक एक वर्षअघि । ८ डिसेम्बर २०२४, विद्रोहीहरु मार्चपास गर्दै दमास्कसतर्फ अघि बढे । हायात तारिर अल साम (एचटिएस) समुहका अहमद अल साराले यस भीडको नेतृत्व गरेका थिए ।
राष्ट्रिय सेनासँग उनीहरुलाई रोक्नसक्ने सामथ्र्य नै थिएन । २७ नोभेम्बरमा इदलिबस्थित आधार इलाकाबाट एचटिएस विद्रोहीहरुले निर्णायक आन्दोलन थालेयता नै सेना रक्षात्मक हुँदै गएको थियो ।
एलिप्पोमा नोभेम्बरको अन्त्यमा असदको सत्ताले विद्रोहीहरुलाई कमजोर बनाउन विमानस्थल र मुख्य सडकहरु बन्द गरेर सर्च अपरेशन चलाउने असफल प्रयास गरेको थियो । तर, प्रतिरोधमा जनसागर ओर्लिएपछि सत्ताको दिनगन्ती सुरु भयो ।
अन्ततः होम्स हुँदै दमास्कसमा पुगेर विद्रोहीले विजयी झन्डा फर्फराए । ‘दुष्ट असद अपदस्थ भइसकेका छन्,’ विद्रोहीहरुले घोषणा गरे । आक्रोशित भीडले सोधिरहेको थियो : असद कहाँ छन् ?? त्यसको जवाफ उत्तर रुसी समाचार एजेन्सीले केहीबेरमै दियो । ‘बसर अल असद र उनको परिवार रुसमा सकुशल आइपुगेका छन् । रुस सरकारले उनीलाई शरण दिने निर्णय गरेको थियो ।











