दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता राजु विष्टले ‘धमिलो पहाड़’ फिल्मको गीत लोकार्पण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई अत्यन्तै खुशी र उत्साहको अनुभूति भएको बताएका छन्। यस फिल्ममा भारतीय गोर्खा समुदाय, विशेषगरी दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका ऐतिहासिक महत्त्व बोकेका घटनाहरूलाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ। फिल्मका अधिकांश कलाकार र निर्माताहरू पनि हाम्रै क्षेत्रका हुनुले यसलाई अझै विशेष बनाएको छ। यो फिल्मलाई रिलिज गर्न आवश्यक CBFC प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियामा प्रोडक्शन टिमसँगसँगै आफुले काम गर्ने अवसर पाएकामा एउटा सकारात्मक र प्रेरणादायी अनुभव रहेको विष्टले बताए। फिल्म निर्माताहरूले यस परियोजनाका लागि गरेको कडा मेहनत अन्ततः सफल भयो र फिल्मले रिलिजको अनुमति प्राप्त गर्यो, यसका लागि उऩले सबैलाई अभिनन्दन जनाए।
सांसद विष्टले जनाए, हामीले आफ्ना स्थानीय कलाकार र सिर्जनाकर्मीहरूलाई निरन्तर समर्थन तथा प्रोत्साहन दिनुपर्छ। हाम्रा जटिल इतिहास र कथाहरूलाई मुख्यधारामा ल्याउने यो साहसिक प्रयासलाई हाम्रा सबैको हौसलाको खाँचो छ। यस अवसरमा फिल्मको सम्पूर्ण प्रोडक्शन टिम, कलाकारहरू, समर्थकहरू तथा शुभचिन्तकहरूलाई हार्दिक वधाइ र शुभकामना व्यक्त गरे।











