Health Preparedness in Hill Areas
Health Preparedness in Hill Areas

जाड़ो याममा पहाड़ी क्षेत्रमा स्वास्थ्य तयारी: न्यानो बस्ने, स्वस्थ रहने

Share this news

नोभेम्बर महिनासँगै दार्जीलिङ पहाड़ी क्षेत्रहरूमा फैलिएको हल्का कुहिरो बिस्तारै हट्दै जाँदा हिउँद शुरु हुन थाल्छ। नोभेम्बरको अन्त्यतिर चिसो बढ़्न थाल्छ, र दिसम्बर लागेसँगै दार्जीलिङ, कालेबुङ र खरसाङमा तापक्रम प्रायः ३ डिग्री सेल्सियस देखि ७ डिग्रीसम्म झर्ने गर्छ। यहाँका बिहानहरू कुहिरोले छोपिएका हुन्छन्, दिउँसोदेखि निक्कै चिसो हावा चल्छ अनि झनै रातिको चिसोले त सबैभन्दा सहनशील हृदयलाई पनि जमाइदिन्छ। हिउँदको सौन्दर्य मनमोहक हुन्छ- निलो आकाश मुनि टाढ़ाबाट देखिने चाँदी झैं टल्किरहेको कञ्चनजङ्घाको दृश्यले मनै आनन्दित बनाउँछ। तर यो समय स्वास्थ्यप्रति सबैभन्दा बढ़ी सतर्क रहनुपर्ने पनि हो।

पहाड़मा हिउँदमा केवल दृश्य मात्र बदलिँदैन, यसले जीवनको तालमेल नै फेरिदिन्छ। चिसोले मानिसहरूलाई घरभित्रै सीमित राख्छ, घाम कम लाग्छ र ओसिलोपन घरभित्रै पस्छ। यी सबै कारणले यो मौसम संवेदनशीलताको समय बन्छ। खोकी, रुघाखोकी, फ्लु र न्यूमोनियाका मामलाहरू तीव्र रूपमा बढ़्छन्। आस्थमा वा मुटुको समस्या भएका व्यक्तिहरूका लागि चिसो हावा अझै चुनौतीपूर्ण हुन्छ भने वृद्धहरूले जोर्नी दुखाइ, कम हिँड़डुल र कमजोर प्रतिरोध क्षमतासँग जुधिरहनुपर्छ। उत्तर बंगालका डाँड़ाकाँड़ामा छरिएका ग्रामीण बस्तीहरूमा जहाँ स्वास्थ्य सेवासम्म पहुँच सीमित छ, साना संक्रमणसमेत बेवास्ता गरिएमा गम्भीर बन्न सक्छन्।

पहाड़का हरेक घरमा जाड़ोको तयारीको केन्द्र महिलाहरू नै हुन्छन्। बिहान उज्यालो हुनुअघि नै उनीहरू आगो बाल्छन्, तातोतातो पौष्टिक खाना बनाउँछन् र घरका सबै सदस्य चिसोमा बाहिर निस्कनुअघि न्यानोमा कति कस्सिएका छन् सो सुनिश्‍चित गर्छन्। उनीहरूको शान्त श्रमले घरलाई सफा राख्छ, खाना पौष्टिक बनाइदिन्छ र कुहिरोले ढाकिएका बिहानहरूमा पनि सबैको मनोबल उठाइदिन्छ। स्वाभाविक माया-भावनासँगै उनीहरू दृढ़ताको प्रतीक बनेर साधारण दिनचर्यालाई पनि प्रेमका कार्यमा रूपान्तरण गर्छन्- जसले परिवारलाई बाहिरको चिसोबाट जोगाउँछ र भित्री सम्बन्धहरूलाई अझ सुदृढ़ बनाइदिन्छ।

जाड़ो शुरु हुनेबित्तिकै न्यानोपन नै पहिलो औषधी बन्छ। पहाड़का परम्परागत भान्साहरू थुक्पा, गुन्द्रुकको झोल र थरी-थरीका परिकारको सुगन्धले भरिन्छन्- तन मनलाई सन्तुष्टि दिने पौष्टिक खाना। स्थानीयहरू स्वभाविक रूपमा न्यानो झोलयुक्त परिकार, किण्वित आहार तथा अदुवा, हर्दी, मरिचजस्ता मसलातिर आकर्षित हुन्छन्, जसले शरीरको भित्री गर्मीलाई जोगाइराख्छ। हरियो सागसब्जी, सुन्तला र अमलाजस्ता मौसमी फलहरूले संक्रमणसँग लड़्ने क्षमतामा आवश्यक भिटामिनको आपूर्ति गर्छन्।

यी सरल खानपानका छनोटहरू जुन अभ्यास पुस्तौँदेखि हाम्रो साथमा रहँदै आएको छ, जुन आज पनि उत्तिकै प्रभावकारी छन्। तर खानेकुराभन्दा पर सचेतना र तयारी नै स्वस्थ जाड़ोको आधार हुन्। कोइला वा दाउराबाट धुवाँ निस्कने भाँड़ाहरू बन्द वा हावापसार नहुने कोठाभित्र प्रयोग गर्दा तातो त मिल्छ, तर यसले श्‍वासप्रश्‍वाससम्बन्धी जटिलता निम्त्याउनसक्छ।

घरहरूमा राम्रो हावा चल्ने व्यवस्था गर्नु, पर्याप्त ओढ़्ने-ओछ्याउने र घामको पहुँच सुनिश्‍चित गर्नु, अनि सरसफाइ कायम राख्नु- यी साना कदमहरूले ठूला समस्याहरू रोक्न सक्छन्। तापक्रम अचानक घट्दा वृद्धवृद्धा र बालबालिकालाई विशेष रूपमा जोगाउनु आवश्यक हुन्छ-न्यानो पानीले नुहाइदिनु, न्यानो न्यानो कपड़ा लगाइदिनु र समयमा स्वास्थ्य जाँच गराइदिनु धेरै प्रभावकारी हुन्छ।

यस सन्दर्भमा खरसाङको एस. बी. डे सेनेटोरियमकी (एक्टिङ) नर्सिङ सुपरिन्टेन्डेन्ट सिस्टर पुनम प्रधानले आफ्नै अनुभवबाट पेशेदार साथै स्नेहपूर्वक सल्लाह दिन्छिन्, ‘‘कठ्याङ्ग्रिने जाड़ोमा निमोनिया र फ्लुले वरिष्ठ नागरिकलाई सबैभन्दा बढ़ी असर गर्छ।’’ उनी भन्छिन्, ‘‘घरका ठूलाबढ़ालाई कम्बलले न्यानो राख्न, उनीहरूले मौसमी फ्लुको खोप प्राप्त गरेको सुनिश्‍चित गर्न र संक्रमण रोक्न कड़ाइका साथ  सरसफाइ अभ्यास गर्न परिवारहरूलाई आग्रह गर्दछौँ। यताका पहाड़ी क्षेत्रमा यो निरन्तर एउटा चुनौती हो, तर जब समुदायले एक-अर्काप्रति ध्यान राख्छ, हामी ज्यान बचाउनसक्छौँ।’’

उनका शब्दहरू हाम्रा हिमाली शहरहरूमा रहेको स्वास्थ्य सेवाको आत्मालाई प्रतिध्वनित गर्छन्, जुन पेशेदार सतर्कता र सामुदायिक स्नेहको एउटा मिश्रण हो। यी पहाड़हरू सधैं छिमेकी सम्बन्धमै बाँधिएका छन्, जब परिवारहरूले वृद्ध छिमेकीहरूको हालखबर लिन्छन्, तातो भोजन बाँड्छन् वा कसैलाई स्वास्थ्य केन्द्रसम्म साथ लैजान्छन्, उनीहरूले समुदायलाई दह्रो बनाएर राख्ने त्यही मौन नायकत्वलाई जिवन्त पारिरहेका हुन्छन्।

हिउँदको याममा यो साझा जिम्मेवारीको भावना झनै आवश्यक बन्छ। समुदायका स्वयंसेवक, विद्यार्थीहरू र स्थानीय समूहहरूले जनचेतना कार्यक्रम संचालन गर्न सक्छन्, न्यानो कपड़ा वितरण गर्न सक्छन् र श्‍वासप्रश्‍वाससम्बन्धी संक्रमणका प्रारम्भिक लक्षणबारे परिवारहरूलाई जानकारी दिन सक्छन्। त्यत्तिकै महत्वपूर्ण छ खोप, धेरै जसोले बेवास्ता गर्ने फ्लुको खोपले वृद्धवृद्धा र दीर्घरोगीहरूमा देखिनसक्ने गम्भीर बिरामी पर्नेको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्नसकिन्छ।

पहाड़को जाड़ो सहनशीलताको परीक्षा मात्र होइन, सहानुभूतिको पनि परीक्षण हो। यसले सम्झाउँछ कि तातोपन केवल तापक्रमको कुरा होइन, यो एकअर्काप्रतिको हेरचाहमा बस्छ। जब कुहिरो बाक्लिन्छ र रातहरू लामो बन्छन्, एक कप चिया दिएर होस्, एउटा ओढ़्ने साझा गरेर होस् वा कसैलाई भेट्न गएर, हरेक सानो आत्मियताले समुदायमा न्यानोपन बुनिरहन्छ।

दार्जीलिङ र यसका मुन्तिरका भ्यालीहरूमा जाड़ो झनै कठ्याङ्ग्रिने हुन्छ, तर हामीले डर होइन दूरदृष्टिका साथ व्यवस्थापनको तयारी गर्नुपर्छ। हाम्रो पहाड़को स्वास्थ्य सचेतनाजत्तिकै माया-स्नेहमा पनि निर्भर गर्छ। यदि प्रत्येक घर-परिवारले स-साना कदमहरू जस्तै स्वच्छ हावा, पौष्टिक खाना, समयमै खोप र सामुदायिक हेरचाह अपनाउनसके जाड़ो महिना रोगको मौसम होइन, सामूहिक शक्ति र सुस्वास्थ्यको मौसम बन्नसक्छ।

(लेखिका नर्सिङ विषयमा एसआरआईएचईआर चेन्नईमा पीएचडी शोधार्थी हुन्।)


Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ