फोहोरमुक्त भविष्य निर्माणमा युवाहरूको पहल

Authored By:  किरण छेत्री, सोनादा  

Share this news

तीव्र विकासक्रमसँगै विश्‍वभर मानव समाज अत्याधुनिक नयाँ युगमा प्रवेश गरिसकेको छ। प्रविधिको चमत्कारिक प्रगतिले मानव जीवनलाई सहज र द्रुत बनाइरहेको छ, तर यसैबीच विश्‍वले फोहोरमैला व्यवस्थापनजस्तो गम्भीर समस्यासँग निरन्तर संघर्ष गरिरहेको छ। बढ़्दो जनसंख्या, शहरीकरणको बढ़्दो रफ्तार र उपभोगमुखी जीवनशैलीका कारण फोहोर उत्पादन दिन प्रतिदिन बढ़्दै गएको छ। आज शहर मात्र होइन, ग्रामीण भेकहरूमा पनि शहरीकरणको प्रभाव विस्तार हुँदै जाँदा फोहोर व्यवस्थापन अझ झन् जटिल र चुनौतीपूर्ण बन्दै गएको छ।

‘‘फोहोर मैलाको व्यवस्थापनमा विशेष सम्बन्धित विभागको जिम्मेवारीसँगै स्थानीय नागरिकको पनि उत्तिकै भूमिका र जिम्मेवारी हुन्छ’’

विभिन्न तथ्यांकहरूले देखाएअनुसार, विश्‍वभर प्रत्येक वर्ष अत्यधिक परिमाणमा फोहोर उत्पादन भइरहेको छ, जुन वास्तवमै चिन्ताजनक विषय हो। यदि यस फोहोरलाई ट्रकहरूमा राखेर पंक्तिबद्ध गरिने हो भने, ती ट्रकहरूले पृथ्वीलाई कैयौं पटक घुम्नसक्ने दूरी ओगट्ने अनुमान गरिन्छ। भारतमा पनि वार्षिक रूपमा ठूलो मात्रामा फोहोर उत्पादन हुने गरेको छ, तर त्यसको केवल केही हिस्सा मात्र संकलन हुने र अझ सानो अंश मात्र उचित रूपमा प्रशोधन गरिने अवस्था छ। बाँकी फोहोर जमिनमै पुरिने वा अव्यवस्थित रूपमा थुप्रिने गरेको पाइन्छ, जसले पर्यावरणीय प्रदूषण बढ़ाउनुका साथै दीर्घकालीन स्वास्थ्य समस्याहरू समेत निम्त्याउने खतरा सिर्जना गरेको छ।

दार्जीलिङ पहाड़ी क्षेत्र पनि फोहोरको समस्याबाट अछुतो छैन। लामो समयदेखि यहाँ फोहोरमैला व्यवस्थापन चुनौतीको रूपमा रहँदै आएको छ। समाजमा चेतना बढ़ेको जस्तो देखिए पनि व्यवहारमा भने अझै कमजोरी देखिन्छ। धेरैजसो मानिसहरू आफ्नो घर आँगन सफा राख्नमा मात्र सीमित हुन्छन्, तर सार्वजनिक स्थान, झोड़ा-नाला वा सड़क किनारमा फोहोर फाल्न हिच्किचाउँदैनन्। झनै यसले वर्षायाममा नाला बन्द हुने, सड़कमा पानी बग्ने, हिँड़डुलमा समस्या हुने र भल-पहिरोजस्ता जोखिम बढ़्ने भयावह स्थिति निम्त्याउँछ। यस्ता अव्यवस्थित फोहोरले दुर्गन्ध फैलाउनुका साथै डेंगु, हैजा, टाइफाइडजस्ता रोगहरूको जोखिम पनि बढ़ाउँछ।

यही विकराल समस्यालाई समाधान गर्ने उद्देश्यले सोनादा क्षेत्रका सचेत युवाहरू सुमन तामाङ, विश्‍वास चामलिङ र प्रजन गुरुङ अगाड़ि आएका छन्। उनीहरूले ‘स्वच्छ सोनादा-स्वस्थ सोनादा’ भन्ने नारासहित फोहोर व्यवस्थापन अभियान शुरु गरेका छन्। उनीहरू सबै आ-आफ्नो निजी व्यवसायमा संलग्न भए पनि समाजप्रतिको जिम्मेवारी महसुस गर्दै यो अभियानमा जुटेका हुन्। झोड़ा-नालामा थुप्रिएको फोहोरबाट निस्कने दुर्गन्ध, त्यसले निम्त्याउने स्वास्थ्य समस्या र सर्वसाधारणले भोग्नुपरेको असहज अवस्थाले उनीहरूलाई यस कार्यमा प्रेरित गरेको हो।

यी युवाहरूले व्यक्तिगत प्रयासमै ऋण लिएर एउटा पिकअप (युटिलिटी) भ्यान किनेका छन्। उनीहरूले ‘सोनादा स्वच्छता संरक्षण समिति’ गठन गरेर संस्थागत रूपमा काम अघि बढ़ाएका छन्। यस समितिमार्फत उनीहरूले बिहान ६ बजेदेखि ८ बजेसम्म जोरखोलादेखि सोनादा बजार र छेउछाउका क्षेत्रका घरहरूबाट फोहोर संकलन गर्ने गर्छन्। घरघरबाट बोरामा जम्मा गरिएको फोहोर उठाएर गाड़ीमा हालिन्छ र उचित स्थानमा लगेर व्यवस्थापन गरिन्छ। यस सेवाका लागि प्रत्येक घरबाट २० रुपियाँ शुल्क लिइन्छ, जसबाट गाड़ीको इन्धन, मरम्मत तथा ब्यांकको ऋण तिर्ने व्यवस्था मिलाइन्छ। यसका साथै रहल रुपियाँ मानवहितजस्ता समाज सेवामा खर्चिन्छन्।

सोनादा स्वच्छता संरक्षण समितिका सदस्य प्रजन गुरुङ भन्छन्, ‘‘फोहोर मैलाको व्यवस्थापनमा विशेष सम्बन्धित विभागको जिम्मेवारीसँगै स्थानीय नागरिकको पनि उत्तिकै भूमिका र जिम्मेवारी हुन्छ। तर हाम्रो समाजमा फोहोर व्यवस्थापनको राम्रो व्यवस्था नहुँदा जताततै झोड़ा नालामा ती फोहोर मैला तथा प्लास्टिकका वस्तुहरू फाल्ने गरेकाले मैलाले झोड़ा नाला बन्द हुन्छ। जसले गर्दा सड़कमा नालाको पानी बगेर आम नागरिक आफैलाई हिड़्न गाह्रो हुने जस्ता समस्याहरू उत्पन्न हुन्छ।’’ उनी अझ भन्छन्, ‘‘यति मात्र नभएर भल पहिरो जाने भयानक समस्या हुन्छ। यही झोड़ा-नालामा थुप्रिन्दै गएको फोहोरमैलाको दुर्गन्धले मानिसहरू कोही नाकमुख छोप्दै हिँड़ेको, कसैलाई वाकवाक गर्दै वान्ता नै गर्लाजस्तो स्थितिमा देखिन्छ। यस्तै कारणले रोगहरू उत्पन्न हुने स्थिति देख्दा नै हामी युवाहरूले यो विशेष पहल गरेका हौँ।’’ यसैको लागि उनीहरू मिलेर ऋणै काढ़ेर एउटा युटिलिटी भ्यान फाइनान्समा किनेका छन्।

घर घरमा जमा भएको फोहोर उठाउन घरकै सदस्यहरू नाक खुम्च्याउछन् भने यी युवाहरूले सयौं घरको फोहोर उठाएर व्यवस्थापन गर्नु सहज छैन। सोही माथि हुरी-बतासले क्षतिग्रस्त बनाएको डम्पिङ क्षेत्र पुर्नमरम्मति गर्न अति आवश्यक भएको छ। डम्पिङ ग्राउण्ड मरम्मत गर्ने पहलका लागि स्थानीय सर्वसाधारणलाई पनि सहयोगको आह्वान गरेका छन्।

यी युवाहरूको उद्देश्य केवल फोहोर उठाएर फाल्नु मात्र होइन, दिगो समाधानतर्फ अघि बढ़्नु हो। उनीहरू कुहिने (बायोडिग्रेडेबल) र नकुहिने (नन-बायोडिग्रेडेबल) फोहोर छुट्याएर व्यवस्थापन गर्न चाहन्छन्। जैविक फोहोरलाई कम्पोस्ट मलमा रूपान्तरण गरी त्यसबाट आम्दानीको स्रोत सिर्जना गर्न सकिने उनीहरूको विश्‍वास छ। यसका लागि खुला स्थान आवश्यक रहेको र स्थानीय प्रशासनसँग यसबारे छलफल भइरहेको पनि प्रजनको भनाइ छ। यदि यो योजना सफल भए यसले स्थानीय स्तरमै रोजगारका अवसरहरू सिर्जना गर्नेछ र फोहोर व्यवस्थापनलाई आर्थिक रूपमा पनि दिगो बनाउन मद्दत पुर्‍याउनेछ।

घरमै थुप्रिएको फोहोर उठाउनसमेत मानिसहरू हिच्किचाउने अवस्थामा उनीहरू दैनिक सयौं घरबाट फोहोर संकलन गर्छन्। यो कार्य सजिलो छैन, समितिका अर्का सदस्य सुमन तामाङ यस अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्छन्, यदि सबैले सहयोग गरे सोनादा क्षेत्रलाई साँच्चिकै स्वच्छ र स्वस्थ बनाउन सकिन्छ। फोहोरलाई सही तरिकाले व्यवस्थापन गरिएमा त्यसबाट मल उत्पादन हुने र अन्य पुनः प्रयोगयोग्य सामग्री कबाड़ीमा बिक्री गरेर आम्दानी गर्न सकिने सम्भावना पनि रहेको समितिका युवाहरूको भनाइ छ।

यस अभियानले समाजमा सकारात्मक सन्देश दिएको छ। तर यसको प्रभावकारिता अझ बढ़ाउन स्थानीय ग्राम पंचायत, सरकारी निकाय र सर्वसाधारणको सक्रिय सहयोग आवश्यक देखिन्छ। तर सीमित स्रोत र न्यून आम्दानीका कारण यो कार्य सहज छैन। थप पूर्वाधार विकासका लागि सामूहिक सहयोग अपरिहार्य बनेको छ। साथै स्थानीय विद्यालय, सामाजिक संघसंस्था र युवाहरूलाई यस अभियानमा जोड़्न सकियो भने जनचेतना अभिवृद्धि भई दीर्घकालीन परिवर्तन सम्भव हुनेछ।

महान् दार्शनिक मार्टिन लुथर किङ जुनियरले भनेझैं, ‘‘विश्‍वास त्यो हो जसले पुरै सिँढ़ी नदेखे पनि पहिलो पाइला चाल्छ।’’ सोनादाका यी युवाहरूले पनि यही विश्‍वासका साथ आफ्नो अभियान शुरु गरेका छन्। उनीहरूको सकारात्मक सोच, साहस र अठोटले समाजमा परिवर्तन ल्याउने स्पष्ट संकेत दिएको छ।

समाज, गाउँ र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भावना बोकेका यस्ता युवाहरू नै वास्तविक परिवर्तनका संवाहक हुन्। चुनौतीहरू अनेक भए पनि दृढ़ इच्छाशक्ति, समर्पण र सामूहिक प्रयासले असम्भवजस्तो देखिने कार्य पनि सम्भव बनाउन सकिन्छ। यदि यस्ता पहलहरूलाई व्यापक समर्थन मिल्यो भने स्वच्छ, स्वस्थ र दिगो समाज निर्माणको सपना अवश्य साकार हुनेछ।

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ