नेपाली संगीतमा केही धुन यस्ता हुन्छन्, जुन समयसँगै पुराना हुँदैनन्, बरु पुस्तादेखि पुस्तासम्म सँगै यात्रा गरिरहन्छन्। ‘हजार जुनीसम्म खोजी हिँड़े तिमीलाई’ त्यस्तै गीतमध्ये एक हो। गीतले अपार लोकप्रियता कमायो, तर यसको संगीतकार योगेन्द्र घतानी भने गीतको लोकप्रियताभन्दा पर शान्त रूपमा आफ्ना सिर्जनामा लागिरहे। गायकका रूपमा शुरु भएको सांगीतिक यात्राले आज उनी नेपाली संगीत संसारमा स्थापित संगीतकारका रूपमा परिचित छन्।
‘‘हामी मात्रै होइन विश्व नै कुन दिशातिर जाँदैछ। तर पनि हरेश खानु भएन’’
पवन चामलिङ ‘किरण’ (सिक्किमका पूर्व मुख्यमन्त्री) को शब्द रचनामा लोकप्रिय गायक उदय सोताङले गाएका गीत ‘हजार जुनीसम्म…’ दुई दशक नाघिसक्दा पनि श्रोताको मन मस्तिष्कमा गुन्जिरहन्छ। यस्तो छाप बसाल्न सफल संगीतकार योगेन्द्र घतानीको संगीत यात्रा नयाँ पुस्ता तयार गर्दै अघि बढ़िरहेको छ। स्व० शैलेन्द्र घतानी र स्व० पवित्र माला घतानीका छोरा योगेन्द्र घतानीले कालेबुङको एसयूएमआईबाट प्राथमिक शिक्षापछि कालेबुङकै गभर्मेन्ट हाई स्कूलमा पढ़े अनि कालेबुङ कलेजबाट स्नातक गरे।
कालेबुङको म्याकफार्लेन चर्च नजिक जन्मिएका योगेन्द्र घतानीको घरमा संगीतको वातावरण भनेको बाबुले घरमा गीत गुनगुनाउँथे। बाबुले मञ्चमा गाउँथे भनेको सुनेका थिए, तर आफूले नदेखेको उनी बताउँछन्। बाबुले घरमा बाजाहरू लिएर आउँथे- त्यति बेला अहिलेको जस्तो टीभी च्यानलहरू थिएन, रेडियोबाट आउने गीतहरू सुन्दै उनको सांगीतिक यात्रा शुरु भयो। त्यति बेला कालेबुङमा संगीत सिक्नलाई गुरु साथै प्रशिक्षण केन्द्र थिएन।
स्कूलका साथी मिलन राईले आफ्ना बाबु अशोक राईसित योगेन्द्रलाई भेट गराए। अशोक राई सन् १९७० को दशकका चर्चित गायक-संगीतकार हुन्। सो बेला उनको लोकप्रिय गीत ‘बैशाखी वनमा फूलको श्रृङ्गार पातको क्रन्दन छ’लाई आज पनि पुराना मानिसहरू सम्झिन्छन्। उनै अशोक राईलाई संगीतमा आफ्नो पहिलो गुरु मान्छन्। स्कूलकै अर्का साथी अहिलेका सुपरिचित नाट्य कलाकार अरुणप्रकाश राईले पहिलोपटक मञ्चमा गीत गाउन पुर्याएको योगेन्द्र बताउँछन्। के.डी. लामाको संगीतमा अरुणप्रकाश राईको गीत ‘पारिदेउ न पानी’ गाएका थिए। गभर्मेन्ट हाई स्कूलको कार्यक्रममा गाएको यो गीत नै मञ्चमा आफ्नो पहिलो प्रस्तुति रहेको योगेन्द्र घतानी बताउँछन्।
‘‘मेरो संगीतको यात्रा अशोक राई सरबाट शुरु भयो। उहाँले धेरैवटा कार्यक्रमहरूमा लिएर जानुभयो’’, आफ्नो प्रारम्भिक यात्रालाई उनी सम्झिन्छन्। त्यति बेला नेपाली संसारको कालजयी गीत ‘असारै महिनामा…’’का चर्चित गायक छुजाङ डुक्पाले पनि धेरै मार्गदर्शन गरेको उनी बताउँछन्। सन् १९७६ मा कालेबुङको नेपाली साहित्य अध्ययन समितिले आयोजना गरेको आधुनिक संगीत प्रतियोगिता जिते। यसमा डली डेसित युगल गीत गएका थिए। यात्रा अघि बढ़्दै गयो- गायनमा खारिन्दै गए अनि बाजाहरू बजाउन सिक्दै अघि बढ़े।
सन् १९८४ तिर काम गर्न दिल्ली गए, तर योगेन्द्रसित छाँयाजस्तै जोड़िएको संगीत पनि पछि लाग्यो। यसैले दिल्लीमा सांगीतिक माहोल जुट्यो र सांगीतिक टोली ‘ला-टि-डो’मा अवसर पाए। संगीत अध्ययनसँगै किबोर्ड बजाउन थाले, र कार्यक्रमहरूमा सहभागी बन्दै गए। दिल्लीमा चार पाँच वर्ष बसे। ‘ला-टि-डो’सित उनी अबुधावी, दुबई, काल्बा, खुर्फाखान, अल-जजिरा, शारजाहजस्ता अरबेली मुलुकहरूमा कार्यक्रम गर्न पुगे। ‘ला-टि-डो’मा बलिवुडका गायक सोनु निगमका बाबु अगम कुमार निगम पनि उनीहरूसितै थिए। दुबईमा समुद्र बीचको टावरमा प्रस्तुत गरेको कार्यक्रमलाई अविस्मरणीय मान्छन्।
दिल्लीबाट फर्किपछि सन् १९९० मा सुकेपोखरी निवासी मालती घतानीसित वैवाहिक बन्धनमा बाँधिए। कालेबुङमा ‘इन्टोनेशन सिम्फोनी’ ब्याण्डबाट कार्यक्रमहरू गरे। यो ब्याण्ड उनका दुई भाई उपेन्द्र घतानी र बबिराज घतानी, ल्हमु छिरिङ भुटिया, थुप्देन भुटिया, फणिन्द्र राई, सञ्जय प्रसादहरूले खोलेका थिए।
बिहेपछि योगेन्द्र काठमाड़ौंतिर लागे। सन् १९६८–६९ तिरको कुरा उनी सम्झिन्छन्- सो बेला कालेबुङमा नेपालबाट स्वर सम्राट नारायण गोपाल, वरिष्ठ संगीतकार गोपाल योञ्जन, कवि-गीतकार नगेन्द्र थापाको कार्यक्रम ‘मितज्यू नाइट’ आयोजना भएको थियो। त्यति बेला नारायण गोपालले कर्म योञ्जन र गोपाल योञ्जनद्वारा संगीतवद्ध ‘तिम्रो जस्तो मुटु मेरो पनि’ गीत गाउँदा कालिलो उमेरका योगेन्द्रलाई गहिरो असर पार्यो, र चुम्बकले तानेजस्तै संगीतले तान्यो। गोपाल योञ्जनसित काम गर्ने ठूलो धोको मनमा बस्यो। यही धोको लिएर काठमाड़ौं पुगे। आफ्ना बाबुको सम्बन्ध गोपाल योञ्जनसित राम्रो हुँदा उनको र साथै कालेबुङकै गुरुमा मेन्का मुखियाको सिफारिसमा काठमाड़ौं गएको बताउँछन्।
काठमाड़ौंमा योगेन्द्र घतानी गोपाल योञ्जनको स्टुडियो ‘गोपालय’मा पुगे। गोपाल योञ्जनलाई आफ्नो अर्को गुरु मान्छन्। कालेबुङबाट अहिलेका चर्चित संगीतकार फणीन्द्र राईलाई पनि लिएर गएको उनी बताउँछन्। सात वर्ष बसेर धेरै एल्बम र चलचित्रहरूका लागि संगीतको काम गरे। राँको, पहिलो प्रेम, ज्योति बिनाको उज्यालो चलचित्रहरूमा गीत गाए। सन् १९९१ मा रेडियो नेपाल सिंहदरबारबाट उत्कृष्ट स्वर प्रस्तोताको पुरस्कारले सम्मानित भए। काठमाड़ौंमा हुँदा श्री पुरुष ढकालको शब्द र कर्म योञ्जनको संगीतमा ‘तिमीले सुन्न नचाहे पनि’ गीत गाए।
सन् १९९७ मा योगेन्द्र घतानी काठमाड़ौंबाट कालेबुङ फर्किए अनि अशोक राईले खोलेको ‘बागीना’बाट कार्यक्रमहरू गरे। कालेबुङको रकभेल एकाडेमीमा संगीत शिक्षक बने। कालेबुङमा नयाँ पुस्तामा संगीतको चासो देखेर १२ सेप्टेम्बर १९९८ देखि ‘रागेश्री कला निकेतन’ शुरु गरे। यसलाई प्रयाग संगीत समिति इलाहावादसित आबद्ध गराए। यसको निम्ति खरसाङको ‘गीतिगुञ्ज संगीत महाविद्यालय’का प्राचार्य गोविन्द सिंह घतानीलाई शास्त्रीय संगीतको गुरु मान्दै आभार जनाउँछन्। उनले प्रयाग संगीत समितिबाटै ‘बी म्यूज’ गरेका हुन्। ‘रागेश्री कला निकेतन’मा शास्त्रीय र पाश्चात्य संगीतको तालिम र शिक्षा प्रदान गरिन्छ। पाश्चात्य संगीतको निम्ति ट्रिनिटी कलेज लण्डनसित आबद्ध रहेको छ। सन् २००४ मा मैत्रेय बुद्धको संस्थाको निमन्त्रणामा कालेबुङबाट विद्यार्थीहरू लिएर १५ दिनको भ्रमणमा ताइवान पुगेर कार्यक्रम प्रस्तुत गरे। सन् २०१७ मा प्रतिभाशाली संगीतकार भाई बबिराजको निधनले उनलाई गहिरो शोकमा डुबायो।
योगेन्द्र घतानीले गोपाल योञ्जनको संगीतमा बाल गीत ‘हाँसन भाई’, चर्चित उपन्यासकार प्रकाश ‘कोविन्द’को शब्द अनि नेपालका सुपरिचित संगीतकार मदनदीप बिमको संगीतमा ‘डुबी जाने घाम’ गीत गाएका छन्। लघु चलचित्र ‘तिम्रो बासित पैसा छैन’ र ‘जिन्दगी आउँदैन फर्केर’मा संगीत रचना गर्नका साथै गीत गाएका छन्। उनको संगीतमा नेपालका चर्चित कलाकारहरू आनन्द कार्की, बिनय लामा, मिलन नेवार अनि दार्जीलिङ पहाड़का कलाकारहरू थुप्देन भुटिया, ल्हामु छिरिङ भुटिया, हीरा रसाइली, अनिता रसाइलीले विभिन्न नेपाली आधुनिक साथै लोक गीतहरू गाएका छन्।
उनको आफ्नै शब्द र संगीतमा हिरण दर्नालले ‘के को रङ्ग लाग्यो’ ख्याली गीत गाएकी छिन्। डा० देवेन प्रधानको शब्द अनि थुप्देन भुटियाले गाएका गीत ‘थाहै नपाई’ अनि मिलन नेवार र थुप्देन भुटियाले गाएको गीत ‘मनचरी’मा उनकै संगीत रहेको छ। सिक्किम सरकारको पर्यावरण बचाऊ अभियानको गीत ‘मेरो रुख मेरो सन्तति’ यो गीत उनले संगीतवद्ध गरेका छन्। पुरण गिरीको शब्द रहेको यो गीत थुप्देन भोटिया र स्नेहश्री थापाले गाएका छन्।
संगीतमा एआईको असर र अहिलेको हतारिएको संसारलाई हेरेर संगीतको भविष्यप्रति उनी चिन्ता प्रकट गर्छन्, र भन्छन्, ‘‘हामी मात्रै होइन विश्व नै कुन दिशातिर जाँदैछ। तर पनि हरेश खानु भएन।’’ नेपाली संगीतमा विशिष्ट योगदानका कारण उनी रेयुकाई कालेबुङ, कार्निभल म्यूजिक ग्रुप-दार्जीलिङ, आर्टिस्ट एसोसिएसन अफ् दार्जीलिङ, सप्तश्री ज्ञानपीठ कालेबुङ, कालेबुङ कलेजबाट सम्मानित भइसकेका छन्।
योगेन्द्र घतानीको संगीत यात्रामा साधना, संघर्ष र समर्पण गाँसिएको छ। समय बदलिँदा पनि उनका सिर्जनाहरू श्रोताको मनमा उस्तै मिठासका साथ गुञ्जिरहेका छन्।












