‘दार्जीलिङ मेल’बाट ‘मनको कुरा’ बुन्दै दिलीप  राई

Share this news

सञ्जय प्रधान

समाजमा के घटिरहेको छ, के भइरहेको छ- जसलाई चलचित्रमा देख्दा दर्शकहरू आफूलाई त्यसभित्र भेट्छन्। यस्तै यर्थाथपरक चलचित्र निर्माण गर्ने निर्देशक हुन् दिलीप राई। हसिला, फर्साइला, खुला रूपमा बोलिहाल्ने दिलीप राई एकजना सशक्त निर्देशक हुन्। उनीद्वारा निर्देशित चलचित्र ‘दार्जीलिङ मेल’ले दर्शकमाझ गहिरो छाप बसालेको छ। एक राते रेल यात्राको पृष्ठभूमिमा बनेको यो यथार्थवादी चलचित्रले हरेक दर्शकलाई आफ्नै कुनै पाटो यसभित्र भेटिएको अनुभूति दिलाउँछ। पातलो बजेटको यो चलचित्रले बाक्लो संख्याको दर्शकबाट भक्कुचुर प्रशंसा बटुल्न सफल बन्यो।

भारतमा चलचित्र उद्योगको लागि सिक्किम उपयुक्त ठाउँ हुनेछ जस्तो लाग्छ। कारण यहाँ वर्तमान सरकारले निक्कै सहयोग गरिरहेको छ

सिक्किमेली नाटक र चलचित्रको क्षेत्रमा दिलीप राईको भूमिका तीन दशक भइसकेको छ। पुस्तैनी घर खरसाङ नजिक टुङ, जन्मथलो दार्जीलिङको गिङ- दार्जीलिङमै सन्त रोबर्ट्स र गिङको शिक्षा संघ स्कूलमा पढ़े। स्कूले जीवनदेखि नै नाटकमा सक्रिय दिलीपको नाम सधैं अगाड़ि आउँथ्यो। उनको कर्मथलो बन्यो सिक्किम। कलाको क्षेत्रमा उनको यात्रा सजिलो थिएन। यस यात्रामा कहिले रोड़ा-ढुंगा, कहिले घोंच्ने काँड़ाहरू भेटाए। सन् १९८३ तिर कलाकारको मन बोकेर काठमाड़ौं पुगे। होटल उद्योगमा काम गरे पनि कलाकारिता छुटेन। काठमाड़ौंमै निर्देशक बन्नी प्रधानको मार्गदर्शनमा चलचित्रको सीप सिके, र केही टेलिफिल्ममा अभिनय गरे। ‘‘त्यतिबेला पुतली सड़कमा हाम्रो एउटा ग्रुप थियो। ठूल्ठूलो सपना देख्थ्यौं…’’ काठमाड़ौको पुरानो दिन सम्झिँदै हाँस्दै उनी भन्छन्।

नाटकबाटै कलाको क्षेत्रमा मौलाएका दिलीप राई।

दिलीप सन् १९९० मा सिक्किममा आए, अनि काम गरे, होटल चलाए। सिक्किममै बिहे गरे। यहाँ कलाकारकै संगत भेटाए। कलाकारहरू एकजुट भएर सन् १९९६ मा सिक्किम एमेच्योर थिएटर गठन गरे। नाटकबाटै कलाको क्षेत्रमा मौलाएका दिलीप सिक्किमेली नाटकको मञ्चमा जम्मिएका कलाकार हुन्। दर्जनौं नाटकहरूमा अभिनय गरे। उनका अनुसार, सिक्किमका सुपरिचित नाटककार रञ्जित सिंहले नाटक निर्देशन गर्थे। आफूले खेलेका नाटकहरूमा ‘आत्माको चाहना’ निक्कै चलेको बताउँछन्। ‘‘यसमा नराम्रो आत्माको रोल चाहिँ मैले नै गरेको थिएँ’’, आफ्नो भूमिकाबारे बताउँदै उनी जोड़ले हाँस्छन्। जिउँदो हुँदाखेरि अत्याचार, अन्याय गर्ने, जातजातमा झगड़ा गराउने नराम्रो आत्मा उनको भूमिका थियो। समाजको वर्तमान परिदृश्यलाई हेर्ने हो भने ‘आत्माको चाहना’ नाटक सान्दर्भिक देखिन्छ।

सिक्किममा नाटकको क्षेत्रबाट राम्रा राम्रा मानिसहरू भेट्दै गएको उनी बताउँछन्। ३१ दिसम्बर १९९९ मा रञ्जित सिंह, अजय प्रधान, रवि पिल्लै, प्रशान्त रसाइली र आफू स्वयं मिलेर सुनिल मोहोराको गीत ‘आजको चिसो रात’ सिक्किमको पहिलो म्युजिक भिडियो निर्माण गरेको दिलीप बताउँछन्। यसमा रवि पिल्लै र निशा गुरुङ मोडल थिए। सिक्किममा उनले सिक्किम केबल टीभीमा विभिन्न कार्यक्रमहरू चलाए। आफ्नो कलाको यात्रामा नेपाली, भुटिया, लेप्चा भाषामा डेढ़ सय भन्दा बढ़ी म्युजिक भिडियोहरूको काम गरेको उनी बताउँछन्। सुपरिचित साहित्यकार सानु लामाद्वारा रचित अनि दुश्यन्त लामाद्वारा संगीतवद्ध सिक्किमको पहिलाको देशभक्ति गीत स्वर साम्राज्ञी अरुणा लामा र दावा लामाले गाएको ‘जहाँ बग्छ टिस्टा रंगीत…’ सिक्किममा सर्वाधिक लोकप्रिय गीत हो। यो गीत पछिबाट सुपरिचित गायक थुप्देन भुटियाले पनि गाए, अनि यही गीतलाई आफ्नो अवधारणाबाट निर्देशन गरी म्युजिक भिडियोमा प्रस्तुत गरेको उनी बताउँछन्।

दिलीप राईले करिब २० वटा जति वृत्तचित्र र १० वटा जति लघु चलचित्रहरू निर्माणसँगै निर्देशन गरिसकेका छन्। उनले दूरदर्शनमा वृत्तचित्रहरू बनाएका छन्। हालैमा दूरदर्शनको डकु-फिचर ‘माङ्पा’ निर्देशन गरेका छन्। सिक्किम एड्स कन्ट्रोल सोसाइटीको लघु चलचित्र प्रतियोगितामा उनीद्वारा निर्देशित ‘लाइफ- बाई जीवन—’ले एक लाख रुपियाँको नगद पुरस्कार जित्न सफल भयो। दिलीप एकजना कुशल अभिनेता पनि हुन्। उनीले बन्नी प्रधानद्वारा निर्देशित चलचित्र ‘प्रियतमा’मा अभिनय गरेका छन्। हालैको लघु चलचित्र ‘भोक’मा उनको अभिनय रहेको छ। जनचेतनामूलक सड़क नाटकहरू पनि धेरै गरेका छन्।

सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दार्जीलिङ मेल’ले निर्देशनको क्षेत्रमा दिलीप राईको दक्षता दर्शाएको छ। यसमा सशक्त कथा भन्न पैसाको होइन, दृष्टिकोणको खाँचो हुन्छ भन्ने उनले प्रमाणित गरेका छन्। यस चलचित्रका कथा लेखक भोजराज शर्मा हुन् भने निर्माता दिलीप राईकी श्रीमती खिनुमाया प्रधान हुन्। यसमा ललित गोले, देवराज शेर्पा, महेन्द्र बागदास, रञ्जित सिंह, पन्नु गजमेरजस्ता दिग्गज कलाकारहरू रहेका छन्। यो चलचित्र उनको आफ्नै प्रोडक्सन हाउस ‘दीक्षा अडियो भिजन’बाट निर्माण गरिएको हो। ‘दार्जीलिङ मेल’ सिड्नी, अस्ट्रेलिया र हङकङमा धेरै नै राम्रो चलेको दिलीप राई बताउँछन्।

उनको अर्को ठूलो चलचित्र ‘मनको कुरा’ छिट्टै आउने तयारीमा छ। यसको काम प्राय: सकिएको छ। यो चलचित्र पनि समाजसितै जोड़िएको यथार्थवादी छ। यसमा बसन्त राई, तिमोथी राई, श्यामाश्री शेर्पा, त्रिशला तामाङ, श्रद्धा छेत्री (सह निर्देशक पनि हुन्), मिना गौतम,दिपक ढकाल, रुबेन प्रधान, उत्तम गुरुङलगायत अन्य कलाकारहरू छन्। यसको कथा-पटकथा बसन्त शर्मा अनि संवाद सुमन गजमेरले लेखेका छन्।

पहिलेको भीएचएस क्यामेराबाट काम शुरु गरेका दिलीपले अहिलेको नयाँ तकनिकी धेरै सुविधायुक्त र काम गर्न सजिलो भएको बताउँछन्। नेपाली चलचित्रमा लगानी फर्किनेबारेमा उनी भन्छन्, ‘‘लगानी फर्काउनु गाह्रै छ। भारतमा नेपाली चलचित्रको इन्डस्ट्री स्थापित भएको छैन। तरै पनि पहिलाको हेरेर चाहिँ धेरै राम्रो हुँदै जाँदैछ अहिले।’’ उनी भन्छन्, ‘‘भारतमा चलचित्र उद्योगको लागि सिक्किम उपयुक्त ठाउँ हुनेछ जस्तो लाग्छ। कारण यहाँ वर्तमान सरकारले निक्कै सहयोग गरिरहेको छ। यहाँ फिल्म बोर्ड छ, र यसले पनि सहयोग गर्छ। चलचित्र उत्सव पनि गरिरहेको छ। मुख्यमन्त्रीले धेरै उत्साह दिनुहुन्छ।’’

दिलीप राई समाजमा घटिरहेका, भइरहेका घटनाहरूलाई आधार बनाएर चलचित्रमा दर्शाउँछन्। ‘दार्जीलिङ मेल’को सफल यात्रापछि ‘मनको कुरा’ले फेरि एकपटक दर्शकलाई उनीभित्रको मन छाम्ने मौका दिनेछ। कथा भनेकै समाजको ऐना हो भन्ने मान्यता बोकेका दिलीपजस्ता सिर्जनशील निर्देशकहरूकै कारण नेपाली चलचित्रको यात्राले आज नयाँ आयाम भेट्दैछ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ