कठिनाइलाई अवसर बनाउने महिला किसान इडेन लेप्चा

Authored By: सञ्जय प्रधान  

Share this news

इडेन लेप्चाको अलैंची बारीमा अहिले हरियाली छाउन थालेको छ। केही समयअघि रोग लागेर बोटहरू सुक्न थालेपछि धेरै किसानहरूमा निराशा छाएको थियो। तर त्यो कठिन समयमा इडेन लेप्चाले हार मानिनन्। पुर्खाबाट शुरु भएको अलैंची खेती जोगाउने अठोटका साथ उनले संघर्ष जारी राखिन्। उनको मेहनत र धैर्यले त्यो खेतीमा फेरि हरियाली फर्किएको छ, र उनी जैविक खेती तथा नवप्रवर्तनमार्फत अन्य किसानका लागि प्रेरणादायी उदाहरण बनेकी छन्।

नोक्सानी भए पनि छोड्नु हुँदैन रहेछ। काम गर्नुपर्छ, मऱ्यो भनेर हरेश खानु हुँदैन रहेछ

पूर्व सिक्किमको मंगन बजारदेखि करिब ६ किलोमिटर टाड़ा दुर्गम गाउँ सिङ्गिक निवासी इडेन लेप्चाको परिवारले वर्षौंदेखि अलैंची खेती गर्दै आएका छन्। उनका बाबुबाजेले शुरु गरेको यो खेती परिवारको मुख्य आम्दानीको स्रोत हो। इडेन भन्छिन्, ‘‘आमा-आप्पाले शुरु गरेको सबैभन्दा ठूलो खेती भनेको ठूलो अलैंचीको हो।’’ प्राकृतिक सौन्दर्यले भरिएको पहाड़को उकालो-ओह्रालोमा  फैलिएको करिब पाँच ऐकर जमिनमध्ये चार ऐकरमा अलैंची र बाँकी रहेको यस्तै एक ऐकरमा सागसब्जी, फलफूलको खेती गर्छिन्।

सिङ्गिक वार्डकै लिङ्दिङ-रिङ्दाङमा जन्मिएकी इडेन लेप्चा त्यही गाउँकै स्कूलमा आठ कक्षा पढ़ेकी हुन्। सानो हुँदा बाबु-बाजेले खेतमा काम गरेको, अलैंची र सागसब्जी रोपेको हेर्दै, खेल्दै कृषि खेती नजिकबाट सिकिन्। अहिले खेतीपाती इडेनको मुख्य पेशा साथै जीवनशैली बनेको छ।

मेहनत र धैर्यले हरियाली छाएको इडेन लेप्चाको अलैंची बारी।

केही वर्षअघि अलैंची खेतीमा रोग लाग्दा बोटहरू पहेँलिन थाले, केही सुक्न थाले र उत्पादन घट्दै गयो। धेरैले यो खेतीबाट लाभ नहुने देखेर अन्य खेतीतिर लाग्ने विचार पनि गरे। इडेनको अलैंची खेती पनि यही समस्याबाट प्रभावित भयो। रोगले उत्पादन घट्दा निक्कै नोक्सानी बेहोर्नु परे पनि उनले हार मानिनन्। सागसब्जीको खेती बढ़ाउँदै अलैंचीलाई विशेष ध्यान दिएर अघि बढ़ाइन्।

अलैंचीमा रोग लागेको कुरा गर्दा बाबु-बजेको पालाको रितिरिवाज सम्झिन्छिन्। उनका अनुसार, उहिले अलैंचीको खेती सपार्नका लागि अलैंचीको पूजा बुमथिङलाई बोलाएर गरिन्थ्यो। उनी भन्छिन्, ‘‘उहिले अलैंचीको पूजा गर्ने एउटा कहानी नै थियो, तर हिजोआज अलैंचीको पूजा गर्न छोड़िसक्यो। त्यसले गर्दा पनि अलैंची कम्ति भएको होला। उहिले बुमथिङहरूले पूजा गर्थे, जुन हामीले सानोदेखि देखेका थियौँ।’’ उनले आफ्नो बिहे हुनुअघिसम्म बाबुआमाले बुमथिङ लगाएर पूजा गरेको देखेकी थिइन्। उनको बिहे भएको करिब ४० वर्ष भइसक्यो, र अलैंचीको पूजा बन्द भएको पनि त्यति नै समय भयो।

इडेन लेप्चाको सम्पूर्ण खेती जैविक प्रणालीमा रहेको छ। यसैले यो अहिले एउटा शोध केन्द्रजस्तै बनेको छ। अलैंची खेतीबारे अध्ययन गर्न दिल्ली, मुम्बई, बेंगलोर, केरलाबाट धेरै मानिसहरू आउँछन्। अलैंचीको प्रदर्शनीका लागि भारतका विभिन्न राज्यहरूमा उनी पुग्छिन्। दिल्लीमा धेरैपटक प्रदर्शनीहरूमा अलैंचीसहित सुन्तलाको स्टल लिएर गइन्। सन् २०२४ मा राष्ट्रपति भवनभित्र चार दिनको प्रदर्शनीमा भाग लिने अवसर पाइन्। जैविक खेतीबाट उत्पादित अलैंची त्यहाँ दुई दिनमै सकिएको उनी बताउँछिन्। उनको अलैंची र सागसब्जी खेतीले राज्यको हर्टिकल्चर, कृषि विभाग र स्पाइस बोर्डलाई पनि आकर्षित गरेको छ।

सिक्किममा अलैंची खेतीमा एआई-पावर्ड स्मार्ट फार्म मोनिटरिङ सिस्टम जड़ान गर्ने इडेन लेप्चा पहिलो महिला किसान बनेकी छिन्। यो पहलले खेतीपातीमा महिलाहरूले नवप्रवर्तनको नेतृत्व गर्ने नयाँ युग शुरु भएको संकेत गर्दछ। यो प्रणाली जड़ान गर्न अझ बाँकी रहेको छ, सामानहरू सबै आइसकेका छन्। एआई मोनिटरिङ सिस्टमबारे उनी भन्छिन्, ‘‘यसले अलैंचीमा कीरा कसरी लाग्छ त्यो सबै पत्तो लगाउँछ।’’ गत वर्ष नोभेम्बरतिर एआई प्रणाली उनकोमा पुगेको छ।

जैविक खेतीका लागि उनी आफैं पनि मल तयार गर्छिन्, र विभागले पनि मल दिने गरेको बताउँछिन्। पहिला करिब ७० बोरा (एक बोरामा ५० केजी) अलैंची उत्पादन हुन्थ्यो, तर रोग लागेर बोट मासिँदा उत्पादन घट्यो। गत वर्षदेखि उत्पादन केही बढ़्न थालेको छ र विभागले बिऊ पनि दिँदैछ।

अलैंचीमा रोग लागेपछि विभागले उपचारको तरिका सिकाएको बताउँछिन्। त्यसपछि खेती सुधार हुँदै गएको उनको भनाइ छ। राम्रो कामका कारण हर्टिकल्चर विभागले उनलाई तीनवटा ग्राम पंचायत युनिटको फार्मर प्रोड्युसर अर्गनाइजेसन (एफपीओ)को अध्यक्ष बनाएको छ। गत वर्ष विभागले तीन लाख विरुवा तीनवटा जीपीयुहरूलाई दिएको बताउँछिन्।

रोगको कारण मौसम परिवर्तन वा पूजासँग जोड़ेर उनी भन्छिन्, ‘‘हामी खेतीपातीको काम गर्ने मान्छे हौँ र पहिलाको जस्तो पूजा गर्न छोड़्यो, उहिलेको जस्तो बारबेर गर्न हामीले छोड़ेका हुनाले यस्तो भएको हुनसक्छ। हामीले सबै गरेर हेर्‍यौँ, अलैंचीको बोट पनि उखालेर हेर्‍यौँ- भित्र पूरा खाएको थियो, त्यहाँ एकदमै सानो सानो रातो कमिला हुन्छ।’’

अलैंचीमा रोग लाग्दा उनले मकै, सब्जी र आलु रोपेर नोक्सानी भर्पाइ गर्ने प्रयास गरिन्, तर अलैंची खेती छोड़िनन्। कमिलाले टुसा खाने समस्या पहिचान गरी खेतीलाई निरन्तरता दिइन्। उनी भन्छिन्, ‘‘सन् २०२२-२३ मा अलैंचीको उत्पादन निक्कै नै घटेको थियो। सन् २०२४-२५ देखि अलिक राम्रो भएको छ।’’

अब यस वर्ष सन् २०२६ मा अलैंचीको खेती राम्रो हुन्छ भन्नेमा इडेन आशावादी छिन्। अहिले उनी अलैंची रोप्न व्यस्त छिन्। यसपाली सन् २०२६ मा एक लाख बढ़ी अलैंचीको विरुवा रोप्ने तयारीमा छिन्। अलैंचीपछि उनले बढ़ी मात्रामा अदुवाको खेती गर्छिन्। उनले एक करिब ऐकर जमिनमा अदुवा, आलु, सागसब्जी, फूलकोपी, टमाटर, मकै, सुन्तला रोप्छिन्। सागसब्जीका लागि ग्रीन हाउस बनाएकी छिन्।

अहिले ५९ वर्ष पुगेकी इडेनकी दुईजना छोरा र दुईजना छोरी छन्। दुईजना छोरी बेंगलोर पढ़्दैछन्, एकजना छोरा शिक्षक छन् र अर्का पढ़्दैछन्। सबै छोराछोरीलाई एक्लैले खेतीपातीकै कमाइले हुर्काइन्, पढ़ाइन्। अलैंचीमा रोग लाग्दा धेरै नोक्सानी हुँदा आत्तिनन्, बरु उपचारको खोजी गरेर अलैंचीको संरक्षणमा लागिन्। उनी भन्छिन्, ‘‘नोक्सानी भए पनि छोड़्नु हुँदैन रहेछ। काम गर्नुपर्छ, मर्‍यो भनेर हरेश खानु हुँदैन रहेछ।’’

बिहानै उठेर घरको काम साथै गाईको हेरचाह गरेर बिहान नौ बजेदेखि खेतीपातीको काम बेलुकी चार पाँच बजेसम्म गर्छिन्। छोराछोरीले पनि घर आउँदा खेतीपातीको काम गर्छन्। करिब बीसजना खेताला लगाउँछिन्, यसले गर्दा उनले गाउँमै रोजगार सिर्जना गरेकी छन्। जैविक खेतीमा महिला किसानको रूपमा उदाहरणीय कार्यका लागि उनी विभिन्न विभागहरू र संघ-संस्थाहरूबाट पुरस्कार, सम्मानहरूले सम्मानित भइसकेकी छिन्। महिला दिवसमा उत्कृष्ट स्टलमा उनले प्रथम पुरस्कार पाएकी छिन्।

अलैंचीमा रोग लागेर धेरै किसान निराश भएका बेला पनि इडेन लेप्चाले आशा र मेहनतलाई छोड़िनन्। उनको यो संघर्ष र सफलताले कठिनाइ आए पनि खेती छोड़्नु हुँदैन भन्ने सन्देश मात्र दिँदैन, अन्य किसानका लागि पनि नयाँ आशा र प्रेरणा जगाएको छ।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ