खरसाङ, (मोहन प्रसाद)ः दार्जीलिङ जिल्ला ट्रक मालिक संगठनले रोहिणी रोड (स्व. सुवास घिसिङ मार्ग) मा उठाइने टोल ट्याक्स नदिने निर्णय लिएको छ। रोहिणीमा पत्रकारहरूसित बोल्दै, दार्जीलिङ जिल्ला ट्रक मालिक संगठनका अध्यक्ष मन्ना त्रिखत्रीले भने, गत 4 अक्टोबरको भारी वर्षाको कारण गौरी शंकर चिया बगान नजिक रोहिणी मार्गमा पैह्रो गएर यातायात लगभग तीन महिनासम्म बाधित भएको थियो, जसले गर्दा स्थानीय मानिस, चालक, मालिक सहित विभिन्न वर्गका मानिसहरूले धेरै समस्या भोग्नु परेको थियो। रोडको मरम्मतीपछि 1 जनवरीदेखि उक्त बाटो पुनः यातायातको निम्ति खोलिएको छ। तर दुःखको विषय यो छ कि रोहिणी रोडको विभिन्न स्थानमा सानो-ठूलो धेरै खाल्डाहरू बनेका छन्।
तिनले अझ भने, रोहिणी रोडमा प्रतिदिन नै टोल ट्याक्स उठाउने गरिन्छ, तर दुःखको विषय यो छ कि लगभग तीन महिनासम्म बाटो बन्द रहँदा पनि रोडको विभिन्न स्थानमा रहेका खाल्डाहरू मरम्मती गरिएको छैन। बाटोको अवस्था दयनीय रहेको छ, खाल्डा जोगाउने क्रममा दुघर्टना हुने सम्भावना बनेको छ। तीन महिनासम्म रोहिणी मार्ग बन्द रहँदा टोल ट्याक्स उठाउने सबन्धितले किन रोडको मरम्मती कार्य गरेन।
तिनले थप जनाए अनुसार, तिनले केवल यहाँ पहाड़मा मात्र वाहन चलाएका होइनन्, तिनले देशको विभिन्न स्थानहरूमा ट्रक चलाएका हुन्। देशका अन्य स्थानमा रहेका टोलमा उपलब्ध रहने केही सुविधा पनि रोहिणीको टोलमा छैन। यसर्थ दार्जीलिङ जिल्ला ट्रक मालिक संगठनको तर्फबाट तिनीहरूले निर्णय गरेका छन् कि जबसम्म रोहिणी मार्गको टोल प्लाजामा एउटा रिकभरी भ्यान, वशरूम, एम्बुलेन्स साथै वाहन पार्किङ गरेर विश्राम गर्ने ठाउँको सुविधा प्रदान गरिन्दैन साथै विभिन्न ठाउँमा भत्किएको रोडको मरम्मत कार्य गरिन्दैन तबसम्म टोल ट्याक्स तिरिनेछैन।
खत्रीले रोहिणी रोडमा पैह्रोको मरम्मती कार्य गर्नमा तीन महिना समय लागेको यतिको समय नलाग्नु पर्ने हो र पैह्रोको मरम्मती पनि टोल ट्याक्स उठाउनेले गर्नु पर्ने थियो भनी बताएका छन्। यी सबै सुविधा उपलब्ध गराइएको खण्डमा अनि रोडको मरम्मती गरिएको खण्डमा हामी ट्याक्स दिन तयार हुनेछौँ भनी तिनले थप बताएका छन्।












