दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले कोरोनेशन ब्रिजको विकल्पको टेन्डर सरकारले डिसेम्बर, २०२५भित्र लिने बताउँदै यस कुराका लागि खुशी व्यक्त गरेका छन्।
२०१९ मा दार्जीलिङबाट संसद सदस्यको रूपमा उनको निर्वाचन भएयता, विष्टले पहाडी क्षेत्रले स्वतन्त्रताकै समयदेखि नै भोगिरहेका ठूला पूर्वाधार र विकास सम्बन्धि कमीहरूलाई सम्बोधन गर्न निरन्तर काम गर्दै आएको बताएका छन्। एलेनबारीलाई सेवोकसँग जोड्ने कोरोनेशन ब्रिजको विकल्पको निर्माण यस क्षेत्रका जनताको लामो समयदेखि रहेको माग हो। केन्द्र सरकारले नयाँ पुल र पहुँच सडकको निर्माणका लागि ११९० करोड रुपैयाँ विनियोजन गरेको भए तापनि, अधिकार क्षेत्रमा देखिएका समस्याका कारण असहज ढिलाइ भएको थियो। उक्त खण्ड पहिले पश्चिम बङ्गाल PWD-NH डिभिजनअन्तर्गत थियो, तर अहिले यो आधिकारिक रूपमा राष्ट्रिय राजमार्ग प्राधिकरण (NHAI) मा हस्तान्तरण गरिएको जानकारी दिंदै विष्टले NHAI का अफिसरहरूसँग बैठक गरेको र कोरोनेशन ब्रिजको यात्रा गरेको बताए। उनीहरूले विकल्प पुल र पहुँच सडक ठूलो योजनाको हिस्सा हुने पनि सांसद राजु विष्टले जानकारी दिएका छन्।











