बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

Share this news

सञ्जय प्रधान⇒

हिमाली राज्य सिक्किमबाट बलिउडको चम्किलो तर प्रतिस्पर्धात्मक संसारसम्मको यात्रा सजिलो थिएन। तर सुष्मा सुनामले यो दूरी र बलिउडको कठिन उकालोलाई आफ्नो नृत्यकला, मेहनत र दृढ़ संकल्पले पार गरिन्। बाल्यकालदेखि नै नृत्यप्रति गहिरो रुचि राख्ने सुष्मालाई यही रुचिले एकदिन बलिउडका दिग्गज कलाकारहरूको कोरियोग्राफर बनाउनेछ भन्ने थाहा थिएन। मुम्बई, त्यो पनि बलिउड- जहाँ हरेक पाइलामा संघर्ष छ। हिमाली भेकको शितल मौसमबाट मुम्बईको पोल्ने चर्को गर्मी झेल्दै उनलाई अघि बढ़्नु सजिलो थिएन। डेढ़ दशकअघि मुम्बईमा पाइला टेकेकी सुष्मा अहिले बलिउडमा स्थापित कोरियोग्राफर हुन्।

गान्तोक निवासी दिलमान सुनाम र मुन्ना सुनामकी छोरी सुष्मा पीएनजी स्कूल पढ़ेकी हुन्।  परिवारको हौसला र प्रेरणाले सानैमा उनको नृत्यको प्रतिभा फूल्न थाल्यो। सन् २००४ मा ‘मिस सिक्किम’ प्रतियोगितामा ‘मिस सिक्किम’ बनेर ग्ल्यामरको संसारमा पहिलो खुड़किलो टेकिन्। यसपछि गान्तोककै ‘नयुमा च्यानल’मा केही भिडियो एल्बमहरूमा मोडल रुपमा देखा परिन्। यात्रा अघि बढ़्दै गयो, अनि दूरदर्शनमा सिक्किमको पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमहरूमा एन्करिङ गरिन्। त्यति बेला कार्यक्रम गर्न दिल्लीबाट टोली आएको उनी बताउँछिन्। जीटी टीभीमा प्रत्यक्ष प्रसारण हुने ‘सुपर लोटो’मा दुई तीन वर्ष एन्करको काम गरिन्।

“…तर मान्छेले मेहेनत गरेर आफूलाई अघि बढ़ाए मात्र आफ्नो लक्ष्यमा पुग्दो रहेछ”

बाल्यकालदेखि कै उनको चाहनालाई हेर्ने हो भने एन्कर त उनको नृत्यको यात्रामा भेटाएको सहयात्री मात्र थियो। खुम्चिएर बसेको प्रतिभा फैलिन क्षेत्र पनि उस्तै विशाल हुनुपर्‍यो। सन् २००९ मा दह्रो आत्मविश्‍वासका साथ दृढ़ संकल्प लिएर मुम्बई लागिन्। असीमित अवसरहरू प्रदान गर्ने मुम्बईलाई मायानगरी पनि भनिन्छ, जहाँ कयौं सपना बोकेर आउने हुनाले सपनाको शहर भनिन्छ। यस्तै मुम्बईमा सपना बोकेर जानेहरूमा एकजना सुष्मा पनि हुन्। मुम्बईमा उनले श्यामक डावरकहाँ नृत्यको तालिम लिइन्। उनले जिममा तीन हजार रुपियाँको मासिक वेतनमा  रिसेप्शनिस्टको काम गरिन्। चलचित्रका ब्याकग्राउण्ड डान्सरहरू पनि जिममा आउँथे। ब्याकग्राउण्ड डान्सरको लागि युनियनबाट कार्ड बनाउनु पर्छ भन्ने उनीहरूबाट थाहा पाइन्। उनको प्रतिभाको पाइलाले यस्तै मार्ग खोजिरहेको थियो, र यसतर्फ पाइला चल्यो। उनले पनि काम गर्दै शुटिङ गर्दै कार्डको निम्ति पैसा जमा गरिन्।

बलिवुडकी लोकप्रिय अभिनेत्री करिना कपूरसित कोरिग्राफीमा व्यस्त सुष्मा सुनाम।

सञ्जय दत्तको चलचित्र ‘डिपार्टमेन्ट’को गीत ‘थोड़ी सी जो पी ली है…’को ब्याकग्राउण्ड डान्सको शुटिङमा बलिवुडका सुपरिचित कोरियोग्राफर गणेश आचार्यको पारखी नजर उनको नृत्यमाथि पर्‍यो। गणेश आचार्यले कोरियोग्राफरको लागि सहयोगी बन्नेबारे सोधे। उनी भन्छिन्, ‘‘उनी जस्तो ठूलो सुपरिचित कोरियोग्राफरसित हामी कसरी गर्ने भनेर म त ब्याग उठाएर भागे।’’ घर पुगेर गणेश आचार्यको प्रस्तावबारे सोचिन्- ‘मान्छेलाई भाग्यले यस्तो मौका जुराउँछl” दुई तीन दिनपछि गणेश आचार्यलाई सह कोरियोग्राफरको निम्ति ‘हुन्छ’ भनिन्। गणेश आचार्यसित १४ वर्ष काम गरेर धेरै सिकिन्। १४ वर्षको अन्तरालमा उनले बलिवुडका दर्जनौं दिग्गज कलाकारहरूका लागि कोरियोग्राफी गरिन्। जसमा मुख्य रुपमा महानायक अमिताभ बच्चन, सञ्जय दत्त, करिना कपूर, रणवीर कपूर, प्रियंका चोपड़ा, शिल्पा शेट्टी, पारिणीति चोपड़ा, अल्लु अर्जुन, क्याट्रिना कैफलाई नृत्यको सीप सिकाइन्। ‘वेलकम ब्याक’, ‘सिंघम’, ‘पुष्प-१’जस्ता चर्चित चलचित्रहरूका गीतहरूमा कोरियोग्राफीको काम गरिन्। लकडाउन पछि सुष्माले स्वतन्त्र रुपमा कोरियोग्रफरको काम शुरु गरेकी छिन्। ‘आता माझी सटकली’ (सिंघम’को गीत), ‘आँख मारे’, ‘व्हिसल बजा’ (यसमा टाइगर श्रफ छन्), ‘बिल्लो नि तेरा लाल घाघरा’ (यसमा करिना कपूर छिन्), पारिणीति चोपड़ा रहेकी ‘गोलमाल’ चलचित्रको गीतहरूमा कोरियोग्राफ गरेकी छिन्। उनले कोरियोग्राफी गरेको चलचित्रका गीतहरूको नाम लेख्नु हो भने लामो सूची बनिन्छ। टीभीका धारावाहिक ‘क्राइम पेट्रोल’, ‘तारक मेहेता का उल्टा चस्मा’मा पनि अभिनय गरेकी छिन्।

बलिवुडकी लोकप्रिय अभिनेत्री सनीसित कोरियोग्राफर सुष्मा सुनाम। 

गएको पाँच वर्षदेखि सुष्माले नृत्यहरूको निर्देशन र कोरियोग्राफी स्वतन्त्र रुपमा आफै गर्दैछिन्। ‘ड्रिम गर्ल’को निर्देशक राज शाण्डिल्यले ‘जनहित में जारी’ चलचित्रमा कोरियोग्राफी गर्न दिएको उनी बताउँछिन्। नुसरत भरुचा, विजय राज, वृजेन्द्र काला रहेको यस चलचित्रबाट स्वतन्त्र रुपमा कोरियोग्राफरको काम शुरु गरिन्। सतिश कौशिकको ‘कागज-२’मा कोरियोग्राफर उनी नै छिन्। अब सनी लियोनीको आइटम सङ र परेश रावलसँग उनको आउने चलचित्र रहेको छ। मल्लिका शेरावत र राजकुमार राव रहेको ‘विक्की विद्या का वो वाला वीडियो’को गीत ‘तुम्हे अपना बनाने कि’मा उनले नै कोरियोग्राफी गरेकी छिन्। नेपाली चलचित्रमा पनि आफ्नो छाप बसाल्ने बाटोमा लागेकी छिन्। हालै, नेपालमा पनि ‘ह्रस्व दीर्घ’ चलचित्रमा उनले कोरियोग्राफी गरेकी छिन्। यसमा दक्षिण भारतका कलाकारहरू पनि छन्।

आज सुष्माले बलिवुडमा एक दक्ष कोरियोग्राफरको रुपमा आफ्नो पहिचान बनाएकी छिन्। यहाँसम्म आउन उनले निक्कै संघर्ष गरिन्। यसबारेमा कुरा गर्दा उनी भन्छिन्, ‘‘मान्छेले भाग्य लिएर आउँदो रहेछ। भाग्य लिएर आएपछि जहाँ पुग्नु छ त्यहाँ पुग्दो रहेछ, तर मान्छेले मेहेनत गरेर आफूलाई अघि बढ़ाए मात्र आफ्नो लक्ष्यमा पुग्दो रहेछ। मेरो भाग्यमा लेखेको छ भनेर घरमा आरामले बसेर पाइँदैन।’’ प्रतिस्पर्धा कड़ा रहेको उनी बताउँछिन्। बलिवुडमा आफ्नो पहिचान बनाएर पनि उनको संघर्ष जारी छ, अनि यसैमा रमाउँछिन्।

बलिवुडको डेढ़ दशकको यात्रामा आफ्नो अनुभव खुबै राम्रो रहेको उनी बताउँछिन्। सुटिङ स्थलमा जाँदा राम्रो मान सम्मान पाउँछिन्। सानोमा गान्तोक बजार मुनि आरिथाङमा सानो गार्डनजस्तो ठाउँमा नाँचको सम्झिएर हाँस्छिन्। ‘‘कठिन परिश्रम गरे कहीं न कहींबाट बाटो खोलिन्छ’’, नयाँहरूका लागि सुझावको रुपमा यसो भन्छिन्। सिक्किममा उनी दुईपटक सम्मानित भइसकेकी छिन्। बलिवुडमा महिलाहरूका अघि चुनौतीको बारेमा कुरा गर्दा उनी भन्छिन्, ‘‘मलाई लाग्छ आफ्नो चुनौती आफै हो।’’ बलिवुडका दिग्गज कोरियोग्राफरहरू सरोज खान, फराह खान, गीता कपूरजस्तो बन्न संकल्पित छिन्।

सुष्माको अर्को ठूलो सपना चलचित्र निर्देशक बन्नु रहेको छ। गान्तोकमा चलचित्रको सम्पूर्ण विषयको तालिम दिनसक्ने फिल्म इन्स्टिच्युट खोल्ने इच्छा रहेको उनी बताउँछिन्। उनीसित बलिवुडको डेढ़ दशकको अनुभव छ, चलचित्रबारे नयाँ अवधारणा, सोंच छ। संगोष्ठीहरूमा स्रोत वक्ताको क्षमता उनीसित छ। सिक्किम साथै दार्जीलिङ, कालेबुङ लिएर नेपाली चलचित्र विकासमा  काम गर्ने उनको चाहना छ। कालेबुङलाई लिएर नेपाली चलचित्र विकासमा काम गर्ने उनको चाहना छ। सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङले धेरै रुचि राख्ने र सहयोग गर्ने उनी बताउँछिन्। आफ्नो डेढ़ दशकको यात्रामा मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्णकुमारी राईकै कारण सिक्किममा निमन्त्रणा पाएर मानसम्मान पाएको बताउँदै उनीप्रति आभार प्रकट गर्छिन्।

सपना देख्न सजिलो छ, पुरा गर्न संघर्ष चाहिन्छ। नृत्यबाट शुरू भएको उनको यो यात्रा अब निर्देशन र प्रशिक्षणतर्फ उन्मुख छ। संघर्ष, लगन र प्रतिभाले सजिएको सुष्माको यात्रा नयाँ पुस्ताका लागि उज्यालो मार्गदर्शन बन्दछ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ