खरसाङ, (निसं)ः खरसाङ फुटबल एसोसिएशनको आयोजनामा अनि जीटीएको खेल एवं युवा मामिला विभागको लहयोगमा खरसाङ्को चानमारी खेल मैदानमा सम्पन्न भइरहेको चौथो गोर्खा चेली महिला फुटबल खेल 2026 को फाइनल खेल आइतवार सम्पन्न भयो। 25 फरवरीदेखि आरम्भ गरिएको यस टुर्नामेन्टको फाइनमा स्टार वारियर, झारखण्ड अनि सिक्किमको एसएसएजी सोरेङ्माझ रोमाञ्चक भिड़न्त भयो।
खेलको पहिलो हाफमा स्टार वारियरका खेलाड़ीहरूको निकै दबाव देखिएको थियो। यस टीमका खेलाड़ीहरूले आफ्नो उत्कृष्ट खेलको प्रदर्शन गर्दै खेलेका थिए अनि विपक्षको गोलपोष्टमा बारम्बार आक्रमण गरेका थिए। बारम्बार आक्रमणको फलस्वरुप यस टीमकी खेलाड़ी अलिजा लाक्रा, राधिका कुमारी अनि हेमन्ती बिन्नी कुमारीले खेलको पहिलो हाफमा एक-एक गोल छिराएर टीमलाई शुन्यको विरुद्धा तीन गोलले अघि बनाए।
खेलको दोस्रो हाफमा सिक्किम सोरेङ्का खेलाड़ीहरूले खेललाई आफ्नो पक्षमा बनाउनको निम्ति निकै प्रयास गरे। यस टीमका खेलाड़ीहरूले स्टार वरियर झारखण्डको गोल पोष्टमा गोल छिराउने प्रयास पनि गरे तर स्टार वरियरका रक्षा पङ्तिका खेलाड़ीहरूले आक्रमणलाई विफल बनाइदिए। लगतार आक्रमण गर्दा सिक्किम सोरेङ्की हेमलता छेत्रीले एक गोल गरिन्। खेलको अन्तिम सिटी रेफ्रीले फुक्दा थप गोल कुनै टीमले गर्न सकेन, फलस्वरुप स्टार वारियर, झारखण्डले सिक्किम सोरेङलाई 1 गोलको विरुद्धमा 3 ले जितेर चौथो गोर्खा चेली महिला फुटपल टुर्नामेन्ट 2026 को च्याम्पियन बन्यो।
फाइनल खेलको उत्कृष्ट खेलाड़ी स्टार वरियर झारखण्डकी यमुना पर्तीलाई तिनको उत्कृष्ट खेलको निम्ति चयन गरियो। तिनलाई पारितोषिक अनि उत्कृष्ट खेलाड़ीको ट्रफी प्रदान गरियो। यस टुर्नामेन्टको उत्कृष्ट गोलकिपर हिमालयन एफसीकी रेश्मा सुब्बा, सर्वाधिक गोल गर्ने खेलाड़ी सिक्किम सोरेङ्की सिम्रन गुरुङलाई चनय गरियो, तिनले जम्मा 4 गोल गरेकी थिए अनि टुर्नामेन्टको उत्कृष्ट खेलाड़ी स्टार वरियर झारखण्डकी हेमन्ती कुमारीलाई चयन गरियो। फाइनल खेलमा प्रमुख अतिथिको रुपमा प्रमुख अतिथिको रुपमा जीटीए प्रमुखका मुख्य सल्लाहकार अमर लामा, विशिस्ट अतिथिको रुपमा जीटीए मुख्य कार्यपाल अनित कुमार थापा, सभासद नवराज छेत्री, तपन मुखर्जी, ईडी तोप्देन लामा, सन्जित थापा, अञ्जना गुरुङ, उज्जवल गजमेर, सन्त एन्थोनी स्कूलका डाइरेक्टर चेतन तिवारी, सन्त अगस्तिन स्कूलका डाइरेक्टर अरुण गुरुङ, समाजसेवी टीटी लामा, केएसएका उपाध्यक्ष फुर्वा लामा अनि अन्यान्य उपस्थित रहेका थिए। विजेता टीम, उपविजेता टीम, उत्कृष्ट खेलाड़ीहरूलाई प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट ट्रफी, प्रमाण पत्र, नगद राशि, मेडल, स्मृति चिन्ह प्रदान गरियो।
प्रमुख अतिथि अमर लामाले आफ्नो संक्षिप्त सम्बोधनमा खरसाङले चाँड़ै एउटा खेल मैदान पाउने बताए। फाइल खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू प्रतीक गुरुङ, प्रमोद प्रधान, नितेश देवानले गरेका थिए भने फोर्थ अफिसियलमा अरविन्द छेत्री, म्याच कमिश्नर इन्द्र पी लामा, धर्मराज राणा, अशोक लामा अनि दिनेश थापा रहेका थिए।












