सिक्किमको पत्रकार टोलीले आज छत्तीसगढका मुख्यमन्त्री विष्णु देव सँग अन्तरक्रियात्मक भेटघाट गरेको थियो। यस भेटका लागि Press Information Bureau, Gangtok तथा Press Information Bureau, Raipur प्रति टोलीले हार्दिक आभार व्यक्त गरेको छ। मुख्यमन्त्रीसँगको यस औपचारिक तथा सौहार्दपूर्ण भेटसँगै सिक्किमका पत्रकार टोलीको पाँच दिवसीय छत्तीसगढको अध्ययन भ्रमण औपचारिक रूपमा समापन भयो।
यस पाँच दिवसीय अध्ययन भ्रमणका क्रममा पत्रकार टोलीले छत्तीसगढका विभिन्न जिल्लाहरूमा अवस्थित उद्योग, औद्योगिक क्षेत्र, पूर्वाधार परियोजना, सांस्कृतिक केन्द्र, ऐतिहासिक स्थल तथा सङ्ग्रहालयहरूको अवलोकन गरेको थियो। भ्रमणका क्रममा टोलीले राज्यको औद्योगिक विकास, यातायात पूर्वाधार, पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदा संरक्षण तथा प्रशासनिक व्यवस्थापनका विविध पक्षहरूलाई नजिकबाट बुझ्ने अवसर पाए।
मुख्यमन्त्रीसँग भएको आजको भेटघाटमा टोलीले अध्ययन भ्रमणका क्रममा प्राप्त अनुभवहरू साझा गरेको थियो। टोलीका तर्फबाट सिक्किम र छत्तीसगढबीच सूचना आदानप्रदान, सञ्चार सहकार्य तथा विकाससम्बन्धी अनुभवहरूको महत्त्वबारे पनि चर्चा गरिएको थियो। मुख्यमन्त्रीले पत्रकार टोलीलाई हार्दिक स्वागत गर्दै राज्य सरकारद्वारा सञ्चालन भइरहेका विभिन्न विकास योजनाहरू, सामाजिक कल्याण कार्यक्रमहरू, सांस्कृतिक विविधता, आदिवासी समुदायका पहल तथा आर्थिक विकासका रणनीतिबारे विस्तृत जानकारी गराउनु भएको टोलीका सदस्य एनबी घिमिरेले जनाए।












