नृत्यबाट आत्मनिर्भरताः सुष्माको प्रेरणादायी पहल

Share this news

सञ्जय प्रधान- 

न त उनको आमापट्टि न त बाबुको परिवारमा नै संगीत र नृत्यको वातावरण थियो, यस्तै संगीतको वातावरण नभएको परिवारमा सुष्मा छेत्री बनिन् परिवारकै पहिलो कलाकार। सुष्मा छेत्री नृत्यमै जिउँछिन्, नृत्यमै रमाउँछिन्, नृत्य नै उनको जीवनशैली बनेको छ। यति मात्र होइन नृत्यलाई उनी करियर बनाउन र यसबाट आत्मनिर्भर बन्न सिकाउँछिन्। दक्षिण सिक्किमको नाम्ची निवासी सुष्मा छेत्री सिक्किममा एकजना स्थापित नृत्य कलाकार हुन्।

६ वर्षको उमेरमा पहिलो पटक मञ्चमा नाँचिन्। आमा अम्बिका छेत्री र बाबु नरहरि छेत्रीको दह्रो सहयोग पाएर नृत्यकै यात्रामा निरन्तर लागिन्। सन् १९९० को दशकतिर नाम्चीको रङरुप अहिलेको जस्तो थिएन। आफ्नो प्रतिभा प्रस्तुत गर्नलाई विशेष मञ्च थिएन। दुरदर्शनमा आउने चित्रहारका कार्यक्रमहरू र केबल टीभी शुरु भएपछि यसबाट आउने सिनेमा र कार्यक्रमहरू हेरेर सिक्थिन्। सन् १९९९ मा ‘नर्थ ईष्ट बुगी-वुगी’को प्रतियोगितामा विजयी बनिन्। सन् २००६ मा नाम्चीमा फिल हार्मोनिक डान्स एण्ड म्युजिक इन्स्टिच्युटमा भारतीय शास्त्रीय नृत्य कथक सिक्न शुरु गरिन्। बीचमा यो इन्स्टिच्युट बन्द हुँदा सिलगढ़ीमा अजय दाससित कथक सिकेर यसैमा स्नातक गरिन्। उनकी छोरी अवन्तिका गीत गाउँ रुचाउँछिन्, तर करियरको रोजाई फरक छ।

“अब नृत्य पनि शिक्षा हो र यसबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने जागरुकता समाजमा ल्याउनु जरुरी छ”

नृत्य कलाकारलाई एउटा फरक दृष्टिले हेर्ने एक पक्षको रुढ़ीवादी मानसिकतालाई आफ्नो प्रतिभाको बलले चिर्दै उनी अघि बढ़िन्। सन् १९९० को दशक पछि टीभी च्यानलहरूमा रियालिटी शोहरू बढ़्न थालेपछि समाजमा नृत्यको महत्त्वलाई बुझ्न शुरु भयो। यस्तैमा एक दिन दुईजना नृत्य सिकाइ माग्न सुष्माको घरमा पुगे। यो उनको जीवनमा दैलो ढकढक्याएको जस्तै भयो। सन् २००९ को ३१ मार्चदेखि उनले नाम्चीमा ‘स्टेप डान्स सेन्सेसन एकाडेमी’ स्थापित गरिन्। आज यस एकाडेमीमा विभिन्न नृत्यहरू सिक्ने ४८ जना विद्यार्थीहरू छन्। कुनै बेला यो संख्या बढ़ेर ५० पनि पार हुने गरेको छ। यहाँ कथक नृत्यको लागि प्रयाग संगीत अलाहावादबाट परीक्षा गराइन्छ। यस एकाडेमीमा कथकका साथमा आधुनिक नृत्यहरू बलिवुड, कन्टेमपोरेरी, हिप-हप, सेमी क्लासिकल, भारतीय र नेपाली लोक नृत्य अनि नृत्यका लागि पहिरन र मेकअपको प्रशिक्षण दिइन्छ। यहाँ सबै एउटा पूर्ण स्कूलमाजस्तै प्र्याकटिल र थियोरी पढ़ाइन्छ। नेशनल स्कूल अफ् ड्रामा (एनएसडी) सिक्किममा उनी प्रशिक्षक रहँदा राँचीमा पनि प्रशिक्षकको रुपमा पुगिन्।

सुष्माकै एकजना विद्यार्थी मिङ्गमा डी लेप्चा आज चर्चित नृत्य कलाकारको रुपमा उदाएका छन्। भारतको लोकप्रिय टीभी च्यानल स्टार प्लसले मुम्बईबाट आयोजना गरेको रियालिटी शो ‘डान्स प्लस सिजन-2’को मिङ्गमा टप सिक्स प्रतियोगी हुन्। सन् २०२२ मा मिङ्गमाले नेपालको रियालिटी शो ‘सुपर डान्सर नेपाल’को उपाधि जितेका छन्। मिङ्गमा आज स्वतन्त्र नृत्य कलाकार बनेर आत्मनिर्भर बनेका छन्। सुष्मा सिक्किमबाट मिङ्गमाजस्तै सुपर डान्सरहरू तयार गर्नमा निरन्तर व्यस्त छिन्। उनले ‘स्टेप डान्स सेन्सेसन एकाडेमी’मा नृत्यमा इच्छुक रहेका तर शुल्क तिर्न नसक्नेलाई नि:शुल्क प्रशिक्षण दिने व्यवस्था गरेकी छिन्। सुष्माले नृत्यसँगै जीवनमा आत्मनिर्भर, आत्मविश्‍वासी बन्न सिकाउँछिन्। एकाडेमीमा सुष्माले सहयोगीको रुपमा सहयोग गर्ने विद्यार्थीहरूका लागि मासिक शुल्कबाट रकम छुट्याउने गर्छिन्। ती सहयोगी विद्यार्थीहरूले आफ्नो स्कूल र कलेजका लुगाफाटा, खाता-किताबदेखि लिएर सम्पूर्ण खर्च आफ्नै पारिश्रमिकबाट व्यवस्था गर्छन्। ती विद्यार्थीहरू कसैले नृत्यमा सहयोग गर्छन्, कसैले नृत्यको पोशाक, कसैले नृत्यमा चाहिने प्रप, कसैले एकाडेमीको हिसाब-किताब, कसैले एकाडेमीको सम्पत्तिको जिम्मेवारी सम्हाल्छन्। यसरी ती सहयोगी विद्यार्थीहरूले आफ्नो स्कूल-कलेजको शिक्षाको खर्च आफै कमाउँछन्। नृत्यसँगै उनीहरूले जिन्दगीको व्यवस्थापन पनि सिकिरहेका छन्।

‘स्टेप डान्स सेन्सेसन एकाडेमी’लाई सुष्माले सामाजिक कार्यमा पनि सक्रिय राखेकी छिन्। रक्तदानलाई महादानको रुपमा हेर्छिन् र यसैलाई प्रमुखता दिन्छिन्। नेशनल इन्टिग्रेटेड फोरम अफ् आर्टिस्ट एण्ड एक्टिभिस्ट (एनआईएफएए) ले आयोजना गरेको एक दिनमा एक लाख युनिट रगत संग्रह गरिने कार्यक्रममा सहभागी जनाएबापत यस एकाडेमीलाई वर्ल्ड बुक अफ् रेकर्ड्स लण्डनबाट प्रमाणपत्र पनि प्राप्त भएको छ। सुष्मा आफू रेगुलर ब्लड डोनर रहेको बताउँदै आफ्ना विद्यार्थीहरूलाई यसप्रति जागरुक गराउने गरेको बताउँछिन्।

नृत्यको क्षेत्रमा उनले परिवारबाट संघर्ष गर्नुपरेन। तर एकाडेमी शुरु गर्नका लागि सामाजिक स्तरमा आर्थिक रुपले संघर्ष गरिन्। अहिले उस्तो गाह्रो नभएको बताउँछिन्। अहिले सरकारले उद्यमी युवाहरू र कलाकारहरूलाई सहयोग पुर्‍याएको उनी बताउँछिन्। नृत्यलाई अहिले पनि दोस्रो दर्जामा राख्ने सोंच समाप्त भएको छैन। यसबारेमा कुरा गर्दा उनी भन्छिन्, ‘‘अब नृत्य पनि शिक्षा हो र यसबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने जागरुकता समाजमा ल्याउनु जरुरी छ। यो हबी मात्र होइन, प्यासनलाई प्रोफेसन बनाउन सम्भव छ। तर कलाकार अहिले पनि कहीं न कहीं एक तह मुनि नै गन्ती हुन्छौं। संघर्ष यहीं नै छ। सबै कलाकार हृदयबाट नै एक हुनुपर्छ।’’

आफ्नो जोश र उत्साहलाई पेशामा परिवर्तित गरेर नृत्यलाई नै जिवीका बनाएर आत्मनिर्भर बन्नेहरू रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘जुन कामले हामीलाई नाम र दाम दिएको हुन्छ त्यसमा हामीले इमान्दारिता देखायौं भने अर्काको कलालाई कदर गर्नु पनि आउँछ। जबसम्म कला र कलाकारलाई कलाकारले नै कदर गर्दैन हामीलाई अरुले कदर गर्दैन।’’

नृत्य समाजका सर्वसाधारणलाई मनोरञ्जन गराउने आनन्दको स्रोत मात्र होइन, नृत्यले मानव समाजको जनजीवन, धार्मिक संस्कार, सामाजिक संस्कार र विकासलाई दर्शाउँदछ। यस हिमाली समाजका नृत्यहरूबारे उनी अध्ययन गर्छिन् र विलुप्त बन्न लागेका लोक नृत्यहरूलाई प्रदर्शनको माध्यमबाट संरक्षणको कार्य गर्छिन्। नृत्यबाट पनि आत्मनिर्भर बन्नसक्छ भन्ने जनजागरणको अभियानमा सुष्माको यात्रा निरन्तरता चलिरहेको छ।

 


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ